बारम्बारको ‘ट्रिपिङ’ र ‘फल्क्चुएसन’का कारण उद्योगीहरुले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परिरहेको गुनासो गरेका छन् ।
What you should know
विराटनगर — मुलुकको प्रमुख औद्योगिक केन्द्र सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगले अस्थिर विद्युत आपूर्ति (ट्रिपिङ) समस्याले आजित भएको गुनासो गरेका छन् ।
सुनसरी–मोरङ औद्योगिक करिडोर तथा विराटनगर महानगर क्षेत्रभित्र केही दिनयता दैनिक रूपमा भइरहेको विद्युत ‘ट्रिपिङ’ र ‘फल्क्चुएसन’का कारण उद्योग सञ्चालन प्रभावित भएको भन्दै उद्योग संगठन मोरङले नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको हो ।
संगठनले बिहीबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक तथा कोशी प्रदेश प्रादेशिक कार्यालयका निर्देशकलाई पत्र पठाएर समस्या समाधानको माग गरेको हो ।
संगठनका अध्यक्ष नन्दकिशोर राठीका अनुसार औद्योगिक क्षेत्रमा दैनिक १० देखि १२ पटकभन्दा बढी विद्युत ट्रिपिङ भइरहेको छ । बारम्बारको विद्युत अवरोधले उद्योग सञ्चालनमा प्रत्यक्ष असर पार्नुका साथै उत्पादन प्रक्रियालाई नै अव्यवस्थित बनाएको उनले बताए ।
उनका अनुसार ट्रिपिङका कारण उद्योगका मिल तथा मेसिनरीमा क्षति पुग्ने, उत्पादनका क्रममा रहेका कच्चा पदार्थ नष्ट हुने र उत्पादन कार्य रोकिँदा श्रमिकहरू समेत निष्क्रिय बस्नुपर्ने अवस्था सिर्जना भएको छ । ‘यसबाट उद्योगहरूले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परिरहेको छ’, राठीले भने ।
विद्युत आपूर्ति अविश्वसनीय बन्दा उद्योगहरू वैकल्पिक रूपमा डिजेलबाट चल्ने जेनेरेटर प्रयोग गर्न बाध्य भएका छन् । तर, इन्धनको बढ्दो मूल्यका कारण यसले उत्पादन लागत उल्लेख्य रूपमा बढाइरहेको उद्योगीहरूको गुनासो छ । उत्पादन लागत बढ्दा स्वदेशी उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमतामा समेत प्रतिकूल असर पर्ने उनीहरूको भनाइ छ ।
संगठनले समस्या उद्योग क्षेत्रमा मात्र सीमित नभएको जनाएको छ । बारम्बारको ट्रिपिङ तथा फल्क्चुएसनले सर्वसाधारणले प्रयोग गर्ने विद्युतीय उपकरणमा समेत असर पुर्याएको, विद्यार्थीको अध्ययन, कार्यालयको कामकाज तथा घरायसी गतिविधि प्रभावित भएको संगठनले उल्लेख गरेको छ ।
उद्योग संगठन मोरङले विद्युत आपूर्ति प्रणालीलाई भरपर्दो, नियमित र गुणस्तरीय बनाउन आवश्यक प्राविधिक तथा व्यवस्थापकीय सुधार गरी दीर्घकालीन समाधान खोज्न प्राधिकरणसँग आग्रह गरेको छ ।
देशको औद्योगिक उत्पादनको महत्वपूर्ण हिस्सा ओगट्ने सुनसरी–मोरङ करिडोरमा विद्युत आपूर्ति नै अस्थिर बनेपछि उद्योगीहरूले उत्पादन, लगानी र प्रतिस्पर्धात्मक क्षमतामाथि गम्भीर प्रश्न उठेको छ । समस्या तत्काल समाधान नभए उद्योग क्षेत्रले थप आर्थिक भार व्यहोर्नुपर्ने चेतावनी उद्योगीहरुको छ ।
