शिक्षा र स्वास्थ्यलाई बुटवलले उच्च प्राथमिकतामा राखेको छ : प्रमुख पाण्डेय

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

Butwal has given top priority to education and health: Chief Pandey

काठमाडौँ — बुटवल उपमहानगरपालिकाकाको सबैभन्दा सुन्दर पक्ष विकासका कार्यक्रमदेखि लिएर सामाजिक कार्यक्रमहरुमा जनसहभागिता गराउनु रहेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले बुधबार भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ अन्तर्गत दोस्रो सत्र उपमहानगरको उन्नति कार्यक्रममा बोल्दै उनले बुटवलमा धेरैजस्तो कार्यक्रमहरुसा साझेदारीमा गरिएको बताए । 

‘हाम्रो पुरानो परम्परा पनि साझेदारीमै निर्भर छ, पुरानो बटौली र नयाँ विकसित हुँदै गएको ठाउँहरुका लागि केही मात्रामा कम छ,’ उनले भने, ‘फस्ट कम फस्ट सर्भिस’ भनेर ७० प्रतिशत जनताको सहभागिता र ३० प्रतिशत स्थानीय सरकारको सहभागितामा बजेट विनियोजन गरेका छौं ।’ 

भौतिक पूर्वाधारको विकासमा जनताको सहभागिता भएका कारण धेरै काम गर्न सकेको उनको भनाइ छ । ‘अहिले प्रदेशबाट ५ लाख भन्दामाथिको काममा टेन्डर गर्ने भनेपछि त्यो सहभागिता शून्यमा झर्न लागेको छ,’ उनले भने, ‘सहभागिताको अभ्यासले भन्दा पनि टेन्डरको प्रक्रियाले गर्दा ती अभ्यासलाई छाड्दै जानुपर्ने स्थिति आएको छ ।’ 

उनले फरक प्रसंगमा सुनचाँदीको गरहगना बनाउने भारतको पश्चिम बंगालका झन्डै ७ हजार जति कालीगढ बुटवलमा रहेको सुनाए । ‘वेल्डिङको काम गर्ने झन्डै १० हजार, फर्निचरको काम गर्ने १५ हजार जति गरेर ठूलो संख्यामा श्रमिकहरु छन्, ती व्यवसायी पनि हुन्, श्रमिक पनि हुन्,’ उनले भने, ‘उनीहरु न कुनै कारणले राज्य राजस्वको दायराभित्र आउँछन्, न उनीहरुले स्वीकृति नै लिनु पर्छ ।’

सीप नभएका कारण ठूलो नेपाली युवा जनशक्ति यत्तिकै बसेको उनको भनाइ छ । ‘हामीले गरगहना बनाउनेबारे १ सय जनालाई तालिम दियौं, करिब सत प्रतिशत रोजगार भएका छन्,’ उनले भने, ‘अहिले भारतबाट अर्बौको कृषि उपकारणहरु आउँछ, हामीले आरन स्तरवृद्धिको कुरा गर्‍यौं, एउटा आरनका लागि ५ लाख दिएर वर्षमा ५ वटा आरनको स्तरवृद्धिको कार्यक्रम बजेटमा राख्यौं, अहिले ती आरनहरुको स्तरवृद्धि सुरु भएको छ ।’ 

अहिले कृषि सम्बन्धी औजारको काम पनि त्यहीँबाट भएको उनले बताए । ‘हामीले किसानहरुका लागि भैंसीका पाडी वितरण कार्यक्रम सर्वाजनिक निजी साझेदारी (पीपीपी) मोडलमा राख्यौं ,यसबाट राम्रो सन्देश गएको छ,’ उनले भने, ‘हिजोका दिनमा हामीले भौतिक पूर्वाधार मात्र हाम्रो विकास हो कि भनेर हेर्‍यौं, तर मानवीय संशाधनको विकास त्यो भन्दा ठूलो कुरा रहेछ ।’ 

परापूर्वककालदेखि नै व्यावसायिक केन्द्रका विकसित भएको बुटवल २०२६ सालदेखि पूर्व पश्चिम राजमार्ग र उत्तर दक्षिण राजमार्ग बनेपछि व्यापार तथा यातायातको क्षेत्रको हवका रुपमा विकास हुँदै गएको उनले बताए । ‘त्यसपछि औद्योगिक क्षेत्रका रुपमा विकास भयो, अहिले बुटवलले शिक्षा र स्वास्थ्यमा एक खालको फड्को मारेको छ, बुटवलमा ९१ हजार विद्यार्थी छन्,’ उनले भने, ‘सरकारी विद्यालयहरुमा देशभरिकै नमुना विद्यालयका रुपमा बुटवलले स्थापित गरेको छ ।’ पूर्णरुपमा पूर्वाधार हुने हो भने अहिले भएको भन्दा दोब्बर संख्यामा विद्यार्थी राख्न सकिने उनको दाबी छ । ‘त्यसैले शिक्षामा बुटवलले गर्व गर्ने स्थिति छ, गत साल मात्र बुटवलले शिक्षाको क्षेत्रमा आफ्नो पूर्ण बजेटको २६ प्रतिशत शिक्षामा छुट्याएको छ, हिजो ठूलो विद्यालयसँग साना विद्यालय मर्ज गर्ने कुरा उठेको थियो,’ उनले भने, ‘हामीले त्यो कुरा रोक्यौं, जुन समुदायमा विद्यालय छ, त्यो विद्यालय मर्ज गरेपछि त्यो समुदायको विद्यार्थी त्यहाँ पढ्न आउने भएनन, बाहिरका विद्यार्थी मात्र पढ्न आउने भए, त्यो समुदायको विद्यार्थीले पढ्न नपाउने भए ।’

त्यसैले त्यहाँ भएका आधारभूत विद्यालयलाई कसरी स्तरोन्नति गर्ने र सबै विद्यालयलाई कम्प्युटर, आईटीसँग कसरी जोड्ने भनेर बजेट माग्न नआउँदा पनि ती विद्यालयलाई बजेटको व्यवस्थापन गरेर प्रविधियुक्त विद्यालय बनाउनेमा लागि परेको उनको भनाइ छ । ‘यो कुरालाई हामीले निरन्तरता दिएका छौं, यसो गर्दा त्यहाँको समुदायको विद्यालयमा विद्यार्थीको संख्या बढ्दो मात्रामा छ, बुटवलमा गत वर्ष नै नर्सिङ, एचएको अध्ययन सुरु गरेका छौं,’ उनले भने, ‘शिक्षा र स्वास्थ्यलाई बुटवलले धेरै, उच्च प्राथमिकतामा राखेको छ, बुटवलमा गरिने शिक्षा र स्वास्थ्यको विकास बुटवलका लागि मात्र होइन । देशका सबै क्षेत्रका लागि हो ।’ 

अहिले एक हजारभन्दा बढी विद्यार्थी कर्णाली प्रदेशका रहेको उनले बताए । भने, ‘स्वास्थ्य उपचकारका लागि साबिक लुम्बिनी अञ्चलका जिल्लाहरुबाट बिरामी यहाँ आउँछन् ,शिक्षा र स्वास्थ्यमा हामीले मात्र होइन, हाम्रो छिमेकसँग भूगोलसँग जोडिएका सबैले विश्वास गरेको अवस्था छ ।’ यसमा प्रदेश र संघिय सरकारको सहयोग रहेको उनले बताए ।

कान्तिपुर

Link copied successfully