सहरबजारका ससाना बालबालिकाले त ‘केरा किन रूखमा झुन्ड्याएको ?’ भनेर सरमिसलाई प्रश्न सोध्ने गरेका छन् । यी सबैले कृषि कर्म प्रकृतिसम्मत हो भन्ने सामान्य चेतनासमेत गुमाएको अवस्था छ । कृत्रिम रसायन र विषादीबिना खेती हुन्छ भन्ने कुरा उनीहरूलाई दन्त्यकथा जस्तो लाग्छ ।
खाना सम्पूर्ण जीवनको ऊर्जाको स्रोत हो । खानाबिना जीवनको कल्पना सम्भव छैन । जन्मदेखि मृत्युसम्म सबै जीवित जगत् यसको बन्दोबस्तमै लागेका हुन्छन् । मानिस यसको अपवाद होइन । मानिस जातिको उद्विकाससँगै उसले आफ्नै चेतनाका बलमा खानाको बन्दोबस्तमा ठूलो फड्को मार्यो । अन्य जीवजस्तै प्रकृति विचरणबाट खानाको जोहो गरिरहेको मानिस बिस्तारै यसबाट बाहिर निस्केर आफ्नो ऊर्जाका लागि खेतीपाती गर्न सक्षम र अभ्यस्त भयो ।
१०/१२ हजार वर्षदेखि प्रकृतिको लयमा खेतीपाती गर्ने परम्परा बसाएको किसानले हेर्दै, गर्दै र सिक्दै जाने प्रक्रियाबाट आधुनिक कृषि चेतनाको जग बसायो । खेतबारीमा कृषि कर्म गरेर ऊर्जा बन्दोबस्तको सामाजिक व्यवस्था मिलाउने समुदायलाई किसान र यो कर्मलाई किसानी भनिन्छ । केही दशकअघिसम्म किसानी सबैभन्दा उत्तम कर्मको परिचायक थियो । जमिनमाथिको अधिपत्यमा कुलीन वर्गको वर्चस्वसँगै किसानका अनेक वर्ग बने ।
भूमिपतिबाट जमिनदार, ठूला, साना र श्रमिक हुँदै अहिले हामी ‘झोले किसान’ को युगमा अवतरण गरेका छौं । यो अवतरणसँगै कृषि कर्म बतासिएको छ । त्यसमाथि औद्योगिक विकासको बाहिरी चमकधमकलाई विकासको मानक बनाएर थोपरिएको शिक्षा नामको दीक्षाले किसानीलाई हेला मात्र गर्न सिकायो । अहिले समाजमा सबैभन्दा अपहेलित कोही छ भने तिनै किसान छन्, जसले रातदिन खेतबारीमा काम गरेर हाम्रो खानाको बन्दोबस्त मिलाउँछन् । किसानको प्रकृतिसम्मत विवेक र चेतनाको जग भत्काउँदै सुरु गरिएको औद्योगिक कृषि विकास अहिले देखिएका सबै संकटको मुख्य कारक बनेको छ ।
आफ्नो परिवेशको यथार्थ आकलन नगरी हचुवाका भरमा अन्धाधुन्ध नक्कलले विगत सात दशकदेखि हाम्रो समाजको खाना, खेतीपातीलाई व्यवहार गर्ने पराई दृष्टिकोण थोपरिएको छ । यसको अन्धानुभक्ति समाजको नेतृत्वको आदर्श बनेको छ । तिनैका आयातित आदर्शले हाम्रा परम्परागत कृषि चेतना जगैदेखि भत्किँदै गएका छन् । यही भत्केको जगमा टेकेर अहिले कृषि कर्मको आधुनिकीकरण, व्यावसायिकीकरण र यान्त्रिकीकरण गर्ने भ्रम बेचिँदै छ । अहिले घोषणा भएको कृषि लगानी दशक र दशकौंदेखि रासायनिक मलको नाममा माटोको विषयमा अनुदान औद्योगिक कृषि आधुनिकीकरणका उदाहरण हुन् । व्यावसायिक कृषि प्रवर्द्धन भन्दै दिइने अनुदान र सहुलियत ऋण कृषिका दलाल व्यापारी र झोले किसान पोस्ने प्रपञ्च हुन् । विगतमा सञ्चालन भएका अनुदानमा आधारित परियोजनाको ब्रह्मलुटले यो पुष्टि भइसकेको छ ।
खानेकुरा बजारमुखी र पत्रु मात्र भएको छैन, खानाका लागि गरिने रैथाने खेती कर्म सबैतिरबाट तिरष्कृत भएको छ । सदियौंदेखि कृषि कर्ममा रमाएका किसान मात्र होइन, कृषि प्रवर्द्धनमा सघाउन भन्दै सरकार, घरपरिवार र समाजको ठूलो लगानीमा कृषि शिक्षा लिएका हजारौं कृषि पेसाकर्मीसमेत तिरस्कारको यो भारी बिसाउन आतुर छन् । अरू केही गर्न नसक्नेले खेतीपाती गर्ने भनेजस्तै कृषि पढेका युवासमेत यो देशमा बसेर केही गर्न नसक्ने निष्कर्षमा पुगेका छन् । अपवादबाहेक अधिकांश आफूलाई उन्मादी विकासको यात्रामा अब्बल बन्न विदेशिने उपायको खोजीमै तल्लीन देखिन्छन् । अरूको त के कुरा, नेपालबाट कृषि शिक्षामा स्नातक गरेका ६० प्रतिशतभन्दा बढी मिलेसम्म नफर्किने गरी विदेशिएका छन् ।
खेतीपाती गरेर गुजारा चलाउँदै हुर्किएका किसान परिवारका सदस्य नै अहिले हाम्रा अगुवा छन् । अपवादबाहेक यी कसैको कृषिबाहेक जीवन निर्वाहको अर्को विकल्पसमेत थिएन । विडम्बना, यिनले अहिले किसान र किसानीको मर्म बिर्सेका छन् । योभन्दा ठूलो ढोंग के होला ? यिनका ढोंगबाट आजित किसान समुदायलाई समेत आफूले मात्र होइन भावीपुस्तालाई समेत खेतीपाती गराउन कुनै जागरण, उत्साह र आँट छैन ।
अहिले सरकार किसानीमा रमाउनुपर्ने युवापुस्तालाई आधुनिकताको सपना देखाउँदै खाडीको मरुभूमि र अन्य देशमा बेचेर आयात गरेको अन्नपातले शासन चलाउन अभिशप्त छ । के पुराना, के नयाँ पार्टी र सरकार, यसको नेतृत्व गर्ने नेता र कार्यकर्ता कसैको प्राथमिकतामा कृषि पर्दैन । यिनीहरूको कृषि कर्मप्रतिको रवैया हेर्दा भोट माग्न किसानको घरदैलोमा जान नपर्ने भए उनीहरू खेतीपातीको उच्चारणसम्म गर्ने थिएनन् भन्न कुनै कठिन छैन ।
आफ्नै चेतनाले झकझक्याएर कृषि कर्ममा चासो राख्ने सानो झुन्डबाहेक समाजका सबै खाले (खल) नायक कृषि भन्नासाथ नाक खुम्च्याएको सबैतिर देख्न सकिन्छ । मानौं ती कसैले बिहान र साँझ खान नै पर्दैन । हुर्किंदै गरेका छोराछोरी र नातिनातिना पुस्ताले त खाना र खेतीपातीका आधारभूत मर्मसमेत बिर्सेको अवस्था छ । सहरबजारका ससाना बालबालिकाले त ‘केरा किन रूखमा झुन्ड्याएको ?’ भनेर सरमिसलाई प्रश्न सोध्ने गरेका छन् । यी सबैले कृषि कर्म प्रकृतिसम्मत हो भन्ने सामान्य चेतनासमेत गुमाएको अवस्था छ । कृत्रिम रसायन र विषादीबिना खेती हुन्छ भन्ने कुरा उनीहरूलाई दन्त्यकथा जस्तो लाग्छ ।
हाम्रो कृषिको भविष्य
फेरिएको प्रकृति, प्रवृत्ति र प्रविधिसँगै समग्र कृषि ज्ञानको पुनर्निर्माणले हाम्रो खानाको बन्दोबस्त हुँदैन । आफ्नो खानाको भरपर्दो बन्दोबस्त गर्न नसके चुच्चे नक्सा भित्तामा टाँसेर देखाएको राष्ट्रवाद ढिलोचाँडो ढोंग साबित हुने निश्चित छ । धेरै पर जान पर्दैन, अहिलेको खानेकुराको आयातमा नाकाबन्दी लागे मात्र यसको औकात सजिलै देखिन्छ ।
समुदायस्तरमै कृषि जागरण नबढाए हाम्रो खेतीपातीको संस्कृति अरू कुनै उपायले जागृत हुँदैन । अर्को अर्थमा, कृषि शिक्षा र जागरणको सामुदायिक अभ्यास नगरी अहिलेको पुस्ताको जीर्ण भएको कृषि चेतानाको पुनर्जागरण हुँदैन । त्यसो भए, अहिलेको सामाजिक व्यवस्थाको यथार्थमा यस्तो चेतनाको जग के होला ? यस्तो जग बनाउन सकिन्छ त ? कृषि कर्मको सामूहिक चेताना बढाउन के गर्ने ? यी जल्दाबल्दा प्रश्नमा एकछिन चर्चा गरौं ।
अहिले जलवायु परिवर्तनका कारण र परिणामको भागीदार दुवै बनेको कृषि क्षेत्रको समस्या समष्टिमा सम्बोधन नगरी आम जनसमुदायको खाना र दैनिक जीवनका न्यूनतम आवश्यकता पूरा हुँदैनन् । मरिरहेको माटो र फाटिरहेको बादलले यसैतर्फ संकेत गरिरहेको छ । यस कुरालाई आत्मसात् गर्दै समाजको जगैदेखि मर्मतसम्भार चाहिएको छ । केही दिनपहिले शिक्षामन्त्रीले आफ्नो पदभारको पहिलो दिन सबै विद्यालयको दिवा खाजामा रैथाने कृषि उत्पादनको उपयोग गर्ने निर्णय गरिन् । यो पक्कै पनि स्वस्थकर खाना र खानाको स्रोत खेतीपाती हो भन्ने चेतना बढाउन उपयोगी, सरल र सम्भव उपाय हो । तर यत्तिले मात्र कृषि कर्मको विवेक फर्किंदैन । यसका लागि, विद्यालय शिक्षामा वातावरण र कृषि शिक्षा अनिवार्य गर्न सकिन्छ । एक विद्यालय एक करेसाबारी, एक गाउँ (टोल) एक नर्सरी यसमा थप्न सकिने अरू सरल उपायका उदाहरण हुन् । यसले विद्यार्थी, शिक्षक र अभिभावक सबैलाई एकैचोटि आफ्नो चेत फर्काउन झकझक्याउँछ । यसका लागि छुट्टै ठूलो स्रोत र लगानीको आवश्यकतासमेत पर्दैन ।
स्थानीय विशेषतामा आधारित रैथाने कृषि व्यवस्था उन्नत बनाउन नसक्दा खानेकुराको बन्दोबस्तमा पराधीन हुन परेको हो भन्ने कुरा बुझ्न जरुरी छ । हाम्रो जस्तो प्राकृतिक जैविक स्रोतमा प्रशस्ति भएको देशको स्थानीय विशेषतामा आधारित कृषिको बलियो जगबिना कृषि उद्यमको विकास र कृषिको औद्योगिकीकरण कोरा कल्पना मात्र हो भनेर बुझ पचाएको नेतृत्वलाई बुझाउनु छ । सबैभन्दा पहिला कृषि उत्पादनलाई बढाउने कुरा नै महत्त्वपूर्ण खुट्किलो हो ।
स्थानीय विशेषतामा उपलब्ध स्रोत साधनमा आधारित हाम्रो परम्परागत एकीकृत खेती प्रणालीलाई उन्नत बनाउने एकमात्र बाटो हो । यसका लागि प्रकृतिसम्मत कृषि प्रणालीका मूलभूत (पर्यावरणीय सन्तुलन, सहअस्तित्वको सम्मान, प्राकृतिक पोषणचक्रको उपयोग, जनस्वास्थ्यप्रतिको सजगता, सहकार्य, समतामूलक र दिगो समृद्धि) मार्गदर्शक सिद्धान्त अवलम्बनका आधारमा स्थानीय साधन, स्रोत र प्रविधिको अधिकतम प्रयोग जरुरी छ ।
यसरी नेपालको कृषि क्षेत्रलाई जैविक ढाँचामा रूपान्तरण गर्न आवश्यक नीतिगत र संस्थागत व्यवस्था एवं कार्ययोजना बनाउन दबाब दिनुपर्नेछ । यसले मात्र आर्थिक रूपले सबल, सामाजिक न्याय, समानतामा आधारित दिगो पर्यावरणका सिद्धान्तअनुरूप कृषि क्षेत्रलाई उत्पादनशील र प्रतिस्पर्धी बनाउन सकिन्छ । यसबाटै किसान संकृतिको सम्मान बढाउँदै दिशाबोध गर्न सकिन्छ ।
आ–आफ्नै स्वार्थका लागि, सामाजिक अभियन्त्रण गर्दै हामीमाथि पछौटे सामाजिक मनोविज्ञान थोपरिरहेको औद्योगिक अर्थ व्यवस्थामा आधारित विश्व दृष्टिकोण र यसैलाई आदर्श बनाएको राजनीतिक, प्रशासनिक र बौद्धिक नेतृत्वको कपटमाथि सबै तहबाट निर्मम प्रश्न जरुरी छ । नत्र हाम्रो अवस्था फेर्ने चेतना र सामूहिक जागरण जागृत हुन सक्दैन । यसो गर्न हामी सबैले आआफ्नो ठाउँबाट तथ्यमा आधारित विवेकसम्मत प्रश्न उठाउने आँट गर्नुपर्छ । यस्ता प्रश्नले मात्र कुम्भकर्णझैं बेसुरमा निदाएको अगुवाको सामाजिक चेतना जागृत हुन्छ ।
हावा, पानी र खाना नभए हामी कति समय बाँच्न सक्छौं ? हाम्रो खानाको स्रोत के हो ? किसानले खेती नगरे हाम्रो खाना कहाँबाट आउँछ ? के माटो, हावापानी, मल र बीउ नभए खेती गर्न सकिन्छ ? के रसायन र विष नहाले खेती हुँदैन ? खाना र खेतीपातीका समसामयिक प्रश्न उठाउने हामी सबैको साझा जिम्मेवारी हो ।
