निर्वाचन शन्तिपूर्ण र निश्पक्ष होस् : दाहाल 

नेकपा संयाेजक पुष्पकमल दाहालले अहिलेको निर्वाचनमा दुई अतिवादी पक्ष हावी रहेको र ति दुई पक्षले जिते मुलुकले दु:ख पाउने बताएका छन् ।

फाल्गुन १४, २०८२

कान्तिपुर संवाददाता

May the election be peaceful and fair: Dahal

काठमाडौँ — नेकपाका संयोजक पुष्पकमल दाहालले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचन निश्पक्ष, शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैलाई आग्रह गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले यसका लागि राजनीतिक दल मुख्य रूपमा अझ बढी जिम्मेवार, संवेदनशील हुनु पर्ने बताए । यस्तै, उनले सबै राजनीतिक दल राष्ट्र, जनता, लोकतन्त्र र गणतन्त्रप्रति प्रतिबद्ध भएर लाग्नु पर्ने बताए । 

उनले निर्वाचनलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायको सबैभन्दा ठूलो भूमिका हुने पनि बताएका छन् । उनले भने, 'मैले पटकपटक सुरक्षा निकायलाई धन्यवाद भनिसकेको छु । यसमा मैले विश्वास पनि व्यक्त गरेको छु । हाम्रो सुरक्षा निकायले यो निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर एउटा सहज राजनीतिक वातावरण, स्थिरताको वातावरण बनाउने र विकास समृद्धिको यात्रा सुरु गर्नेमा विश्वस्त छु ।'

उनले अहिलेको निर्वाचनमा दुई अतिवादी पक्ष हावी रहेको र ति दुई पक्षले जिते मुलुकले दु:ख पाउने बताए । यद्यपि, निर्वाचनको परिणाम स्वीकार गर्न तयार रहेको उनको भनाइ छ । 

पत्रकार सम्मेलनमा उनले २३ र  २४ भदौमा भएको विद्रोह र ध्वंसात्मक गतिविधिको छानबिन गर्न बनेको आयोगले निर्वाचन अघि नै प्रतिवेदन सार्वजनिक गर्नु पर्नेमा नसकेकोमा दु:ख मनाउ गरे । उनले भने, '२३ र २४ भदौको घटना छानबिन गर्न बनेको आयोगको प्रतिवेदन समयमै आउनु पर्थ्यो ।  निर्वाचन अघि आएको भए अझ राम्रो हुन्थ्यो ।'

कान्तिपुर

Link copied successfully