३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

देश खोज्‍नेहरु

कोरोनाबाट अतालिएर देश खोज्दै सिमानासम्म आइपुगेका नेपालीहरूलाई देशले चिनेन । शासकहरूले चिनेनन् । घरको मूलढोकामा गजबार लाग्यो । संकटमा आश्रय नदिने घरको के काम ? संकटमा बस्‍न नपाउने गुँडको के अर्थ ?
केशव दाहाल

कोरोना ‘संकट’ यथावत् छ । मान्छेहरू लकडाउनमा छन् । त्यसैले फुर्सदमा सोच्नका लागि हामीसँग अनेक प्रश्न छन् । पत्रपत्र । यिनै प्रश्नको इन्द्रेनी क्यानभासबाट केही प्रश्न टिपेर आजलाई एउटा माला बनाऔं । प्रश्नहरूको माला ।

देश खोज्‍नेहरु

जस्तो— देश के हो ? यसको रङ, रूप र सुगन्ध कस्तो हुन्छ ? के देश शासकहरूको खल्तीमा हुन्छ ? कि हुन्छ निर्धाहरूको सपनामा ? जब मैले यी प्रश्नबारे विचार गर्न थालें, मेरो मन वायुपंखी घोडा चडेर कल्पनाको आकाशमा निस्कियो । र, त्यो वायुपंखी घोडा सुदूर अतीतको एउटा डिलमा रोकियो । झन्डै ४० वर्षपछाडि । जुन बेला म सानो केटो थिएँ । त्यो उस जमानाको कुरा हो, जति बेला स्कुलमा अनेक वादविवाद हुने गर्थे । एउटा प्रसंगमा गुरु तुलसी न्यौपानेले सोध्नुभयो, ‘देश भनेको के हो ?’ त्यो उमेरमा हाम्रा लागि देश भनेको गाउँ, गाउँबीच उभिएको वरको रूख, मन्दिर र हामी पढ्ने स्कुल थियो ।


त्यसै छेक एक दिन हाम्रो स्कुलमा नयाँ मान्छेहरू देखापरे । युवाहरू । उनीहरूसँग गिटार थियो । ती मान्छेहरूले हामीलाई चौरमा आमन्त्रण गरे र गीत सुनाउन थाले । तिनैमध्ये एउटा गीत थियो, ‘मेरो देश खोज्दै जाँदा देश मैले भेटें/जनता नै देश रैछ देश मैले देखें ।’ त्यो ‘राल्फाली’ युग थियो । गायक थिए मञ्जुल । गीतले देशको विषयमा नयाँ कुरा सिकायो । हामीले बुझ्यौं— देश भनेको माटो, रूख, स्कुल र मन्दिर मात्र होइन रहेछ । देश भनेको जनता रहेछ । मजदुर, गोठाला र खेतालाहरू रहेछन् । देश भनेको स्कुल मात्र होइन रहेछ । देश

भनेको त स्कुल पढ्ने हामी केटाकेटीहरू पनि पो रहेछौं ।


हामी हुर्किंदै गयौं । राजनीति, राज्य र समाजलाई थोरै बुझ्न थाल्यौं । त्यो बेला पञ्चायती व्यवस्था थियो । पञ्चायतले हामीलाई सिकाउन खोज्यो— देश भनेको राजा हो । देश भनेको झन्डा हो । गीत हो । भाषा हो । डाँफे, मुनाल हो । देश भनेको दरबार र त्यसको गजुर हो । त्यो बेला सरकारी मान्छेहरू भन्थे— देश हुन राजा

हुनुपर्छ । यो शाहवंशले आज्र्याको भूगोल हो । दरबारका भक्तहरू सम्झाउँथे, ‘देशमा दरबार हुन्छ, राजा हुन्छन्, जागिर हुन्छ र हुन्छ निरन्तर शासन गर्ने अविच्छिन्न वंशवृक्ष ।’ त्यो बेलाका भारदारहरू गुनगुनाउँथे, ‘देश भनेको सरकार हो । सरकार भनेको राजा हो । यो देखिने जल, जंगल र जमिन जो छन्, ती सबै राजाका हुन् । तिमी स्वयं पनि राजाकै अमानत हौ ।’ पञ्चायतले यस्तै कथ्यहरू स्थापित गर्दै ३० वर्ष शासन गर्‍यो । तर ती सब भन्ने कुरा मात्र थिए । वस्तुत: पञ्चहरूका लागि देश फगत सत्ता थियो । भोगविलास थियो । मान, पदवी र पुरस्कार थियो । उनीहरू देशको नाममा कसैलाई कोर्रा लगाउँथे, कसैलाई माला । उनीहरू स्वयं कानुन लेख्थे र त्यसलाई मेट्थे । देश थियो, उनीहरू थिए र थियो उनीहरूको चञ्चलाश्री । पञ्चहरूका लागि देश फगत ख्वामितको पाउको धूलो थियो ।


२०४६ सालसँगै समय फेरियो । प्रजातन्त्र आयो । लोकतन्त्र आयो । गणतन्त्र आयो । पार्टीहरू खुले । संविधान बन्यो । नयाँ मान्छेहरू नेता बने । गीतहरू फेरिए । दरबारहरू फेरिए । त्यसपछि देशको अर्थ र परिभाषा पनि फेरिँदै गयो । नयाँ मान्छेहरूले सुरुसुरुमा भने, ‘देश भनेको जनता हो ।’ को जनता ? बिस्तारै कसैले सोध्यो । सिंहदरबारमा बसेर उनीहरूले स्पष्ट पारे, ‘त्यही जो भोट खसाउँछ ।’ सुरुसुरुमा उनीहरूले भने, ‘देश भनेको भूगोल हो ।’ कुन भूगोल ? समयसँगै त्यसलाई पनि थप स्पष्ट गरियो— त्यही, जहाँ निर्वाचन क्षेत्र छ । फेरि कसैले भन्यो,

‘देश भनेको पार्टी हो ।’ कुन पार्टी ? त्यही, जो सरकारमा बस्छ । त्यसपछि शनै:शनै: पहिलेजस्तै दरबारको गजुरमा अहंकारको झन्डा फहराउन थाल्यो । नयाँ शासकहरू भन्दै गए, ‘देश भनेको संविधान हो ।’ कुन संविधान ? त्यही, जसलाई लेख्न र मेट्न उनीहरू स्वतन्त्र छन् । देश भनेको प्रदेश हो । कुन प्रदेश ? त्यही, जसको सिमाना

फेर्न र नयाँ सिमानाहरू कोर्न उनीहरू स्वतन्त्र छन् । यसरी नै उनीहरू जनप्रतिनिधि बने । यसरी नै उनीहरू गद्दीनसीन भए । त्यसपछि के भयो ? नयाँ शासकहरूका लागि देश जंगल भयो, रूखहरू काटिए । देश खानी भयो, खजाना निकालियो । देश नदी भयो, बेचियो । र, अन्त्यमा शासकको छायाले भन्यो, ‘देश भनेको स्वयं म हुँ ।’


यो त शासकहरूको कुरा भयो । जनताका लागि देश के हो ? जनताका लागि देश संविधान, कानुन, नागरिकता, सिमाना र झन्डा मात्र हो ? होइन । जनताका लागि देश राजधानी, त्यसबीच ठडिएको दरबार र त्यसको गजुर हो ? होइन । जनताका लागि देश भनेको सरकार हो ? होइन । जनताका लागि देश निर्वाचन क्षेत्र मात्र हो ? हुँदै होइन । त्यसो भए जनताका लागि के हो त देश ? जनताका लागि देश चार सिमानाभित्रको माटो मात्र होइन । योसँगै जोडिने भावना, प्रेम, ऊर्जा र सपनाहरूको बगैंचा हो । जनताका लागि देश आशा हो । सामथ्र्य हो । जनताका लागि देश खेतमा झरेको पसिनाको बियाड हो । आन्दोलनहरूमा सडकमा पोखिएको रगत हो । आफ्ना सपनाहरूको कविता हो । जस्तो, एउटा शिशुका लागि आमाको काख । जस्तो, भर्खर हिँड्दै गरेको एउटा बालकका लागि पिताजीको हात । एउटा यात्रीका लागि देश बाटो हो, जसमाथि ऊ आफ्ना पैतालाका डोबहरू छोड्छ र गन्तव्यतिर बढ्छ । देश भनेको ‘गुँड’ हो, जसले आड दिन्छ । देश भनेको आकासको चन्द्रमा हो, जसले अँध्यारोमा उज्यालो दिन्छ । मैले यहाँ यसकारण भावनात्मक कुरा धेरै गरेको हुँ, किनकि देश धेरै भावनात्मक र थोरै भौगोलिक कुरा हो । देशको परिभाषा सूत्रमा लेखिँदैन, यो भावनामै लेखिन्छ । देश गणित होइन । यो करोडौं मान्छेको मनको कविता हो ।


प्रश्नहरू अझै छन् । जस्तो, आफ्नो देशमा भातको जोहो गर्न नसकेर दशगजापारि दरबान बस्ने अभागीका लागि के हो देश ? चक्रवातमा ओत खोज्दै आफ्नै माटोमा फर्किन चाहाने युवाहरूका लागि के हो देश ? देश खोज्दै सिमानामा आइपुगेको कुनै दु:खीलाई जब प्रहरीले बाटो छेक्छ, उसका लागि के हो देश ? यी प्रश्नमा भावनात्मक आवेग मात्र नदेख्नुहोला । यसभित्र निहित यथार्थको कुरूप चित्र नियाल्नुहोला । त्यो चित्र हेर्न तपाईंं पुग्नुपर्छ मेची र कालीका गडतीरतिर । अथवा, यी प्रश्नको अर्थ खोज्न तपाईंले नियाल्नुपर्छ दशगजाका बन्जर सीमारेखाहरू, जहाँ कोरोनाले अतालिएका नेपालीहरू देश खोज्दै भौंतारिइरहेका छन् । र, उनीहरूका लागि आफ्नै देशको ढोका बन्द छ ।


निश्चय नै, कोरोनाको संकट सर्वत्र छ । कति बेलाको थला पर्छ र लड्छ, थाहा छैन । जब त्रासले घेर्छ, स्वभावत: मान्छेले सहारा खोज्छ । आपत्मा परेको मान्छेका लागि सबैभन्दा ठूलो सहारा के हो ? देश हो । सरकार हो । स्वभावत: प्रियजनहरूको काख हो । तर के भयो ? कोरोनाबाट अतालिएर देश खोज्दै सिमानासम्म आइपुगेका

नेपालीहरूलाई देशले चिनेन । शासकहरूले चिनेनन् । घरको मूलढोकामा गजबार लाग्यो र घरको सन्तान आफ्नै आँगनमा बेदखल भयो । प्रश्न उठ्छ, संकटमा आश्रय नदिने घरको के काम ? संकटमा बस्न नपाउने गुँडको के अर्थ ? भर्खरै महामहिम राष्ट्रपतिले भन्नुभयो, ‘भावनात्मक कुरा मात्र नगरौं ।’ निश्चय नै, त्यसैले विषयलाई राजनीतिक प्रश्नबाटै हेरौं । त्यसैले विषयलाई संवैधानिक आँखाबाटै हेरौं । एउटा सार्वभौम नागरिकलाई देश छिर्न किन रोकियो ? शासकहरू स्पष्टीकरण दिन्छन्, ‘संकटमा सावधानी आवश्यक थियो ।’ आफ्नै सन्तानलाई पाखामा

राखेर अपनाउने कस्तो सावधानी ? सावधानीका नाममा नागरिकको सार्वभौम अधिकार कुण्ठित गर्न पाइन्छ ? जब मान्छेका आँखाबाट आँसुका थोपाहरू झर्छन्, ती थोपाहरू अडिन देश चाहिन्छ । जब मान्छे थकानले जर्जर हुन्छ र खुट्टाहरू काम्न थाल्छन्, तब बिसाउन देश चाहिन्छ । जब सहारा सकिन्छ र मान्छे एक्लो हुन्छ, तब समाउन देश चाहिन्छ । साधारण अवस्थामा त उड्न अनन्त आकाश छँदै छ । भयंकर आँधीमा न मान्छेलाई ओत चाहिन्छ ।


देश भनेको सत्ता होइन । देश भनेको जनताको अविच्छिन्न स्वामित्वसहितको माटो हो । राष्ट्रिय गीत, नाम, नागरिकता र झन्डा मात्र देश हैन । शासकहरूले कोर्ने कुनै भूगोलको चित्र, कविता र कथाहरूको तस्बिर मात्र देश होइन । देश भनेको नागरिक अधिकारको सर्वोच्च अभिव्यक्ति हो । शासकहरूले खोस्न नसक्ने त्यो अधिकार २०७६ साल चैतमा कालीपारि किन खोसियो ? मेचीपारि किन खोसियो ? यसको जवाफ एक दिन कसैले पक्कै खोज्नेछ । आशा गरौं, त्यो दिन मात्र देशको परिभाषा पूर्ण हुनेछ ।

प्रकाशित : चैत्र २४, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?