राष्ट्रपति र उपराष्ट्रपति मतदान नगरी तटस्थ रहने, प्रधानमन्त्री कार्कीले धापासीमा मतदान गर्ने

‘संविधानमा तटस्थ भूमिका रहेकाले राष्ट्रपति र उपराष्ट्रपतिले मतदान गर्न नमिल्ने रहेछ,’ राष्ट्रपति र उपराष्ट्रपतिको सचिवालयको इकान्तिपुरलाई जानकारी दिए ।

फाल्गुन २०, २०८२

कान्तिपुर संवाददाता

The President and Vice President will remain neutral without voting, while Prime Minister Karki will vote in Dhapasi.

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवले तटस्थ रहदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन् । पहिलो राष्ट्रपति रामवरण यादव, दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पदमा बहाल रहँदा मतदान गरेका थिएनन् । 

‘संविधानमा तटस्थ भूमिका रहेकाले राष्ट्रपति र उपराष्ट्रपतिले मतदान गर्न नमिल्ने रहेछ,’ राष्ट्रपति र उपराष्ट्रपतिको सचिवालयको इकान्तिपुरलाई जानकारी दिए ।

प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने धापासी हाइटस्थित विद्याललमा रहेको केन्द्रमा मतदान गर्ने छन् । ‘प्रधानमन्त्रीले धापासी हाइटको एक केन्द्रबाट मतदान गर्नुहुनेछ,’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने ।

पूर्वराष्ट्रपतिहरूले भने मतदान गर्दै आएका छन् । पूर्वराष्ट्रपति रामवरण यादवले धनुषाको लक्ष्मीनयी गाउँपालिकास्थित बीपी कोइराला माध्यामिक विद्यालयबाट मतदान गर्दै आएका छन् । यसपटक पनि उनले त्यहीबाट मतदान गर्नेछन् । 

पूर्वराष्ट्रपति विद्या भण्डारीले बुढानिलकण्ठ नगरपालिका-२ साविकको गाविस भवनमा मतदान गर्ने कार्यक्रम छ । राष्ट्रपतिमा बहाल रहँदा यादव र भण्डारीले पनि मतदान गरेका थिएनन् । राष्ट्रपति र उपराष्ट्रपति ‘संवैधानिक तटस्थ’ को भूमिकामा रहेकाले मतदान नगर्ने परम्परा छ । संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिले प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा मतदानबारे उल्लेख छैन ।

त्यस्तै पूर्वउपराष्ट्रपति परमानन्द झा र नन्दबहादुर पुनले पनि मतदान गरेका थिएनन् । झा निवृत्त जीवन बिताइरहेका छन् भने पुन सक्रिय राजनीतिमा आइसकेका छन् । 

संविधानले राष्ट्रपतिलाई मुलुकको राष्ट्राध्यक्षको भूमिकामा रही कार्यसम्पादन गर्नुपर्ने स्पष्ट गरेको छ ।

‘राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ । निजले यस संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्नेछ । राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ,’ संविधानमा उल्लेख छ, ‘संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य

हुनेछ । राष्ट्रपतिले यो संविधान वा संघीय कानुन बमोजिम निजलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन गर्नेछ ।’

पूर्वप्रधानमन्त्रीहरू एवं एमाले अध्यक्ष केपी ओलीले भक्तपुर-२ बालकोटमा, नेकपा संयोजक पुष्पकमल दाहालले चितवन-३ को भरतपुर-१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका संस्थापक बाबुराम भट्टराईले गोरखा-२ अन्तर्गत पालुङटार नगरपालिका–१ खोप्लाङबाट मतदान गर्ने छन् । 

नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन क्षेत्र रौतहट-१ को गौरको एक विद्यालयको केन्द्रमा मतदान गर्दै आएका छन् ।

कान्तिपुर

Link copied successfully