कर्जा सूचना केन्द्रबाट कालोसूचीमा रहेका कारण उनको उम्मेदवारी खारेज गरिएको हो ।
जनकपुर — ठेक्कापट्टाबाट राजनीतिमा प्रवेश गरेका धनुषा निर्वाचन क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । निर्वाचनको दुई दिनअघि निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कर्जा सूचना केन्द्रबाट कालोसूचीमा रहेका कारण उनको उम्मेदवारी खारेज गरिएको हो । आयोगमा रहेको उम्मेदवारको वैयक्तिक विवरणमा किशोरीले कमल निर्माण सेवाको सेयर होल्डर भएर काम गरेको खुलाएका छन् ।
त्यस्तै, किशोर कन्स्ट्रक्सनका किशोरीलाल साहलाई २०८० पुस ६ र २०७९ असोज ३१ मा कालोसूचीमा राखिएको कर्जा सूचनाको केन्द्र वेबसाइटमा उल्लेख छ ।
धनुषा–१ का निर्वाचन अधिकृत मनोज बरालले रास्वपा उम्मेदवार साहविरुद्ध कालोसूचीमा परेको प्रमाणसहित आएको उजुरीका आधारमा आयोगले उम्मेदवारी खारेज गरेको बताए ।
रास्वपा उम्मेदवार साहको कमल कन्स्ट्रक्सन कालोसूचीमा रहेको प्रमाणसहित उनको उम्मेदवारी खारेजका लागि निर्वाचन क्षेत्र नम्बर १ को कार्यालयमा उजुरी परेको थियो । कार्यालयले सो उजुरीमाथि कारबाही गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको बरालले बताए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज भए पनि धनुषा–१ मा मतपत्र परिवर्तन नगरिने बताए । ‘कालोसूचीमा परेकाले उहाँको उम्मेदवारी खारेज गरिएको हो । निर्वाचनको समय एकदम कम भएकाले मतपत्र भने परिवर्तन गर्न सम्भव छैन्,’ प्रमुख जिल्ला अधिकारी लुईटेलले भने ।
उम्मेदवारी खारेजीमा परेका रास्वपा उम्मेदवार साह वन कार्यालयमा कार्यरत रहँदा राजीनामा गरेर ठेक्कापट्टामा लागेका थिए । वन पैदावारको निकासी–पैठारीमा लामो समय ठेक्कापट्टाको काम गरेका रास्वपा उम्मेदवार साहले पछि कमल कन्ट्रक्सनमार्फत निर्माण क्षेत्रमा हात हालेका थिए ।
०७४ को निर्वाचनमा एमालेबाट साह प्रदेशसभामा धनुषा निर्वाचन नम्बर १ (१) बाट निर्वाचित भएका थिए । ०७९ को निर्वाचनमा साह जनमत पार्टी प्रवेश गर्दै धनुषा–१ बाटै प्रतिनिधिसभाको निर्वाचन लडेका थिए । ०७९ को निर्वाचनमा चौथो स्थानमा सिमित भएका साह यो निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका थिए ।
