भदौ २४ मा जलेर घाइते भएकी रविलक्ष्मी चित्रकारको प्रश्न : सरकारले अपराधीलाई किन पक्राउ गरेन ?

पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रश्न : मेरी श्रीमतीले चालीस वर्ष फिजिक्सको प्राध्यापक भएर के बिगारिन्  ? कुनै दलाली, अपराधी वा विदेशीका लागि केही पनि गरेकी थिइनन् भने यस्तो प्रकारको हमला किन भयो ?

चैत्र १२, २०८२

कान्तिपुर संवाददाता

Question from Ravilakshmi Chitrakar, a painter who was burned on Bhadra 24: Why didn't the government arrest the culprit?

काठमाडौँ — भदौ २४ मा काठमाडौंको डल्लुस्थित घरसँगै जलेर सख्त घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारले अपराधीलाई कारबाही गर्न माग गरेकी छन् ।

भदौ २३ र २४ घटनासम्बन्धी जाँचबुझ आयोगलाई दिएको बयानमा उनले त्यो घटनाको त्रासदी सुनाएकी छन् । ‘भदौ २४ गते घरमा ढुंगामुढा भइरहेको अवस्थामा को आयो थाहा भएन, हामी ढुंगा नलाग्ने ठाउँमा बसेका थियौँ । उनीहरू मानौँ आएकै हुनुपर्थ्यो, म कराउन नपाएर बेहोस भएँ । मेरो हात जलिहाल्यो र श्वास फेर्न नसकेर बेहोस भएँ,’ उनको भनाइ आयोगको प्रतिवेदनमा समेटिएको छ, ‘मलाई खोज्न प्रहरी भाइहरूलाई १ घण्टा जति लागेको होला । प्रत्यक्षदर्शीअनुसार, एकजना नेपाल प्रहरीका सई साब सन्तोष रुपाखेती, सरोज खड्का र सशस्त्रका विमल पन्तलगायत प्रहरीले मलाई खोजेर फेला पारे । अहिले पनि मेरो शरीर पोल्छ र आफ्नो काम आफैं गर्न सक्दिनँ । दाहिने हात राम्ररी चल्दैन ।’ 

उनले अपराधीलाई ठाउँमा ल्याउन सरकार सचेत हुनुपर्ने बताएकी छन् । ‘अपराधका नायक निर्भीक रूपमा हिडिरहँदा सरकारले किन पक्राउ गर्न सकेको छैन ?,’ उनले सोधेकी छिन् । आगोले गहिरो पोलेका कारण उनको देब्रे हात काटिएको छ । उनी अझै उपचारका क्रममा छिन् ।

त्यस घटनाबारे खनालले आफूलाई नेपाली सेनाले उद्धार गरेर लगे पनि श्रीमती घाइते भएको आयोगलाई दिएको बयानमा उल्लेख गरेका छन् । आफूलाई उद्धार गरेको ४५ मिनेटमा घर जलेको उनले बताएका छन् । ‘४५ मिनेटको अन्तरालमा मेरो घर र गाडी जलाए । मेरो परिवारजन तेस्रो तलाबाट पनि माथि गएर हारगुहार, रोइकराई गरे, तर कसैले वास्ता गर्ने कुरा भएन । यसबीच मैले मेरो छोरा निर्विकलाई फोन गर्दा “बा, हामीलाई जलाए” भनेर भन्यो र फोन बन्द भयो,’ प्रतिवेदनमा खनालको भनाइ छ, ‘मेरी श्रीमती बेहोस भइसकेकी रहिछिन् । श्वासनली तलैसम्म जलेको रहेछ । अढाई महिनासम्म उनको बोली थिएन । श्रीमती बेहोस हुँदा घोप्टो परेर भएकाले माथिल्लो भाग जलेन । मेरो म्याडमको देब्रे हात भने चौथो डिग्रीसम्म जलेको रहेछ, उनी अहिलेको कथित सरकारका लागि घाइतेसमेत भइनन् ।’

खनालले पनि अपराधीलाई कारबाही नभएकोमा आक्रोश पाखेका छन् । ‘भर्‍याङ लिएर छिमेकीको छानाबाट मेरो घरको तेस्रो तलासम्म जोडेर प्रहरी भाइहरू पसेर छोरा र १ जना प्रहरीलाई निकालेपछि पाँचौँ पटक बल्ल प्रहरीले मेरी श्रीमतीलाई लडिरहेको अवस्थामा फेला पारी बोकेर ल्याए । यहाँबाट भर्‍याङमा राखेर तानेर फेरि अर्को घरमा लगे,’ उनको भनाइ छ, ‘छिमेकीको गाडीमा अस्पताल लैजान खोज्दा पनि बचाउन नदिने जल्लादहरूलाई यो सरकारले पक्राउ गरेर कारबाही गर्नुपर्दैन? मेरो म्याडमलाई मार्न खोज्ने कारण के रहेछ ?’ 

चित्रकारले चालीस वर्ष फिजिक्सको प्राध्यापक भएर के बिगारेकी छिन् भन्दै खनालले प्रश्न गरेका छन् । ‘यो दौरानमा उनले कुनै दलाली, अपराधी वा विदेशीका लागि केही पनि गरेकी थिइनन् भने यस्तो प्रकारको हमला किन भयो ?,’ खनालको प्रश्न छ ।

कान्तिपुर

Link copied successfully