सिरहा-३ का जसपा नेपालका उम्मेदवार यादव रिहा

३ दिनभित्र चित्तबुझ्दो जवाफ दिन पाउने गरी उनलाई रिहा गरिएको मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले बताए ।

फाल्गुन २०, २०८२

विनय आजाद

सिरहा — सिरहा-३ बाट जनता समाजवादी पार्टी, नेपाल (जसपा)का उम्मेदवार अशेश्वर यादव प्रहरी रिहा भएका छन् । उनी मंगलबार राति सिरहाबाट ४ लाख ८७ हजार रुपैयाँसहित पक्राउ परेका थिए ।

सिरहा सदरमुकामस्थित शिव चोकमा सुरक्षा निकायको संयुक्त चेकजाँचका क्रममा उनी सवार रहेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कोरपियो गाडीलाई चेकजाँच गर्दा ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । 

प्रहरीले उनीसँगै गाडीमा सवार अन्य चारजनालाई पनि पक्राउ गरेको थियो । ३ दिनभित्र चित्तबुझ्दो जवाफ दिन गरी उनलाई रिहा गरेको मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले बताए ।

तर, गाडीबाट बरामद रकम र गाडीसहितका सामग्री प्रहरी नियन्त्रणमै छ । यादवले स्पष्टिकरण दिएपछि यस विषयमा के हुने भन्ने टुंगो लाग्ने उप्रेतीले जानकारी दिए ।

पक्राउपछि कानुनी प्रक्रिया पूरा गरेर आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully