गृहमन्त्री ओमप्रकाश अर्यालले यसपटक चापाकोटमा ‘पितृहरू भोट हाल्न नआउने’ भन्दै एक कार्यक्रमबीच टिप्पणी गरेका थिए। उनले बुथ कब्जा हुने क्षेत्रमा विशेष सुरक्षा योजना बनाइएको बताएका छन्।
स्याङ्जा — स्याङ्जाको चापाकोट नगरपालिका र आसपासका क्षेत्र विगतमा निर्वाचनका बेला विवाद र झगडाका घटनाले चर्चामा रहँदै आएका छन्। चापाकोट, मस्याङकोटलगायतका मतदान केन्द्रहरूमा मतदाताले स्वतन्त्र रूपमा मत हाल्न नपाएको, दल विशेषले बुथ कब्जा गरेर मतदान गराएको आरोप पटक–पटक उठ्दै आएको थियो।
स्थानीयका अनुसार कतिपय अवस्थामा मतदान अधिकृत नै बुथबाहिर बस्न बाध्य हुन्थे। २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चापाकोट नगरपालिका–३ स्थित राम आवि मतदान केन्द्रमा मृत व्यक्तिको नाममा मतदान गरिएको विषयले राष्ट्रिय ध्यान खिचेको थियो। सो निर्वाचनमा कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्यालबीच कडा प्रतिस्पर्धा भएको थियो। बुथ कब्जा र अनियमितताको आरोपपछि चार दिनसम्म मतगणना रोकिएको घटना अझै पनि स्थानीय राजनीतिक बहसको केन्द्रमा छ।
विगतका घटनालाई मध्यनजर गर्दै यसपटक चापाकोटलाई केन्द्रीय सुरक्षा टोलीले ‘हाइ अलर्ट’ क्षेत्रमा राखेको छ। गृह मन्त्रालयका सचिवसहित तीनै सुरक्षा निकायका प्रमुखहरू प्रत्यक्ष अनुगमनमा खटिएका छन्। यहाँ मात्रै १५ वटा मतदानस्थल छन्। यस क्षेत्रमा तीनवटै सुरक्षा निकायबाट विगतभन्दा दोब्बर सुरक्षाकर्मी तैनाथ गरिएको छ।
सुरक्षा जाँच, सूचना संकलन तथा गस्ती बढाइएको जिल्ला प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालय र प्रदेशबाट थप प्रहरी पठाइएको छ। पाँच जिल्लाबाट निर्वाचन प्रहरी ल्याइएको छ भने इलाका प्रहरी कार्यालय चापाकोटका डीएसपीको कमाण्डमा सुरक्षा टोली खटिएको छ।
स्रोतका अनुसार बुथ कब्जा गर्न वा निर्वाचन विथोल्न खोज्ने जो–कोहीलाई पनि तत्काल कारबाही गर्ने आदेश छ। चापाकोट क्षेत्रमा स्थानीय दबाब र धम्कीका कारण कतिपयले स्वतन्त्र रूपमा मतदान गर्न पाउँदैनथे। यसपटक भने प्रत्येक व्यक्तिले एकपटक मात्र मतदान गर्ने व्यवस्था सुनिश्चित गरिने बताइएको छ।
स्याङ्जासँगै दोलखा र बाजुरा जिल्लामा समेत सुरक्षा व्यवस्था कडा पारिएको छ। संवेदनशील मतदान केन्द्रहरूमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ भने निगरानी प्रणालीलाई सुदृढ बनाइएको छ। चापाकोटसँगै विगतमा बुथ कब्जा हुने कालीगण्डकी, वालिङ, पेलाकोट, गल्याङलगायतका क्षेत्र पनि शंकाको घेरामा राखिएका छन्। त्यहाँको भूगोल र विगतका घटनालाई आधार मानेर विशेष निगरानीमा राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।
सरकारले यसपटक मतदातालाई निर्भय र निष्पक्ष रूपमा मतदान गर्न सक्ने वातावरण सुनिश्चित गर्ने दाबी गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले यसपटक चापाकोटमा ‘पितृहरू भोट हाल्न नआउने’ भन्दै एक कार्यक्रमबीच टिप्पणी गरेका थिए। उनले बुथ कब्जा हुने क्षेत्रमा विशेष सुरक्षा योजना बनाइएको बताएका छन्।
सुरक्षा उपस्थितिको प्रभावले मतदातामा आत्मविश्वास बढेको देखिन्छ। काँग्रेसनिकट एक युवाले ठट्यौली पारामा भने, 'यसपालि त भोट हाल्न भनेर नागरिकता नै झिकाएँ। पाँच वर्षमा हुने चुनाव तीन वर्षमै हुने भयो, पितृ भेट्न पाइएला जस्तो छैन।'
उनको व्यंग्यात्मक अभिव्यक्तिले विगतका अस्वाभाविक घटनाप्रति संकेत गरे पनि यसपटकको कडा सुरक्षा व्यवस्थाले लोकतान्त्रिक प्रक्रियाप्रति जनविश्वास बलियो बनाउने अपेक्षा गरिएको छ। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र पारदर्शी बनाउन तयारी गरिएको स्याङ्जा प्रहरी प्रमुख दधिराम न्यौपाने बताउँछन्।
एसपी न्यौपानेका अनुसार जिल्लाका ५६ मतदानस्थल अति संवेदनशीलमा परेका छन्। भौगोलिक अवस्था र गत चुनावको विश्लेषणलाई आधार मानेर जिल्ला सुरक्षा समितिले ती मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको हो। अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरेर सुरक्षा रणनीति तयार पारिएको छ।
स्याङ्जा–२ मा काँग्रेसबाट भावतप्रकाश मल्ल उम्मेदवार छन्। एमालेबाट खिमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टीबाट रेशम विश्वकर्मा र रास्वपाबाट झविलाल डुम्रे उम्मेदवार रहेका छन्।
स्याङ्जाका दुई निर्वाचन क्षेत्र छन्, जहाँ २ लाख ४८ हजार ८१६ मतदाता रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं. १ मा १ लाख ३० हजार ८८६ मतदाता छन्—जसमध्ये ६४ हजार ७७५ पुरुष, ६६ हजार ११० महिला र १ अन्य मतदाता छन्। उक्त क्षेत्रमा १०८ मतदानस्थल र १७१ मतदान केन्द्र तोकिएका छन्। अस्थायी मतदान केन्द्रका रूपमा जिल्ला कारागार राखिएको छ।
त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा १ लाख १७ हजार ९३० मतदाता रहेका छन्। यसमध्ये ५७ हजार ६८९ पुरुष र ६० हजार २४१ महिला छन्। यहाँ ९१ मतदानस्थल र १५१ मतदान केन्द्र निर्धारण गरिएको छ।
दुवै निर्वाचन क्षेत्र गरी कुल पुरुष मतदाता १ लाख २२ हजार ४६४, महिला १ लाख २६ हजार ३५१ र अन्य १ जना रहेका छन्। समग्रमा १९९ मतदानस्थल र ३२२ मतदान केन्द्रमार्फत मतदान प्रक्रिया सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
