सन् २०२५ मा साढे ११ लाख पर्यटकले गरे नेपाल भ्रमण

आर्थिक सर्वेक्षणअनुसार सन् २०२५ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ लाख ६२ हजार पुगेको छ ।

जेष्ठ १३, २०८३

कान्तिपुर संवाददाता

1.15 million tourists visited Nepal in 2025

काठमाडौं — अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्‌मा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले समग्र आर्थिक सूचकमा सुधार देखिएको उल्लेख गर्दै विशेषगरी पर्यटन क्षेत्र उत्साहजनक पुनरुत्थान भएको उल्लेख छ ।

आर्थिक सर्वेक्षणअनुसार सन् २०२५ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ लाख ६२ हजार पुगेको छ । कोरोना महामारीपछिको सुस्त अवस्थाबाट पर्यटन क्षेत्र क्रमशः लयमा फर्किएको सरकारको दाबी छ ।

सर्वेक्षणमा पर्यटकको औसत बसाइ अवधि पनि बढेर १६.३४ दिन पुगेको उल्लेख छ । यस्तै, नेपाल बसाइका क्रममा एक पर्यटकले प्रतिदिन औसत ३३.०८ अमेरिकी डलर खर्च गर्ने गरेको तथ्यांक सार्वजनिक गरिएको छ ।

नागरिक उड्डयन तथा हवाई पूर्वाधारतर्फ पनि प्रगति देखिएको सर्वेक्षणमा उल्लेख छ । हाल देशभर ३५ वटा विमानस्थल सञ्चालनमा रहेका छन् । नेपालमा हवाई सेवा प्रदान गर्न ३२ वटा अन्तर्राष्ट्रिय तथा २० वटा आन्तरिक वायुसेवा कम्पनी सक्रिय रहेको जानकारी दिइएको छ ।

अर्थमन्त्री वाग्लेले पर्यटन र हवाई पूर्वाधार क्षेत्रमा देखिएको सुधारले मुलुकको आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कान्तिपुर

Link copied successfully