छिनछिनमा विद्युत् कटौतीले उपभोक्ता हैरान

पूर्वदेखि पश्चिम तराईका ग्रामीण क्षेत्रदेखि सहर तथा औद्योगिक क्षेत्रमा झ्याप–झ्याप विद्युत् काटिने समस्याले किसानदेखि उद्योगीसम्मलाई हैरानी भएको छ ।

असार २८, २०८३

कमल पन्थी, शंकर आचार्य, पर्वत पोर्तेल, दीपेन्द्र बडुवाल, भवानी भट्ट, रुपा गहतराज

नेपालगन्ज, भैरहवा, पर्सा, विराटनगर, कञ्चनपुर र बर्दिया — मुलुकमा लोडसेडिङको तालिका नभए पनि छिनछिनमा गइरहने विद्युतले उपभोक्ता मारमा छन् । पूर्वदेखि पश्चिम तराईका ग्रामीण क्षेत्रदेखि सहर तथा औद्योगिक क्षेत्रमा झ्याप–झ्याप विद्युत काटिने समस्याले किसानदेखि उद्योगीसम्मलाई मर्का परिरहेको छ ।

चर्को गर्मीमा पटकपटक विद्युत काटिँदा पंखाको भरमा दिनरात कटाउने सर्वसाधरण धेरै पीडित छन् । औद्योगिक क्षेत्रमा जेनेरेटेर चलाएर उत्पादन गर्नुपर्दा लागत बृद्धि भइरहेको र सहरी क्षेत्रमा विद्युतीय उपकरणको आयु घटिरहेको स्थानीयको गुनासो छ ।  

अत्यधिक गर्मीका कारण बाँकेको जनजीवन प्रभावित छ । यस्तो बेला विद्युत सेवा अनियमित हुन थालेपछि स्थानीयले कष्ट खप्नु परेको छ । लामो समयदेखिको अनियमित विद्युत आपूर्ति र न्यून भोल्टेज (लो भोल्टेज) को समस्याले सर्वसाधरणसँगै उद्योग–व्यवसाय, शिक्षा क्षेत्र प्रभावित भएको छ । पटक–पटक विद्युत अवरुद्ध हुँदा उद्योग सञ्चालनमा कठिनाइ छ । विद्यार्थीको अध्ययन, घरायसी कामकाज तथा स्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेको छ ।

विना सूचना पटकपटक विद्युत आउने–जाने क्रम बढेकाले जिल्लामा सर्वसाधारण, व्यवसायी तथा उद्योगी समस्यामा परेको नागरिक अगुवा नमस्कार शाहले बताए । ‘वर्षौंअघि लोडसेडिङ अन्त्य भएको घोषणा गरिए पनि अहिले छिनछिनमा विद्युत जानेआउने हुँदा बिपन्न्न आर्थिक अवस्था कमजोर भएका परिवार समस्यामा छन्,’ उनले भने, ‘इर्न्भटर र जेनेटर राख्नेलाई त समस्या नहोला, अरुको बेहाल छ । रातभरि बत्ती कुरेर बस्नुबाहेक बिकल्प छैन ।’

नेपालगन्जका उपभोक्ता अधिकारकर्मी बसन्त गौतमले विद्युत आपूर्ति अनियमित हुँदा इन्टरनेट सेवा अवरुद्ध हुने, खानेपानी वितरण प्रभावित हुने तथा साना उद्योग व्यवसायको उत्पादन र कारोबारमा असर परिरहेको बताए । बारम्बारको ट्रिपिङ र भोल्टेज उतारचढावले विद्युतीय उपकरण बिग्रिने जोखिम बढेकाले सम्बन्धित निकायको उनले ध्यानाकर्षण गराएका छन् । केहि दिनअघि मात्र यस्तो समस्यालाई लिएर नागरिक समाजका अगुवाको एक टोलीले विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रलाई भेटेर समस्या अवगत गराएका थिए । तर, त्यसपछि पनि अवस्थामा परिवर्तन आएको छैन । 

केन्द्रका प्रमुख सञ्जयकुमार मिश्र बाँकेमा कुनै पनि प्रकारको लोडसेडिङ नभएको दाबी गर्छन् । प्राविधिक समस्या, मर्मत सम्भार तथा प्रणाली स्तरोन्नतिलगायत कामले केन्द्रबाटै सिस्टम र सर्किट फेल हुने हुँदा विद्युत नियमित हुन नसकेको उनले बताए । ‘अहिले म आफैं रातदिन नभनी फल्ट भएको वा सम्भावित फल्ट हुने स्थानमा पुगेर अन्यप्राविधिकसँगै नियमित काम गरिरहेको छु,’ उनले भने,‘यस वर्ष केही समस्या भए पनि अर्को वर्ष अहिलेका समस्या नदोहोरिने गरी वितरण केन्द्रले विशेष योजनाका साथ काम गरिरहेको छ ।’ 

केही दिनअघि नेपालगन्ज आएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले पश्चिम नेपालका बाँके, बर्दिया, रोल्पा, दाङ, प्युठानलगायत जिल्लाको विद्युत आपूर्ति, वितरण र देखिएका समस्याबारे जानकारी लिनुका साथै सम्बन्धित निकायलाई समस्या समाधानका लागि निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षमै वितरण प्रणालीको स्तरोन्नति तथा सुदृढीकरणका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । वितरण प्रणालीमा लामो समयदेखि अपेक्षित स्तरोन्नति हुन नसक्दा संरचनागत तथा प्राविधिक समस्या बढ्दै गएको उल्लेख गर्दै उनले सातौं विद्युतीकरण आयोजना अन्तर्गत सन् १९९० पछि वितरण सञ्जालमा उल्लेखनीय सुधार हुन नसकेको सुनाएका थिए ।

रुपन्देहीको भैरहवालगायत ग्रामीण क्षेत्रका बासिन्दा पनि विद्युत अनियमित हुँदा चर्को मारमा परेका छन् । मुलुक लोडसेडिङ मुक्त भएपनि यहाँका बासिन्दा वर्षौंदेखि यस्तो झेल्दै आएका छन् । अहिले लोडसेडिङ तालिका जारी नभए पनि विद्युत कटौतीले भैरहवा र आसपासका बासिन्दाका साथै उद्योगी–व्यवसायी मारमा छन् । छिनछिनमा विद्युत कटौती हुँदा घरायसी उपकरण र उद्योगका मेसिनरी सामान बिग्रिन थालेको उनीहरुको गुनासो छ । अनियमित बिजुलीको मारमा परेपछि रुपन्देहीका बासिन्दाले प्राधिकरण र सरकारको आलोचना गरिरहेका छन् ।

रुपन्देहीमा प्रायःजसो भोल्टेज कम हुने, पटकपटक लाइन जाने तथा पूर्वसूचना बिना विद्युत अवरुद्ध हुने समस्या छ । गर्मीका कारण एसी, पंखा, कुलर र फ्रिज जस्ता उपकरणको उपयोग बढ्दो छ । तर, विद्युत समस्याले यी उपकरण बिग्रिएर सर्वसाधरण हैरान छन् । विद्युत आपूर्तिमा देखिएको समस्याले सर्वसाधरण र उद्योगी व्यवसायी मात्र होइन, बालबालिका समेत प्रभावित छन् । ‘चर्को गर्मी छ, लाइन कति बेला जान्छ, कुनै ठेगान हुँदैन,’ भैरहवाको हेभेन्ली गार्डेन किड्स क्याम्पसकी प्रिन्सिपल रचना क्षेत्रीले भनिन्,‘गर्मीले विद्यार्थी आत्तिन्छन् ।’ छिनछिनमा लाइन जाने समस्याले बालबालिकालाई कक्षा कोठामा राख्न सक्ने अवस्था नहुने बताइन् । 

उपभोक्ताले विद्युत प्राधिकरणले विद्युत आपूर्तिमा समस्या भए त्यसबारे स्पष्ट जानकारी दिनुपर्ने माग गरेका छन् । लोडसेडिङ छैन भने पनि रातदिन धेरै पटक लाइन जाने गरेको छ । विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको तर कहिलेकाहीँ प्राविधिक समस्या हुने गरेको बताए । ‘गर्मीमा विद्युत धेरै खपत हुँदा कहिले हाम्रै तार चुडिन्छन्, कहिले ग्राहकले आगलागी भयो भन्नुहुन्छ’, उनले भने, ‘कहिलेकाहीँ सिस्टममा समस्या आउँछ र पुनः संचालन गर्न आधा–एक घण्टा लाग्ने गर्छ । तर, प्राविधिक समस्यालाई अन्य अर्थ लगाएर लोडसेडिङ भयो भन्ने गरिएको छ ।’

विद्युत आपूर्तीमा वारम्बार हुने अवरोध र कम भोल्टेजका कारण हजारौं घरपरिवार समस्यामा परेपछि रुपन्देहीको मर्चवार क्षेत्रका बासिन्दाले एक साताअघि ज्ञापनपत्र बुझाएर प्राधिकरणको ध्यानाकर्षण गराएका थिए । विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रमा आएर विद्युत प्रशारणको वास्तविक समस्याबारे अवगत गराउँदै नियमित आपूर्ती र गुणस्तरीय विद्युतको माग गरेका हुन् । मर्चवार क्षेत्रमा लामो समयदेखि कम भोल्टेज तथा नियमित विद्युतका कारण मर्चवार क्षेत्रमा घरायसी विद्युतीय उपकरण प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको र कृषि तथा दैनिक जनजीवनमा समेत समस्या आएको छ । स्थानीय मदनकुमार यादवका अनुसार विशेषगरी साँझ र बिहानको समयमा भोल्टेज अत्यन्त कम हुँदा मोटर, पम्पसेट, फ्रिज, एसी, कम्प्युटरलगायतका विद्युतीय उपकरण सञ्चालनमा कठिनाइ हुने गरेको बताए ।

गर्मीमा पंखाको भरमा दिनरात कटाइरहेका वीरगन्ज र आसपासका बासिन्दा बारम्बार भइरहेको विद्युत ट्रिपिङका कारण हैरान भएका छन् । स्थानीयका अनुसार रातिमा पटक–पटक विद्युत अवरुद्ध हुँदा निन्द्रा बिथोलिएको छ । यसबाट मध्यम तथा निम्न आय भएका परिवार सबैभन्दा बढी प्रभावित बनेका छन् । बिजुली अनियमित हुँदा उद्योगी–व्यवसायीलाई आर्थिक भार थपिएको छ । एक सातायता विद्युत जाने क्रम बढेपछि स्थानीयले विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रमा पुगेर घेराउ समेत गर्न थालेका छन् । स्थानीयको दबाबका बाबजुद विद्युत सेवा गुणस्तरमा अपेक्षित सुधार आउन सकेको छैन । वीरगन्ज–घडिअर्वाका मुन्ना सर्राफले रातिको समयमा अत्यधिक ट्रिपिङ हुने गरेकाले सर्वसाधारण सास्ती सहन बाध्य भएको बताए । ‘घरमा इन्भर्टर राख्ने वा एसी चलाउने क्षमता भएकालाई त्यति समस्या नहोला’, उनले भने, ‘तर यी दुवै सुविधा लिन नसक्ने मध्यमवर्गीय परिवारले गर्मी र अन्धकार दुवै सहनुपरेको छ ।’

हरपतगन्जका दामोदरप्रसाद यादवले ग्रामीण क्षेत्रमा इन्भर्टर र एसी प्रयोग गर्नेको संख्या कम भए पनि सहरी क्षेत्रमा हुने विद्युत समस्याको असर गाउँसम्म पुग्ने गरेको बताए । ‘हामीलाई सहरजस्तो धेरै विद्युत चाहिएको होइन, नियमित आपूर्ति मात्रै भए पुग्छ,’ उनले भने, ‘त्यो पनि सहज रूपमा नपाउँदा निकै सास्ती भएको छ ।’ उनका अनुसार रातिको समयमा तीनदेखि चार पटकसम्म विद्युत ट्रिप हुने गरेको छ ।

वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले पछिल्लो समय जगदम्बा स्टिललगायत औद्योगिक क्षेत्र आसपासमा पनि ट्रिपिङको समस्या बढेको बताए । उनका अनुसार उद्योगमा विगतदेखि विद्युत अवरोधको समस्या रहे पनि पछिल्लो समय घरेलु उपभोक्ता अझ बढी प्रभावित भएका छन् ।

प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर विजय महतोले गर्मी बढेसँगै वितरण प्रणालीमा अत्यधिक भार परेकाले ट्रिपिङ बढेको बताए । पछिल्लो समय घर–घरमा एसी जडान गर्ने क्रम बढेकाले ट्रान्सफर्मरमाथि क्षमताभन्दा बढी भार परेको उनको भनाइ छ । ‘एउटा ट्रान्सफर्मरले सीमित संख्यामा मात्रै एसीको भार थेग्न सक्छ,’ उनले भने, ‘धेरै ठाउँमा क्षमताभन्दा बढी लोड हुँदा ट्रान्सफर्मरको तीन फेजमध्ये एउटा फेज निष्क्रिय हुन्छ र एमसीबी ट्रिप हुन्छ ।’ 

महतोका अनुसार वीरगन्जमा उच्च जनघनत्व, अव्यवस्थित सहरीकरण तथा पुराना विद्युत संरचनाका कारण मर्मत–सम्भार र संरचना विस्तार गर्न कठिनाइ भइरहेको छ । विद्युत उत्पादन वा आपूर्तिमा अभाव नरहे पनि वितरण प्रणालीमा बढ्दो भार, मर्मतका क्रममा स्थानीयबाट हुने अवरोध तथा संरचना विस्तारमा आउने समस्याका कारण सेवा प्रभावित भएको उनले बताए । 

लोडसेडिङ अन्त्य भए पनि सुनसरी–मोरङ औद्योगिक करिडोर र कोशी प्रदेशका सर्वसाधारण भने पछिल्ला केही समययता बारम्बार विद्युत ‘ट्रिपिङ’ कारण आजित बन्दै आएका छन् । दैनिक १०–१२ पटकसम्म विद्युत जाने–आउने समस्याले उद्योग मात्र होइन, घरायसी कामकाज, कार्यालय, व्यवसाय र विद्यार्थीको अध्ययन समेत प्रभावित भएको गुनासो बढ्दै गएको छ ।

अचानक विद्युत अवरुद्ध हुने र फेरि आउने क्रम दोहोरिँदा विद्युतीय उपकरण बिग्रिने जोखिम बढेको उपभोक्ता बताउँछन् । ‘झयाप्प बत्ती जाने अनि फेरि आउने क्रम दोहोरिरहेको छ’, मेचीनगर–६ का शंकर सापकोटा भन्छन्,‘बिजुली आउँदै जाँदै गर्दा सास्ती त पाइएकै छ बिल समेत बढेर आउने गरेको छ ।’

उद्योग संगठन मोरङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक तथा प्राधिकरणको कोशी प्रदेश कार्यालयलाई पत्राचार गरिसकेको छ । तर, त्यसको समाधान अझै भइनसकेको संगठनका अध्यक्ष नन्दकिशोर राठीले जनाए । उनका अनुसार औद्योगिक क्षेत्रमा दैनिक १० देखि १२ पटक भन्दा बढी विद्युत ट्रिपिङ भइरहेको छ । सँगै भोल्टेजको फ्ल्क्चुएसन समेत भइरहेको छ । बारम्बारको अवरोधले उत्पादन प्रक्रिया अव्यवस्थित बन्नुका साथै उद्योग सञ्चालन नै प्रभावित भएको उनले बताए । ‘ट्रिपिङका कारण मिल तथा मेसिनरीमा क्षति पुग्ने, उत्पादनका क्रममा रहेका कच्चा पदार्थ नष्ट हुने र उत्पादन रोकिँदा श्रमिक निष्क्रिय बस्नुपर्ने अवस्था सिर्जना भएको छ,’ उनले थपे, ‘यसबाट उद्योगले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ ।’ 

विद्युत आपूर्ति अविश्वसनीय बनेपछि जेनेरेटर बालेर उद्योग चलाउन बाध्य छन् । तर, इन्धनको बढ्दो मूल्यले उत्पादन लागत उल्लेख्य रूपमा बढाएको उद्योगीको भनाइ छ । यसले स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमतामा असर पारिरहेको उनीहरूको भनाई छ । बारम्बार ट्रिपिङ र भोल्टेजमा उतार चढावले सर्वसाधारणले प्रयोग गर्ने टेलिभिजन, फ्रिज, कम्प्युटर, इन्टरनेट उपकरणलगायत विद्युतीय सामग्रीमा पनि असर परिरहेको छ।

विद्यार्थीको अध्ययन, कार्यालयको नियमित कामकाज, साना व्यवसाय र घरायसी दैनिकी प्रभावित बनेको संगठनले उल्लेख गरेको छ । संगठनले विद्युत आपूर्ति प्रणालीलाई भरपर्दो, नियमित र गुणस्तरीय बनाउन आवश्यक प्राविधिक तथा व्यवस्थापकीय सुधार गरी दीर्घकालीन समाधान खोज्न नेपाल विद्युत प्राधिकरणसँग आग्रह गरेको छ ।

सास्तीमा किसान 
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनाका नरेन्द्र जोशी विद्युतबाटै सिँचाइ गर्छन् । उनले मोटरबाट चल्ने बोरिङ जडान गरेका छन् । अहिले गर्मीका बेला पटकपटक विद्युत लाइन काटिने तथा कम भोल्टेजका कारण उनलाई सिँचाइमा समस्या भइरहेको छ । यहाँ दिनमा र रातिको समयमा समेत बेलाबेला लाइन काटिने समस्या छ । ‘दिनमा विद्युत लाइन पटक पटक काटिन्छ, भोल्टेज पनि कम हुन्छ, त्यही भएर राति सिँचाइ गर्नुपर्छ,’ उनले भने, ‘यस्तो गर्मीमा पटक पटक लाइन काटिँदा सिँचाइमा मात्रै होइन घरभित्र बस्न समेत गाह्रो हुन्छ ।’

केही दिनयता नियमित रुपमा विद्युत काटिने भइरहेको छ । पूर्वसूचना विना लाइन काटिने समस्याले खेतीपातीदेखि उद्योग धन्दा र सर्वसाधारणलाई नै सास्ती भइरहेको छ । गर्मीका बेला हुने यस्तो समस्याले हैरान नै बनाएको महेन्द्रनगरका स्थानीय राकेश जोशी बताउँछन् । ‘एकै रातमा १०/१२ पटक विद्युत अवरुद्ध हुन्छ, तर यसबारे केही जानकारी पाइदैन,’ जोशीले भने, ‘विद्युत कार्यालयले कुनै सूचना समेत दिँदैन, जानकारी माग्न खोज्दा फोन समेत उठ्दैन ।’ उनका अनुसार प्राधिकरणको फ्युज सेवाको फोन प्रायः व्यस्त हुने गरेको छ । 

विद्युत प्राधिकरणको महेन्द्रनगर वितरण केन्द्रका प्रमुख सन्तोष श्रेष्ठले बर्खामा रुख ढलेर र गर्मीमा ओभर लोडिङका कारण समस्या हुने गरेको बताए । उनले भने, ‘सिँचाइमा बिजुलीको बढी प्रयोग हुने समयमा लोड धान्न नसकेर यस्तो समस्या बढी हुन्छ ।’ उनका अनुसार विद्युतको प्रयोग वर्षेनी बढ्दै गएको र त्यही गतिमा विद्युत लोड बढाउन नसकिएकाले समस्या हुने गरेको छ । 

बर्दियाको गुलरिया–१० का जशवन्त लोधले खेतमा सिँचाइका लागि मोटर जडान गरेको साता बित्यो । पर्याप्त पानी नपरेकाले उनले मोटर जडान गरेर जमिनमूनिको पानी तारेर सिँचाइ गर्ने सोच बनाएका थिए । तर, कम भोल्टेजका कारण मोटरले पानी तान्न नसकेको उनले बताए । ‘पटक पटक यसबारे विद्युतलाई जानकारी गराए पनि समस्या समाधान भएको छैन,’ उनले भने,‘चर्को गर्मीमा पंखा पनि चल्दैन, बत्ती पनि नियमित छैन ।’

बारबर्दिया–४ पदनाहाका फुलपाति चौधरीले बेलाबेलामा विद्युत आउने–जाने गर्दा विद्युतीय उपकरण बिग्रिने र घरेलु उद्योग प्रभावित भएको बताए । सामान्य हावाहुरी र पानी परेपछि विद्युत सेवा ठप्प हुने गरेको उनले गुनासो पोखे । दिनरात दर्जनौं पटक बिजुली आउनेजाने गर्छ । विद्युत प्राधिकरणका प्रमुख शेरबहादुर सुनारले ट्रान्सफर्मर समस्याले कम भोल्टेजको समस्या भएको बताए । ‘जीर्ण संरचनाले समस्या छ,’ उनले भने ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

दीपेन्द्र

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully