उम्मेदवारी खारेजीविरुद्ध किशोरी साहले दर्ता गराए रिट, निर्वाचन पछि पेसी 

रास्वपा धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार किशाेरी साहले आज सर्वोच्चमा रिट दायर गरेका हुन्, तर उनको रिटको पेसी भने निर्वाचनपछि मात्र हुने छ ।

फाल्गुन १९, २०८२

कान्तिपुर संवाददाता

Kishori Sah files writ petition against cancellation of candidacy, to be filed after election

काठमाडौँ — अन्तिम समयमा उम्मेदवारी खारेजी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार किशाेरी साहले सर्वोच्च अदालत गुहारेका छन् । साहले आज सर्वोच्चमा रिट दायर गरेका हुन्, तर उनको रिटको पेसी भने निर्वाचनपछि मात्र हुने छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार साहको रिट दर्ता भएको र फागुन २५ गते पेसी तोकिएको छ । २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । 

ठेक्कापट्टाबाट राजनीतिमा प्रवेश गरेका धनुषा निर्वाचन क्षेत्र नम्बर १ का रास्वपाका उम्मेदवार साहको उम्मेदवारी कालोसूचीमा रहेको उजुरीपछि खारेज भएको छ । निर्वाचनको दुई दिनअघि निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो ।  

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कर्जा सूचना केन्द्रबाट कालोसूचीमा रहेका कारण उनको उम्मेदवारी खारेज गरिएको हो । आयोगमा रहेको उम्मेदवारको वैयक्तिक विवरणमा किशोरीले कमल निर्माण सेवाको सेयर होल्डर भएर काम गरेको खुलाएका छन् । 

त्यस्तै, किशोर कन्स्ट्रक्सनका किशोरीलाल साहलाई २०८० पुस ६ र २०७९ असोज ३१ मा कालोसूचीमा राखिएको कर्जा सूचनाको केन्द्र वेबसाइटमा उल्लेख छ । 

धनुषा–१ का निर्वाचन अधिकृत मनोज बरालले रास्वपा उम्मेदवार साहविरुद्ध कालोसूचीमा परेको प्रमाणसहित आएको उजुरीका आधारमा आयोगले उम्मेदवारी खारेज गरेको बताए । 

रास्वपा उम्मेदवार साहको कमल कन्स्ट्रक्सन कालोसूचीमा रहेको प्रमाणसहित उनको उम्मेदवारी खारेजका लागि निर्वाचन क्षेत्र नम्बर १ को कार्यालयमा उजुरी परेको थियो । कार्यालयले सो उजुरीमाथि कारबाही गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको बरालले बताए । 

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज भए पनि धनुषा–१ मा मतपत्र परिवर्तन नगरिने बताए । ‘कालोसूचीमा परेकाले उहाँको उम्मेदवारी खारेज गरिएको हो । निर्वाचनको समय एकदम कम भएकाले मतपत्र भने परिवर्तन गर्न सम्भव छैन,’ प्रमुख जिल्ला अधिकारी लुइँटेलले भने ।

प्रतिनिधिसभा निर्वाचन २०८२

कान्तिपुर

Link copied successfully