काठमाडौँ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय हिसाबले प्रचुर सम्भावना रहेको लुम्बिनी ‘मिनी नेपाल’ भएको बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले बुधबार भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तरक्रिया कार्यक्रमको ‘चौथो सत्र : अलमलमा अर्थनीति र राजनीति’ शीर्षकमा बोल्दै मुख्यमन्त्री आचार्यले पर्यटकीयसँगै कृषि उत्पादनको हिसाबले लुम्बिनी अन्न भण्डार रहेको बताए ।
‘लुम्बिनीमा पर्यटकीय, कृषिको दृष्टिकोण र अन्य हिसाबले प्रचुर सम्भावना छ । लुम्बिनी प्रदेशमा हिमाल, पहाडदेखि तराईका जिल्ला पनि छन् । बुद्ध जन्मिएको हिसाबले गौतम बुद्धको जन्मस्थलको कारण एेतिहासिक छ,’ उनले भने, ‘बुद्धिजम मात्रै नभई हिन्दुजम सांस्कृतिक हिसाबले हिन्दु पर्यटकको लागि पनि महत्त्वपूर्ण स्थान नै हो । लुम्बिनीमै ३ वटा राष्ट्रिय निकुञ्ज रहेको छ । सबै हिसाबले लुम्बिनी मिनी नेपाल हो ।’ बर्दियाको राजापुरमा सिंगो नेपालमा उत्पादन नभएको वस्तु उत्पादन हुने बताए । त्यस हिसाबले पनि लुम्बिनीको सम्भावना प्रचुर रहेको जनाए ।
त्यस्तै, तीन तह सरकारको हकमा समन्वय सहकार्य र सहअस्तित्वको आधारमा समन्वय गरेर अगाडि बढेको समेत उनले बताए । ‘कानुनले निर्दिष्ट गरेका काम अगाडि बढाएका छौं, विशेषगरी संघिय सरकारमार्फत प्रदेशका सचिव र मुख्य सचिवहरु आउने गरेका छन् । प्रमुख सचिव संघीय सरकारले पठाए पनि मन्त्रालयको सचिव प्रदेशबाटै हुनुपर्ने निवेदन पनि गरेका छौं,’ उनले भने, ‘अन्य कर्मचारी (उपसचिवदेखी तलका कर्मचारी)को हकमा हामी आफैंले सरुवा गर्ने गरेका छौं । त्यसका लागि प्रदेश निजामती सेवा ऐन, स्थानीय सेवा ऐन पनि बनिसकेको छ । नियमावली यही महिनाभित्र बनाउँदैछौं ।’
कर्मचारीको वृद्धिविकास रोकिएको हकमा प्रदेश सरकारको तर्फबाट खोलिसकेको जनाए । लोकसेवामार्फत् बढुवाको काम पनि भइराखेको छ । संघीय कानुन निजीमती सेवा ऐन नबनेपनि निजामती कर्मचारी ऐन बनाएर काम कारबाही बढाएका छौं,’ उनले भने, ‘सेवा प्रवाहमा कुनै समस्या छैन ।’
