कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

एमाले महाधिवेशन : चार आश्चर्य 

एउटा कम्युनिस्ट पार्टीले आफ्ना सपनाहरूलाई गैंडा र ओलीमा लगेर केन्द्रित गर्नुजस्तो गैरमाक्र्सवादी र सी–ग्रेड सोच अर्को के हुन्छ ? एउटा कम्युनिस्ट पार्टीले मजदुर, किसानहरूको सपनालाई ‘राइनोको मस्कट’ बनाएर खेलाँची गर्छ भने, योभन्दा ठूलो ‘जोक’ के हुन्छ ?
केशव दाहाल

कुनै बेला एमालेका महाधिवेशनहरूले नेपाली राजनीतिलाई महिनौं तरंगित पार्थे । पार्टीको वैचारिक कार्यदिशा, मुद्दा र कार्यक्रमहरूमाथि सघन छलफलहरू चल्थे । पार्टी सदस्यहरूका लागि त यस्ता अवसरहरू प्रेरणादायी हुन्थे नै, विरोधीहरूसमेत बहसमा अनिवार्य तानिन्थे । तलतलसम्म दस्तावेजहरू पुग्थे ।

एमाले महाधिवेशन : चार आश्चर्य 

साथै, त्यही अवसरमा प्रतिनिधि छनोटको निर्वाचन हुन्थ्यो, जसलाई हेरेर राजनीतिक सृजनशीलता र जडताका अनेकौं अनुभव लिन सकिन्थ्यो । त्यो एक जमानाको कुरा थियो । तर अहिले ? अहिले एमालेको दसौं महाधिवेशन सन्मुखमा छ । यद्यपि तयारी हेर्दा, यो इतिहासकै सबैभन्दा अराजनीतिक, व्यक्तिकेन्द्रित, सन्दर्भहीन र भुत्ते हुने देखिँदै छ । लाग्छ, एमालेमा अब जीवनको गतिशीलता सकियो । आलोचनात्मक चेत सकियो । नेताहरूको वैचारिक सामथ्र्य सकियो । पार्टीमा सदस्य कम र सेवकहरू ज्यादा हावी हुँदै गए । के एमालेहरू मान्छेको स्वतन्त्रता, सार्वभौमिकता र गरिमामा भन्दा दासतामा धेरै विश्वास गर्छन् ? के एमालेमा जीवनको उज्यालो सकियो ? आज एमालेको आसन्न महाधिवेशन र यसका आश्चर्यजनक सन्दर्भहरूमाथि विमर्श गरौं ।

पहिलो आश्चर्य

कुनै पनि राजनीतिक दलको महाधिवेशनलाई विचार, अनुभव र कार्यदिशाको एकमुस्ट अभिव्यक्ति मानिन्छ । त्यसरी नै तयारी गरिन्छ । त्यसरी नै प्रचार गरिन्छ । त्यसैको अभिव्यक्तिका लागि महाधिवेशनको लोगो बनाइन्छ । पार्टी कार्यालयहरू सजाइन्छन् । महाधिवेशनस्थल सिँगारिन्छ । दस्तावेजहरू छापिन्छन् । पर्चा, पोस्टर, परिचय कार्डहरू बन्छन् । सबै कुरामा विचारको संश्लेषण गर्ने प्रयत्न गरिन्छ । किनभने त्यसको प्रभावले सम्पूर्ण पार्टीपंक्तिमा नयाँ सपनाहरू जागृत हुन्छन् । चेतनाको नयाँ ज्योति बल्छ । यो प्रक्रियामा कम्युनिस्टहरू अझ सचेत हुन्छन् । भनिन्छ— कम्युनिस्ट पार्टीको महाधिवेशनमा प्रयोग हुने लोगो र झन्डामा पार्टीको सम्पूर्ण चेतना र सपना अभिव्यक्त हुन्छ । यो अर्थमा महाधिवेशनको लोगो र झन्डा विशेष हुन जान्छ, जो महाधिवेशनको विम्बात्मक तर केन्द्रीय अभिव्यक्ति हो ।

यो पटक एमालेले आफ्नो महाधिवेशनलाई कुनै वैचारिक परिघटनाका रूपमा प्रचार गरेको छैन । न विमर्श, न त बहस । त्यसैले उसले आफ्नो झन्डा किसान र मजदुरहरूका हातबाट खोसेर गैंडाको हातमा सुम्पिएको छ, जसमा न क्रान्तिको आह्वान छ, न त परिवर्तनको सपना । जहाँ जनताको भुइँ हिस्साको त झन् कतै संलग्नता नै छैन, जो धूलोमा परिश्रम गरिरहेको छ । यो पटक एमालेको झन्डा गैंडाले उचालेको छ । अन्यत्र जताततै छन् दौरा–सुरुवालमा सजिएका अध्यक्ष ओली । कापीमा, कलममा, भान्सामा, हलमा, ब्यानरमा, थालमा । अर्थात्, एमालेको महाधिवेशनमा या गैंडा छ, या त ओली छन् । यसको अर्थ के होला ? के यो महाधिवेशन ठोरीमा आयोजना भएको भए झन्डा भगवान् रामले उचाल्थे ? अथवा, के यो महाधिवेशन कोसीटप्पुमा गरिएको भए झन्डा अर्नाले उचाल्थ्यो ? एउटा कम्युनिस्ट पार्टीले आफ्ना सपनाहरूलाई गैंडा र ओलीमा लगेर केन्द्रित गर्नुजस्तो गैरमाक्र्सवादी र सी–ग्रेड सोच अर्को के हुन्छ ? एउटा कम्युनिस्ट पार्टीले मजदुर, किसानहरूको सपनालाई ‘राइनोको मस्कट’ बनाएर खेलाँची गर्छ भने, योभन्दा ठूलो ‘जोक’ के हुन्छ ? राइनो एक विम्ब मात्र हो । मुख्य कुरा हो— म्यासेज । एउटा कम्युनिस्ट पार्टीको महाधिवेनशनमा राजनीति नहुनु र मात्र रमझम हुनु चिन्ताको विषय हो । एउटा राजनीतिक दलले आम मान्छेका मुद्दाहरूलाई नदेख्नु र सम्पूर्ण प्रचार व्यक्तिमा केन्द्रित गर्नुभन्दा ठूलो राजनीतिक आश्चर्य के हुन्छ ?

दोस्रो आश्चर्य

कम्युनिस्ट पार्टीका महाधिवेशनमा पार्टीले अंगीकार गर्ने सिद्धान्त, राजनीतिक कार्यदिशा र कार्यक्रम सबैभन्दा महत्त्वपूर्ण हुन्छन् । जस्तो, एमालेको पाँचौं महाधिवेशनमा मदन भण्डारीले प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद, जसले नेपाली राजनीतिमै महत्त्वपूर्ण बहस सृजना गरेको थियो । र, त्यो बहस अझै जारी छ । त्योभन्दा अगाडि पनि एमालेमा अनेक बहस भएका थिए । तर एमालेको दसौं महाधिवेशन सुनसान छ, किन ? यस्तो लाग्छ, एमालेले वैचारिक मन्थनको संस्कृति अन्त्य गरेको छ । पार्टीमा विचार सकिएको छ र सत्ता हावी हुँदै गएको छ । कम्युनिस्ट (?) पार्टीमा विचारको अन्त्य हुनु र उखानटुक्काहरूले पकड जमाउनु कस्तो अश्चर्य †

एमालेको राजनीतिक जीवनमा पाँचौं महाधिवेशको विशेष स्थान छ । त्यसपछि महत्त्वपूर्ण छन् आठौं र नवौं महाधिवेशनहरू, जसले झन्डै पचास वर्ष लामो समाज विश्लेषणको निष्कर्षलाई बदलेका थिए । अर्थात्, नेपाली समाजको चरित्र कस्तो छ, मुद्दाहरू के छन् र तिनलाई कसरी अवसरमा रूपान्तरित गर्ने भन्ने लामो बहसपछि एमालेले नवौं महाधिवेशनबाट सामन्तवाद सकिएको र नेपालमा पुँजीवादी युग सुरु भएको निष्कर्ष निकालेको थियो । निष्कर्ष थियो— ‘यद्यपि हाम्रो पुँजीवाद दलाल पुँजीवाद हो । यसलाई उत्पादनशील पुँजीवादमा रूपान्तरण गर्दै समाजवाद निर्माण गर्नुपर्छ ।’ यसो भनिरहँदा एमालेमा जबजलाई हेर्ने दुईवटा दृष्टिकोण थिए । एउटा समूह जबजको अन्धसमर्थक थियो, जसको नेतृत्व गर्थे केपी ओली । अर्को आलोचनात्मक समूह थियो, जसमा थिए माधव, झलनाथ र घनश्यामहरू । जबजका अन्धसमर्थकहरू यसलाई नेपाली क्रान्तिको सिद्धान्त मान्नुपर्ने धारणा राख्थे, जसलाई उनीहरू बहसको प्रस्थानविन्दु नभई पूर्णता ठान्थे । उनीहरूका लागि जबज वेद, कुरान, बाइबल थियो । यसको ‘कमा’ र ‘फुलस्टप’ सम्म पनि फेर्नु हँुदैन भन्ने उनीहरूको मत थियो । यसको अर्थ हुन्थ्यो— जनवादी क्रान्ति अझै बाँकी छ । तर त्यसका आलोचकहरू जबजको युग सकिएको र अब समाजवादी क्रान्ति गर्नुपर्ने मत राख्थे । यो समूह जबजलाई अझ विकास गर्नुपर्ने ठान्थ्यो । महाधिवेशनले माधव, झलनाथ र घनश्यामहरूको विचार पारित गर्‍यो । नेतृत्वमा आए ओली । अत: एमाले र माओवादीको एकता हुँदा ओलीले नवौं महाधिवेशनको वैचारिक निष्कर्षलाई पूर्वाग्रहसाथ छोडिदिए । त्यसयता जेजे भयो, त्यो ताजै छ ।

नवौं महाधिवेशनपछि एमाले ओलीको अध्यक्षतामा अगाडि बढ्यो । माओवादीसँग एकता भयो । भारी बहुमतका साथ पार्टी सरकारमा गयो । ओली प्रधानमन्त्री भए । जनताको बहुदलीय जनवादलाई व्यवहारमा सिद्ध गर्ने अवसर स्वयं ओलीका हातमा आयो । तर दुर्भाग्य, जसै ओली सरकारमा गए, उनले पार्टीको विचार, कार्यक्रम, चुनावी घोषणापत्र सबै बिर्सिए । जबजले पार्टीभित्र र बाहिर कतै पनि नेतृत्व गर्न सकेन । पार्टीमा विचार कम र गुट ज्यादा देखिँदै गए । अनेक स्वार्थ प्रकट हुँदै गए । भ्रष्टाचार बढ्यो । सुशासन घट्यो । सरकारले परिणाम दिन सकेन । त्यसै मेसोमा आफ्नै आन्तरिक कारणले पार्टी फुट्यो । अर्थात्, दुईतिहाइको सरकार ढल्यो । प्रदेशका सरकारहरू ढले । महत्त्वपूर्ण नेताहरूले पार्टी छोडे । पार्टी बदनाम भयो । जनताको खास हिस्सा असन्तुष्ट बन्दै गयो । यावत् संकटबाट गुज्रिएको एमालेमा यी प्रश्नहरू किन उठ्दैनन् ? आश्चर्य छ ।

किन यस्तो भयो ? दोष सिद्धान्तमा थियो कि व्यवहारमा ? दोष नेतृत्वमा थियो कि नीतिमा ? दोष प्रणालीमा थियो कि प्रयोगमा ? गणतान्त्रिक जनआन्दोलनपछिका पन्ध्र वर्ष किन खेर गए र राजनीतिक परिवर्तनले जनताको जीवन किन बदल्न सकेन ? के यसरी समाजवाद आउँछ ? समग्र नेपाली राजनीति आज यिनै प्रश्नहरूले घेरिएको छ । यो अर्थमा एमालेको महाधिवेशनमा छलफल गर्नुपर्ने यी निकै महत्त्वपूर्ण र गम्भीर प्रश्न हुन् । तर यी विषयहरूमाथि न विधान महाधिवेशनमा छलफल भयो, न त चितवनमा हुँदै छ । आफैंमाथि निर्मम समीक्षा नगरी दोष अरूमा खोजेर एमाले कता जान्छ ?

निश्चय नै, एमाले शान्त छ । हेर्दा लाग्छ, आन्तरिक लफडाहरू सकिएका छन् । गुटहरू सकिएका छन् । कचकच सकिएको छ । नेताहरूलाई हाइसन्चो छ । तर घनश्यामहरूको खटपटी कहाँ व्यक्त हुन्छ ? भीम रावलहरूको अभिमत कसरी प्रकट हुन्छ ? बोल्नुपर्ने विषयहरू छोपछाप पारेर कसरी महाधिवेशन सकिन्छ ? ओलीमाथि आम रूपमा गरिएका आलोचनाहरूको जवाफ नखोजी दुनियाँसामु मुख कसरी देखाउने ? कार्यकर्ताहरूले चितवनमा भेला भई ठूलठूलो स्वरमा माधव नेपाललाई गाली गर्नु त स्वादै हुन्छ, तर त्यो मात्र आत्मरति हो । के त्यसरी महाधिवेशनको दायित्व पूरा हुन्छ ? ख्याल राखौं, राजनीतिक दायित्वबिनाको महाधिवेशन मात्र गाईजात्रा हो, जसले मनोरञ्जन त दिन्छ, तर इतिहासको भारी उठाउन सक्दैन ।

तेस्रो आश्चर्य

महाधिवेशनमा प्रतिनिधिहरूको भूमिका ज्यादै ठूलो हुन्छ । यसर्थ नै पार्टीहरूमा महाधिवेशन प्रतिनिधि छनोटको विधि, प्रक्रिया र उपस्थिति महत्त्वपूर्ण मानिन्छ, जो आफैंमा लोकतान्त्रिक, सहभागितामूलक र पारदर्शी हुनुपर्छ । तर अहिले एमालेभित्र महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत गर्ने जोडदार अभियान चलेको छ । परिणाम, तलतल सहमतिका अनेक बैठक हुँदै छन् । हेर्दा राम्रो लाग्ला । ‘सर्वसम्मत’ आफैंमा गज्जबको शब्द हो । तर सर्वसम्मत बनाउने नाममा एमालेभित्र इतिहासमै पहिलो पटक सबैभन्दा धेरै केन्द्रीयता हावी हुँदै छ । नेतृत्वले जताततै हस्तक्षेप गर्दै छ । मुख्यत: पाँचौं महाधिवेशनबाट पार्टीले सुरु गरेको आन्तरिक लोकतन्त्रको अभ्यास पच्चीस वर्षपछि अन्त्य हुँदै छ । अर्थात्, महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत बनाउने नाममा संगठित सदस्यहरूको हक खोसिँदै छ । यो हेर्दा साधारण लाग्छ, तर यसले एमालेका आठ लाख सदस्यको सार्वभौमिकता समाप्त बनाउँदै छ । सदस्यहरूलाई मात्र संख्यामा गणना गर्ने तर उनीहरूलाई सचेत र जीवन्त कार्यकर्ताको दर्जा नदिने यो निकै दुर्भाग्यपूर्ण कदम हो ।

त्यसो त नेतृत्व छनोटमा पनि एमालेभित्र प्राधिकार हावी हुँदै छ । अर्थात्, ओली । पार्टी संगठनलाई नदीजस्तो चलायमान गर्नु आजको आवश्यकता हो । र, ताजा नेतृत्वको सम्भावनालाई राजनीतिक दलहरूले सदैव खुला राख्नुपर्छ । तर एमालेभित्र पुराना मान्छेहरूको वर्चस्वलाई ओली कमरेडको तजबिजमा मिलाइँदै छ । कसैको तजबिजले बनेको नेतृत्व कोप्रति उत्तरदायी हुन्छ ? भन्नुपर्दैन ।

कुनै बेला एमालेमा ‘पुस्ता हस्तान्तरण’ को विषय निकै चर्चामा थियो । तर त्यो अहिले सामसुम छ । अर्थात्, स्वयं त्यसका अभियन्ताहरू मौन छन् । या त उनीहरूमा त्रास छ, अथवा लोभ । त्यसैले उनीहरू अहिले चाकडीमा छन् । अध्यक्ष ओलीको आशीर्वादमा आफ्नो भविष्यलाई सुरक्षित गर्न खोज्ने यो प्रवृत्तिबाट दीक्षित एमालेको नयाँ पुस्ता कस्तो होला ? सहभागितामूलक लोकतन्त्र, गतिशील नेतृत्व, नो भोट, एक व्यक्ति दुई कार्यकालजस्ता विषयहरू आम बहसमा आइरहेका बेला एमाले स्वयं भने उल्टो बाटोमा देखिनु कस्तो दुर्भाग्य † राजनीतिलाई अझ धेरै सामूहिक, जनमुखी र लोकतान्त्रिक बनाउनुपर्ने माग भइरहेका बेला एमाले कार्यकर्ताहरूले आफ्नो लोकतन्त्रलाई व्यक्तिको पाउमा टक्य्राउनुजस्तो उल्टो र आश्चर्यजनक काम अर्को के हुन्छ ?

चौथो आश्चर्य

या त आफैंभित्रका आश्चर्यहरूलाई नदेख्नु या त्यसैमा रमाउनु एमालेको चौथो आश्चर्य हो । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि यत्रो आक्रमण भैरहँदा एमाले किन चुपचाप ? पछिल्लो राजनीतिक परिवर्तनले किन परिणाम दिइरहेको छैन ? भुइँ किन असन्तुष्ट छ ? एउटा राजा फालेर ल्याइएको गणतन्त्रले किन सयौं राजा जन्मायो ? संघीय लोकतान्त्रिक गणतन्त्रलाई आफ्नै दुष्कर्मले कतै बदनाम त गर्दै छैन ? राजनीतिक परिवर्तनको स्वामित्व लिने र जनताको अवस्था बदल्ने प्रयत्नमा एमालेको प्रतिबद्धता खोइ ? के यी प्रश्नहरूको अर्थ र औचित्य सकियो ?

राजनीतिक नैतिकताको स्खलन आजको ठूलो समस्या हो । विश्लेषकहरू भन्छन्— यो विकृतिको नेतृत्व स्वयं एमालेले गरिरहेको छ । स्वयं कम्युनिस्टहरूमा सत्ता, शक्ति र सम्पत्तिको असीमित भोक देखिँदै छ । कतै पनि सांस्कृतिक उन्नयन, उदारता, निष्ठा र सरलता छैन । राज्यका अंगअंगमा दलालहरू हावी हुँदै गए । राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका एजेन्डाहरू हराए; हावी भए स्वार्थका भालेहरू । पार्टी कार्यालयहरू लोकतन्त्रका मन्दिर बन्नुपर्ने, लालदरबार बन्न पुगे । एउटा समाजवादी पार्टीले यो विषयमा चिन्ता गर्नु पर्दैन ? खै, एमालेका सदस्यहरूमा यसको चिन्ता र चासो ?

सर्वत्र गुनासो छ, राजनीति गतिशील भएन । गतिशील हुनुको अर्थ युगको नेतृत्व गर्नु हो । गतिशील हुनुको अर्थ विचार, संगठन, मुद्दा, संस्कृति र सपनाहरूमा नयाँपन हो । गतिशील हुनुको अर्थ अझ धेरै लोकतान्त्रिक र अग्रगामी हुनु हो । तर एमाले कसरी उल्टो बाटो हिँड्न पुग्यो ? समय–चेतना, संकल्प र गति खै ? व्यवस्था बदलियो तर पार्टी बदलिएन । किन यस्तो भयो ? के यावत् विषयपट्टि आँखा चिम्लिएर ‘आई लभ यु’ को नाराले देश बन्छ ?

अहिले एमालेमा रमाइलै होला । अध्यक्ष ओलीका चुड्किलाहरू सर्वत्र छन् । हाँस्न पाइएकै छ । सभाहरू भएकै छन् । पैसा उठेकै छ । पार्टीसत्तामा रजगज छ । तर गाली गर्नु, हाँस्नु, रमाउनु र राजनीति गर्नु सायदै फरक कुरा हो । बितेका तीस वर्ष एमालेले सत्तामा बसेर के गर्‍यो ? र, अब उसले आफ्नो राजनीतिक औचित्य कसरी पुष्टि गर्छ ? एमालेले आफ्नो महाधिवेशनलाई प्रहसन मात्र नबनाओस् । अन्यथा यो अपराधका लागि उसले कुनै दिन इतिहाससँग क्षमा माग्ने अवसर पनि पाउनेछैन ।

प्रकाशित : मंसिर ६, २०७८ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?