काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवाणी राणाले लगानी डुब्ने, नीति परिवर्तन हुने, भएका नीति पनि कार्यान्वयन नहुने र खुम्चिँदै गएको बजारले गर्दा व्यवसायीहरुले लगानी बिस्तार गर्न नसकेको बताएकी छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा बुधबार आयोजित ‘लुम्बिनीको सामर्थ्य’ विषयको चौथो सत्र ‘अलमलमा अर्थनीति र राजनीति’ मा अस्थिर नीतिका कारण लगानी बढाउन नसकेको बताएकी हुन् ।
'खुम्चिएको बजार, लगानी डुब्ने हो कि, नीति परिवर्तन हुने, भएका नीति कार्यान्वयन नहुने हो कि भन्ने कुराले गर्दा पनि लगानी बिस्तार गर्न सकेको छैन्,' उनले भनिन्, 'एउटा नीति कम्तीमा १५ देखि २० वर्ष स्थिर हुनुपर्छ । नीति परिवर्तन गर्दा त्यो क्षेत्रमा लगानी गरेका व्यवसायीलाई जानकारी दिनुपर्छ । '
अध्यादेशबाट आएका ऐन/कानुन र नीतिहरुको कार्यन्वयनमा पनि प्रश्न उठेको उनले बताइन् । 'राम्रा नीतिहरु ल्याउँछौं तर कार्यान्वयन तह धेरै कमजोर देखिएको छ, त्यसमा पनि अहिले वातावरण बन्न सकेको छैन,' उनले भनिन् ।
पछिल्लो समय निजी क्षेत्र धाराशयी बनेको उनले सुनाइन् । 'कोरोना महामारीका समयमा मौद्रिक नीति राम्रै आएकाले हाम्रो अर्थतन्त्रलाई धान्न सकेको थियो,' उनले भनिन्, 'स्थिर सरकार नहुँदा पनि राष्ट्रको आर्थिक विकासका लागि अर्थतन्त्रलाई प्राथमिकता दिएर दुई ठूला दल मिलेर सरकार बन्दा निजी क्षेत्रमा उत्साह थियो । तर निजी क्षेत्रको अवस्था ओरालो र अप्ठ्यारो स्थितिमा छ ।'
'बैंकहरु ऋण दिन कुरिरहेको छ । तर ऋण लिन कोही गएका छैनन्, व्यवसायीहरुले पहिलेको ऋण घरजग्गा बेचेर पनि तिर्न सकेको छैन । भएका व्यवसाय सञ्चालन गर्न कठिन भइरहेको बेला नयाँ ऋण कसरी लिने ?'
भारत वा अन्तर्राष्ट्रिय कम्पनीबाट लगानी नआउनु चासोको विषय रहेको समेत उनले सुनाइन् । 'जलस्रोतमा भारतीय सरकारी लगानी आए पनि निजी क्षेत्रका लगानी आउन सकेको छैन,' उनले भनिन्, 'नीतिमै सुधार गर्नुपर्ने त छँदैछ कार्यान्वयन पक्षमा पनि बलियो हुनुपर्छ । सरकार, प्रदेश र पालिकाबीचको समन्वयमा पनि धेरै अप्ठ्याराहरु छन् । त्यसमा पनि एकरुपता हुनु पर्यो ।'
शक्ति र विकासको विकेन्द्रीकरण गर्न संघीयता आए पनि लागु हुन नसक्दा व्यवसायीहरु लगानी गरौं कि नगरौं भन्ने स्थितिमा रहेको बताइन् । 'व्यवसाय पनि ३० देखि ४० प्रतिशत क्षमतामा सञ्चालनमा छ, व्यवसाय गर्नका लागि व्यवसाय सञ्चालन लागत महँगो छ, त्यसलाई झार्न सक्नुपर्यो, उनले भनिन्, 'आन्तरिक मात्र होइन बाहृय लगानी भित्रन पनि सजिलो हुन्छ ।'
