काठमाडौँ — भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि धार्मिक पर्यटन मात्र नभई स्वास्थ्य पर्यटन, व्यापारिक भेला लगायतलाई पनि प्रवर्द्धन गर्नुपर्ने अर्थ मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले बताएका छन् । उनले भैरहवाको पूर्वाधार स्तरोन्नतिमा मात्रै २ खर्बभन्दा धेरै खर्च गरिसकेको र अब निजी क्षेत्रबाट त्यसको प्रतिफल देखिनुपर्ने विचारसमेत राखेका छन् ।
कान्तिपुर मिडिया ग्रुपले बुधबार भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ कार्यक्रमको पहिलो सत्रमा बोल्दै पौडेलले विमानस्थल सञ्चालनको प्रभावकारिता सुनिश्चित गर्न बहु आयामिक रणनीति अवलम्बन गर्नुपर्ने धारणा राखेका हुन् । ‘हामीले अहिले अन्तर्राष्ट्रिय विमानस्थल चलाउन धार्मिक पर्यटनलाई मात्रै ध्यान दिएका छौँ,’ उनले भने, ‘हेल्थ केयर, बिजनेस मिटिङ, ट्रान्जिट हबका रूपमा पनि भैरहवालाई विकास गर्न सकेमा विमानस्थलले अपेक्षित लाभ दिन सक्छ ।’
पौडेलका अनुसार अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुहरूमा धार्मिक प्रयोजनमा आउनेहरू मात्र नभई, स्वास्थ्य उपचारका लागि आउने, व्यापारिक बैठक तथा अन्य उद्देश्यले भ्रमण गर्नेहरूलाई आकर्षित गर्न पहल आवश्यक छ । ‘पूर्वाधारलाई बाइप्रोडक्टका रूपमा जोड्नुपर्छ,’ उनले भने, ‘विमानस्थलसँग होटल आउँछ, होटलसँग उद्योग आउँछ र उद्योगसँगै अन्य उत्पादनमूलक उद्योगको पनि विकास हुन्छ । यसरी समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ ।’
उनले भैरहवा क्षेत्रमा भौतिक पूर्वाधारको उल्लेखनीय विकास भइसकेकाले अब यसलाई प्रभावकारी रूपमा सञ्चालन गरी आर्थिक वृद्धिमा जोड दिनुपर्ने बताए । ‘सरकारले भैरहवाको पूर्वाधारमा २ खर्बभन्दा बढी खर्च गरिसकेको छ,’ उनले भने, ‘अब निजी क्षेत्रबाट त्यसको प्रतिफल देखिनुपर्छ ।’
विमानस्थल सञ्चालनका साथै हरित (ग्रिन) उद्योग प्रवर्द्धन, स्वच्छ ऊर्जाको प्रयोग र उत्पादनमूलक उद्योगहरूबीच सहकार्यका माध्यमबाट आर्थिक सुधारमा टेवा पुर्याउने नीति सरकारले लिने पौडेलले उल्लेख गरे । ‘उद्योगहरूलाई एक-आपसमा जोडेर, एकले अर्कोलाई माथि उठाउने गरी बाइप्रोडक्टका रूपमा काम गर्यौँ,’ उनले भने, ‘सरकारले दिनुपर्ने सुविधाका र नीतिगत सुधारका लागि पनि हामी तयार छौँ ।’
