कोरोना नियन्त्रणका लागि लाखौंको संख्यामा भरपर्दो स्तरीय परीक्षण आवश्यक छ । लकडाउनसँगै व्यापक परीक्षण गरी सम्भावित महामारीको तयारी युद्धस्तरमा हुनुपर्छ ।
स्वास्थ्य मन्त्रालयले सम्भावित महामारीको व्यवस्थापन गर्न सार्वजनिक एवं निजी अस्पतालहरूको वर्गीकरण गरी जिम्मेवारी तोकेको छ । कोरोना संक्रमितलाई सामान्य ज्वरोदेखि जटिल शल्यक्रियासम्मको उपचारका लागि पूर्वमा बीपी प्रतिष्ठान, मध्यमा त्रिवि शिक्षण अस्पताल र पश्चिममा नेपालगन्ज मेडिकल कलेजलाई तोकिएको छ ।
कोरोना संक्रमितलाई ज्वरो, सुक्खा खोकी र सास फेर्न गाह्रो हुने भएकाले थर्मल गनद्वारा परीक्षण गरी ज्वरो आएकाहरूलाई मात्र संकास्पद बिरामीका रूपमा अन्य परीक्षणका लागि पठाइन्छ । ज्वरो नआएकालाई क्लिनिकबाट सामान्य औषधि र परामर्श दिई घर फर्काइन्छ ।
तर अहिलेसम्म पोजिटिभ देखिएका अधिकांशमा कोरोनाको लक्षण देखिएको छैन । थर्मल गन वा ज्वरो परीक्षणलाई मात्रै आधार बनाएर ढुक्क हुने स्थिति छैन । लक्षणयुक्त संक्रमितले मात्रै रोग सार्न सक्छन् भन्ने भ्रम घातक हुन सक्छ । कोरोनाका लक्षणहरू नदेखिए पनि भित्रभित्रै भाइरस फैलिएर भयावह स्थिति निम्तिसकेको पनि हुन सक्छ । त्यसैले कोरोना संक्रमणको यथार्थ अवस्था हाम्रोमा के छ भन्ने प्रश्न महत्त्वपूर्ण छ ।
हामीमा रोगप्रतिरोधी क्षमता बढी रहेको दाबीमा वैज्ञानिक आधार छैन । विदेशमा रहेका केही हजार नेपाली कोरोना संक्रमित छन् भने कतिको मृत्यु पनि भइसकेको छ । त्यसैले यो दाबी गलत छ । लक्षणयुक्त संक्रमितले मात्रै रोग सार्न सक्छ भन्ने भ्रम पनि घातक छ । त्यस्तै, गर्मीमा भाइरस फैलँदैन भन्ने भ्रम थियो तर मधेसमा संक्रमितहरू बढिरहेका छन् । माइनस तापक्रममा चीनको वुहानमा उत्पत्ति भएको कोरोना उच्च तापक्रममा निष्क्रिय नभएर परिवर्तन (म्युटेसन) भई सक्रिय भैरहेको छ । परीक्षणका नतिजाले कोरोनो महामारी द्रुतगतिमा बढ्छ कि भन्ने सन्त्रास बढाएका छन् । लम्बिँदो लकडाउनले मानवीय संकट गहिरिँदै जान सक्छ अनि महामारी पहिलो, दोस्रो, तेस्रो हुँदै चौथो चरणमा प्रवेश गरे हाम्रो पूर्वतयारी र पूर्वाधारले थेग्न सक्दैन । ज्वरोलगायत कोरोनाका अन्य लक्षण नदेखिँदा पनि अस्पतालहरूले सतर्कता अपनाउँदै सेवाप्रवाह गर्नुको विकल्प छैन । स्वास्थ्य संस्थाहरूले उपचारको प्रकृतिअनुसार स्वास्थ्यकर्मीको सुरक्षालाई सुनिश्चित गर्दै सेवाप्रवाह गर्नुपर्छ ।
कोरोनाले फोक्सोसँगै मुटु, स्नायु वा अन्य प्रणालीलाई पनि असर गर्न सक्छ । जटिलताहरू थपिए भेन्टिलेटरका माध्यमले श्वासप्रश्वासमा भरथेग गराउन सकिन्छ । तर हाम्रोमा भेन्टिलेटरको अभाव छ र मूल्य पनि चर्को छ । संक्रमितलाई भेन्टिलेटरमा राख्नुपरे उपचार अत्यन्तै महँगो पर्न जान्छ । न्यून आर्थिक अवस्थाका बिरामीहरूको उपचार गर्न गाह्रो हुन्छ ।
त्यसैले कोरोना महामारीको पूर्वतयारीका क्रममा भेन्टिलेटर उत्पादनलाई सुपथ बनाउन आवश्यक छ । भेन्टिलेटर, आईसीयूलगायतका उपचार सेवासहित कोरोना विशेष अस्पतालको व्यवस्था पनि अपरिहार्य छ । संक्रमणबाट जोगिन चिकित्साकर्मीले मात्र मास्क लगाएर हुन्न, सेवाग्राहीले पनि लगाउनुपर्छ । पन्जा र गाउनको पनि व्यवस्था हुनुपर्छ । अतिरिक्त आर्थिक सुविधाभन्दा पनि ज्यान जोगाउनु महत्त्वपूर्ण हो । त्यस्तै, आकस्मिकबाहेक अन्य उपचार टेलिफोन वा अनलाइनबाट दिने व्यवस्था हुनुपर्छ । पिचिक्क थुक्ने अनि चुरोट र खैनी खाने बानी परिवर्तन गर्नुपर्छ । झोलामा पन्जा, स्यानिटाइजर र साबुन बोक्नु हितकर छ । कोरोना भाइरस धातु वा वस्तुमा केही घण्टा बाँच्ने र सक्रिय हुने भएकाले हात चलाउँदा सतर्क हुनुपर्छ । र, बेलाबेलामा साबुन–पानीले हात धुनुपर्छ । कोरोनाबाट बच्न हाम्रो बानीबेहोरा र व्यवहार परिवर्तन गर्नु जरुरी छ ।
कोरोना नियन्त्रणका लागि लाखौंको संख्यामा भरपर्दो स्तरीय परीक्षण आवश्यक छ । लकडाउनसँगै व्यापक परीक्षण गरी सम्भावित महामारीको तयारी युद्धस्तरमा हुनुपर्छ । राज्यका सबै तह र नागरिकले कोरोना भाइरस फैलनबाट रोक्न भरमग्दुर प्रयास गर्नुपर्छ । लकडाउन मात्रै रोग नियन्त्रणमा पर्याप्त छैन । लकडाउन लम्बिरहँदा बेहोर्नुपरेको मानवीय संकटतर्फ ध्यानाकर्षण गराउनेलाई फगत भावनामा बहकिएको संज्ञा दिनु उपयुक्त हुन्न ।
लकडाउन हटे पनि वा संक्रमण मत्थर देखिए पनि एकआपसमा दूरी कायम गर्ने, मास्क लगाउने अनि साबुन–पानीले हात धोइरहने बानी पछिसम्म कायम गर्नुपर्ने हुन्छ । स्यानिटाइजर दैनिक रूपमा चाहिने आवश्यक वस्तु हुँदै छ । सामाजिक दूरी कायम गर्नुका साथै व्यक्तिगत सतर्कता र सावधानी अपनाउनु अब बाँच्नकै निम्ति अनिवार्य भएको छ । महामारी नियन्त्रणका लागि लकडाउन र त्यसले उत्पन्न गरेको मानवीय संकटभन्दा बाहिर जिम्मेवार निकायहरूको ध्यान मोडिनु हुन्न । महामारी व्यवस्थापनका लागि हामीले अवसर पाएकै हौं । नयाँ भाइरसले नयाँ प्रकृतिका समस्याहरू सृजित गर्दा स्वतः क्रियाशील हुनुको सट्टा नेतृत्वको मुख ताक्ने स्थायी संयन्त्रकै कारण अपेक्षित रूपमा कार्यहरू सम्पादन हुन सकेनन् ।
प्राकृतिक प्रकोपमा कृत्रिम अभाव सृजना गरी कालोबजारीको माध्यमबाट फाइदा उठाउने प्रवृत्ति हाम्रोमा विद्यमान छ । चिकित्साजस्तो प्राविधिक, संवेदनशील र विशिष्ट सेवामा आम मानिसको अनभिज्ञताको फाइदा उठाउने प्रवृत्तिलाई मौलाउन दिनु हुन्न । राजनीतिक र प्रशासनिक नेतृत्वले प्रभावकारी समन्वय र सहजीकरणको भूमिका निर्वाह गर्नुपर्छ । महामारीको प्रकृति, प्रभावको दर र दायरा, सम्बद्ध व्यक्तिहरूको सुरक्षा आदिमा वैज्ञानिक एवं प्राविधिक विश्लेषण गर्नुपर्छ । यसका लागि स्वदेशी र विदेशी विज्ञहरूसँग परामर्श गर्नुपर्छ ।
लकडाउनमा मृत्युदर घटेको समाचार छ । के अहिले अन्य कारणबाट सृजित मृत्युदर घटेको हो त ? घटेको मात्रै होइन, अस्पतालहरूमा मरणासन्न अवस्थामा ल्याइने बिरामीको संख्यामा पनि कमी आएको छ र यो स्वाभाविक हो । समृद्ध मुलुकहरूका अस्पतालमा पनि हृदयाघात र मस्तिष्काघातका बिरामीको संख्या घटेको छ । रोग नलागेर यस्तो भएको होइन, अस्पतालहरूमा बिरामी ल्याउन नसकेकाले हो । स्वास्थ्य क्षेत्रले राज्यबाट उचित प्राथमिकता नपाउने गरेको कटु यथार्थलाई आत्मसात् गरी स्वास्थ्यकर्मीको मनोबल बढाउन, स्वास्थ्य पूर्वाधार र साधनहरू दीर्घकालीन रूपमा जुटाउन आगामी बजेटमा आवश्यक व्यवस्था गर्नुपर्छ ।
