काठमाडौँ — देशका नीति निर्माताहरूमा काम गर्ने इच्छाशक्ति नहुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण रूपमा निर्माण सम्पन्न हुन नसकेको लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताएका छन्।
कान्तिपुर मिडिया ग्रुपले बुधबार भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तर्क्रियाको तेस्रो सत्र ‘लुम्बिनीको आह्वानः अन्तर्राष्ट्रिय उडान’मा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री चौधरीले मिठो कुरा गर्ने तर काम नगर्ने प्रवृत्तिका कारण यो अवस्था आएको बताएका हुन्।
'यहाँ अरू केही भएको होइन, काम गर्ने इच्छाशक्ति नभएको मात्र हो। विमानस्थल बनाएपछि सञ्चालन गर्ने पहिलो जिम्मेवारी नेपाल नागरिक उड्डयन प्राधिकरणको हो। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पनि यही हुनुहुन्छ। उहाँले विमानस्थल सञ्चालनका लागि केके गर्नुभयो?, 'चौधरीले प्रतिप्रश्न गरे, 'अर्थमन्त्री यही क्षेत्रकै हुनुहुन्छ। प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ भनेर तपाईंले भन्नुभएको छ। त्यसो भए भोलिदेखि नै सञ्चालन ल्याउन कसले रोकेको छ?'
समग्रमा राम्रो र मिठो कुरा गर्ने तर काम नगर्ने प्रवृत्ति नहटेसम्म विमानस्थल सञ्चालन हुन नसक्ने उनको भनाइ छ।
