अत्यधिक गर्मी र ‘लु’ बाट बच्न चिकित्सकहरूले बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सुझाव दिएका छन् ।
What you should know
(पर्सा), (परासी), (भैरहवा), (नेपालगन्ज) र (कैलाली) — मधेश र पश्चिम तराईमा गर्मीको पारो एक्कासि उकालो लागेको छ । तातो हावा चल्न थालेपछि सर्वसाधारणको हिँडडुल पातलो भएको छ । बिहान १० बजेपछि नै घाम चर्किने भएकाले बजारका साथै ग्रामीण क्षेत्रसमेत सुनसान बन्ने गरेका छन् । मंगलबारदेखि एक्कासि बढेको गर्मीका कारण मधेशका राजविराज, वीरगन्जदेखि पश्चिम तथा सुदूरपश्चिम तराईका भैरहवादेखि नेपालगन्ज, धनगढीसम्मको जनजीवन प्रभावित भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार सप्तरीको राजविराजको तापक्रम ३६.१ डिग्री सेल्सियस पुगेको छ । यहाँ मंगलबारको अधिकतम तापक्रम ३८.२ डिग्री सेल्सियस थियो । वीरगन्ज–रानीघाटस्थित कृषि औजार अनुसन्धान केन्द्रको मापनअनुसार मंगलबार न्यूनतम तापक्रम २७ र अधिकतम ३९.९ डिग्री सेल्सियस पुगेको थियो । बुधबार न्यूनतम तापक्रम २२.५ रहे पनि अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ ।
उच्च तापक्रमसँगै चलेको तातो हावाले पश्चिम नवलपरासीको जनजीवन पनि प्रभावित भएको छ । केही दिनदेखि घामको ताप र जमिनको रापले अत्याएको रामग्रामका राजेन्द्र चौधरीले बताए । उनले भने, ‘केही दिनअघिसम्म बाहिरी काम गर्न सकिन्थ्यो । अहिले त धुप नै बलेजस्तो छ । बाहिरको काम बिहानै र बेलुकी गर्ने गरेका छौं ।’ बुधबार दिउँसो १ बजे सदरमुकाम परासीमा ३७ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । दैनिक मजदुरी गरेर खाने विपन्न परिवारलाई तातो हावा चलेका कारण काम गर्न असहज भएको छ ।
रूपन्देहीको सीमावर्ती भैरहवा बजारमा अटो रिक्सा चलाउने सन्त मलाहालाई यतिबेला गर्मीले अत्याएको छ । गर्मीकै कारण रिक्सा सडकमा निकाल्नसमेत उनलाई जाँगर छैन । केही गरी निकाले पनि गर्मीमा यात्रु भेटिँदैनन् । अरू बेला बजारका चोकचोकमा भीड लाग्ने अटो रिक्सासमेत पातलिएका छन् । सार्वजनिक गाडीसमेत कम चल्न थालेका छन् । ‘गर्मीले मानिस घर बाहिर निस्किन छाडे,’ मलाहाले भने ।
दिउँसो यात्रा गर्न सकिन्न। गर्मीले ज्यान आलस्य हुने, ओठ सुक्ने र निद्रा मात्रै लाग्छ ।- भीम भण्डारी,भैरहवा बहुमुखी क्याम्पसका शिक्षक गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार बुधबार दिउँसो अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी थियो । सोमबारबाटै भैरहवा र आसपासका क्षेत्रमा मध्याह्नपछि तातो हावा चलिरहेको छ ।
बुधबार भैरहवाको सीमावर्ती मर्चवार क्षेत्रमा ओहोरदोहोर गर्नेहरू न्यून थिए । छिटफुट अटो रिक्सा र मोटरसाइकल चलिरहेका थिए । केही स्थानीय गम्छाले टाउको र अनुहार छोपेर साइकलमा यात्रा गरिरहेका थिए । अधिकांश सर्वसाधारण सडक र घर आसपास रूखको छहारीमा बसिरहेका थिए । बजार सुनसान थियो । रूपन्देहीका मर्चवारी र कोटहीमाईका बाँझो खेतमा बस्तुभाउ चराउने कोही थिएनन् । गर्मीकै कारण बिहान र बेलुका मात्र खेतबारीमा बस्तुभाउ लैजाने गरेको कोटहीमाईका बच्चन यादवले बताए । ‘मान्छेलाई मात्र होइन, बस्तुभाउलाई पनि गर्मी लाग्छ,’ उनले भने ।
भैरहवा बहुमुखी क्याम्पसका शिक्षक भीम भण्डारीले तातो हावा चल्दा शरीर सुक्खा हुने र प्यास लाग्ने समस्या देखिएको बताए । ‘दिउँसो यात्रा गर्न सकिन्न,’ उनले भने, ‘गर्मीले ज्यान आलस्य हुने, ओठ सुक्ने र निद्रा मात्रै लाग्छ ।’
रूपन्देहीका अधिकांश पालिकाले १० वैशाखबाट शैक्षिक सत्र सुरु गर्दै छन् । गर्मीमा विद्यालय सञ्चालन हुने भएपछि अभिभावक चिन्तित देखिन्छन् । ‘बिहानै गर्मी सुरु हुन्छ,’ सिद्धार्थनगर–१२ का जयकेश हरिजनले भने, ‘दिउँसो घरबाहिर निस्किएर काम गर्न धौधौ हुन्छ । यस्तो गर्मीमा विद्यार्थीले कसरी पढ्न सक्छन् ?’
बाँकेको नेपालगन्जमा पनि गर्मीले जनजीवन प्रभावित भएको छ । बुधबार विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यहाँको अधिकतम तापक्रम ३९.२ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि दैनिक ज्यालादारी गर्ने, रिक्सा चालक तथा महिला व्यवसायीलाई समस्या भएको छ । चर्को घामले दिउँसो सडकमा चहलपहल कम देखिएको छ । सर्वसाधारण घरभित्रै बस्न बाध्य भएका छन् । ‘गर्मीले मान्छे घरबाहिर ननिस्कने हुँदा दिनभरि रिक्सा चलाउँदा पनि आम्दानी हुँदैन,’ नेपालगन्जका रामविलास कुमालले भने, ‘वैशाखमा पनि जेठ–असारजस्तो गर्मी छ ।’
बजार क्षेत्रमा मानिसको उपस्थिति घट्दा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुर प्रभावित भएका छन् । नेपालगन्ज–२, घरबारी टोलमा कपडा पसल सञ्चालन गर्दै आएकी क्रान्ति बर्माले गर्मीका कारण व्यापार घटेको बताइन् । ‘दिनभरि पसल खोलेर बस्दा पनि ग्राहक आउँदैनन्,’ उनले भनिन्, ‘साँझ ६ बजेपछि मात्र बजारमा ग्राहक देखिन्छन् ।’
सुदूरपश्चिमको धनगढीमा पनि गर्मी ह्वात्तै बढेको छ । मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान सार्वजनिक गरेको तथ्यांकमा धनगढीको तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म थियो । दिउँसो १२ देखि २ बजेको बीचमा धनगढीमा ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको विभागले जनाएको छ । गर्मीको सबैभन्दा ठूलो मार दैनिक ज्यालादारी गर्ने मजदुर र किसानलाई परेको छ । धनगढीको एलएन चोकमा मजदुरी गरिरहेका सोहन चौधरीले गर्मीका कारण काम गर्ने समय नै हेरफेर भएको बताए ।
पहिले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मै काम गर्ने उनी अचेल दिउँसो २ घण्टा विश्राम गर्न बाध्य छन् । तातो हावामा खुला ठाउँमा काम गर्दा निकै सास्ती हुने गरेको उनले बताए । गर्मीले विद्यार्थीलाई पनि उत्तिकै सताएको छ । धनगढीको त्रिनगरमा कक्षा ११ मा अध्ययनरत चेतना कुँवर दिउँसो २ बजेको चर्को घाममा छाता ओढेर विद्यालय जाँदै गरेको भेटिइन् । गर्मीले गर्दा स्कुल जान मन नलागे पनि परीक्षा नजिक आएकाले विद्यालय जानैपर्ने बाध्यता रहेको उनले बताइन् ।
एलएन चोकमा तीन वर्षको बच्चा काखमा राखेर मकै पोल्दै गरेकी कल्पना ओडले केही दिनयता व्यापार घटेको बताइन् । गर्मी बढ्नुअघि दैनिक एक हजार रुपैयाँसम्मको व्यापार गर्ने उनी अहिले ३–४ सय मात्र कमाइ हुने बताउँछिन् । ‘गर्मीमा तातो मकै खान मान्दैनन् । साँझतिर मात्रै छिटपुटले खान्छन्,’ उनले भनिन् ।
धनगढीको एलएन चोकमा उखुको जुस बेच्ने समीर खानका लागि भने गर्मी बढेसँगै व्यापार पनि बढेको छ । एक सातायता उनले दिनमै १०० गिलासभन्दा बढी जुस बेचिरहेका छन् । ४० रुपैयाँ गिलास जुस बेचेर उनले दैनिक ३ हजार रुपैयाँभन्दा बढी कमाउन थालेको बताए । ‘एक साताअघिसम्म खासै व्यापार थिएन । ३–४ दिनयता राम्रो कमाइ भइरहेको छ,’ समीरले भने । बजार मात्र होइन, दिउँसो धनगढीका सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति कम हुन थालेको छ ।
अत्यधिक गर्मी र ‘लु’ बाट बच्न चिकित्सकहरूले बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सुझाव दिएका छन् । धनगढीको कैलाली अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. आकाश रावतले बाहिर निस्कनै परे शरीर पूरै ढाक्न, सुतीको खुकुलो कपडा लगाउन, टाउकोमा टोपी वा छाता प्रयोग गर्न र सम्भव भएसम्म शीतल ठाउँमा बस्न सुझाव दिए ।
