काठमाडौँ — उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यात्रुले लामो समयदेखि भोग्दै आएको सास्तीलाई मध्यनजर गर्दै नारायणगढ–बुटवल सडक खण्डको काम बर्खाअघि नै एकतर्फी सवारी सञ्चालन गर्न मिल्ने गरी सम्पन्न हुने बताएका छन्।
पर्यटन व्यवसायीहरूले सडक निर्माणको ढिलाइका कारण पर्यटक आवागमन प्रभावित भएको विषय उठाइरहेका बेला बुधबार कान्तिपुर मिडिया ग्रुपले भैरहवामा आयोजना गरेको 'लुम्बिनीको सामर्थ्य' कार्यक्रममा बोल्दै उनले अर्को वर्षभित्र सम्पूर्ण सडक निर्माण कार्य पूरा हुने जानकारी दिए।
‘मुलुकले एउटा राजनीतिक चक्रबाट गुज्रनु परेको छ। राजनीतिक अस्थिरताका प्रभाव सामाजिक, आर्थिक, तथा जीविकाका विभिन्न क्षेत्रमा देखिएको छ,’ उनले भने, ‘त्यसकै कारण सडक निर्माण तोकिएको समयमा सम्पन्न हुन सकेन। कामले गति लिएको थिएन, अवरुद्ध बनेको थियो, जसले गर्दा धेरैलाई यो सडक बन्छ भन्ने विश्वास नै थिएन।’
कतिपयले ठेक्का तोड्नुपर्ने सुझावसमेत दिएको उनले उल्लेख गरे। ‘अर्थमन्त्रीको हैसियतले लगानीकर्ता, निर्माण व्यवसायी तथा सम्बद्ध सबै निकायहरूसँग छलफल गरी निष्कर्ष निकाल्यौँ कि यो सडक बन्नेछ। चालू आर्थिक वर्षभित्रै तथा बर्खा सुरु हुनुअघि बुटवलदेखि नारायणगढसम्मको एकतर्फी सडक निर्माण पूरा हुनेछ,’ उनले भने।
उनले अर्को वर्षभित्र सम्पूर्ण सडक निर्माण सम्पन्न हुने दाबी गरे। ‘निर्माण कार्य पूरा नहुँदासम्म आशङ्का गर्नेहरूलाई शङ्का गर्ने सुविधा दिनुपर्छ, तर म पूर्ण विश्वासका साथ भन्छु— चालू आर्थिक वर्षमा एकतर्फी सडक खुल्छ र अर्को वर्ष बाँकी सम्पूर्ण निर्माण कार्य सम्पन्न हुनेछ,’ उनले भने।
उनका अनुसार सडक तोकिएको ‘स्ट्यान्डर्ड’ अनुरूप नै बन्नेछ। ‘पूर्वाधार निर्माणका सन्दर्भमा केही समस्या छन्। हामी क्यालेन्डर बनाएर समयमै काम सम्पन्न गर्ने कुरामा चुकेका छौँ,’ उनले भने, ‘यसबाहेक, आयोजना कहिल्यै पनि प्रक्षेपित लागतमा पूरा हुँदैनन्, न त निर्धारित समयमै गुणस्तरीय रूपमा सम्पन्न हुन्छन्।’
उनले नारायणगढ–बुटवल सडक मात्र नभई बुटवलदेखि गोरुसिंगेसम्मको सडक खण्डको ठेक्का भइसकेको जानकारी दिए। ‘गोरुसिंगे–चन्द्रौटा खण्डको निर्माण कार्य सुरु भइसकेको छ। नारायणगढ–बुटवल सडकमा जस्तो समस्या यो खण्डमा हुने छैन,’ उनले भने।
उनले लुम्बिनीको विकास यात्रा यहीँ रोकिने छैन भन्दै थप पूर्वाधार परियोजनाको चर्चा गरे। ‘सिद्धबाबा सुरुङ मार्गको ब्रेकथ्रु भइसकेको छ। त्यसै गरी, बुटवलदेखि पोखरासम्मको सिद्धार्थ राजमार्गलाई १०२ किलोमिटरको डेडिकेटेड दुई लेनमा स्तरोन्नति गर्दैछौं,’ उनले भने।
लुम्बिनीको आर्थिक सम्भावना र सरकारको प्रतिबद्धता
उनले लुम्बिनीले नेपालको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउने महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए । ‘लुम्बिनी पर्यटकीय, सांस्कृतिक तथा पुरातात्त्विक दृष्टिकोणले महत्त्वपूर्ण सम्पदा हो। शान्तिप्रेमी मानव जातिका लागि यो क्षेत्र मुख्य गन्तव्य बन्न सक्छ,’ उनले भने।
उनले लुम्बिनीलाई नयाँ उचाइमा पुर्याउन सहरी, औद्योगिक, शिक्षा तथा स्वास्थ्य पूर्वाधार विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए। ‘नयाँ मानक स्थापना हुने गरी पहलकदमी लिइरहेका छौँ,’ उनले भने, ‘सरकारले निजी क्षेत्रको आत्मबल बढाउन कुनै कसर बाँकी राखेको छैन।’
