मनाङका ५ मतदान केन्द्र अति संवेदनशील

नार्पाभूमि गाउँपालिकाको ५ वटै मतदान केन्द्रलाई जिल्ला सुरक्षा समितिले अति संवेदनशील सूचिमा राखेको हो ।

फाल्गुन १४, २०८२

आश गुरुङ

5 polling stations in Manang are highly sensitive

What you should know

लमजुङ — मनाङको ५ मतदान केन्द्र अति संवेदनशील सूचिमा परेका छन् । नार्पाभूमि गाउँपालिकाको ५ वटै मतदान केन्द्रलाई जिल्ला सुरक्षा समितिले अति संवेदनशील सूचिमा राखेको हो ।

नार्पाभूमि भूगोल चीनको स्वसाशित क्षेत्र तिब्बतसँग जोडिएको, उच्च हिमाली क्षेत्रमा रहेको, सदरमुकामबाटै पैदल २ दिन लाग्ने, ती मतदान केन्द्र हालसम्म सडक सञ्जालसँग नजोडिएको, भौगोलिक विकटता, गोरेटो बाटोको असहजतालगायतले ती मतदान केन्द्रहरू अति संवेदनशीलमा परेका हुन् ।

नार्पाभूमि गाउँपालिका–१ को वडा कार्यालय भवन, वडा नम्बर २ को नार आधारभूत विद्यालय, वडा नम्बर ३ को साम्डुछिरिङ गुम्बा, वडा नम्बर ४ को फू आधारभूत विद्यालय र वडा नम्बर ५ को वडा कार्यालय भवनमा मतदान केन्द्र हुन् । यी सबै मतदान केन्द्रलाई जिल्ला सुरक्षा समितिले अति संवेदनशील सूचिमा राखेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए । नार्पाभूमि गाउँपालिकामा कुल ४ सय ८८ मतदाता छन् ।

यस्तै, ५ सय भन्दा बढी मतदाता रहेका मतदान केन्द्रहरू संवेदनशीलमा परेका छन् । माथिल्लो क्षेत्रको मनाङ ङिस्याङ गाउँपालिका, सदरमुकाम रहेको चामे गाउँपालिका र तल्लो क्षेत्रस्थित नासों गाउँपालिकाका गरी १५ वटा मतदान केन्द्र संवेदनशीलमा परेका छन् । बाँकी एउटा अस्थायीसहित ९ वटा मतदान केन्द्र सामान्यमा परेका छन् । मनाङमा एउटा वडामा एउटा मतदान केन्द्र छन् । अस्थायी मतदान केन्द्र सदरमुकाम चामेमा कायम गरिएको छ ।

मतदान केन्द्रको केही दिनअघि गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेसहित सुरक्षा निकायका ३ वटै प्रमुखहरुले अनुगमन गरेका छन् । अनुगमनमा जिल्ला सुरक्षा समिति र पालिका अध्यक्षहरु समेत सहभागी थिए । नार्पाभूमि गाउँपालिकामा रहेका मतदान केन्द्रमा पुग्न नसकिए पनि उनीहरूले मनाङ ङिस्याङ गाउँपालिका, चामे गाउँपालिका र नासों गाउँपालिकाका मतदान केन्द्रको अनुगमन गरेका हुन् । जिल्ला सुरक्षा समितिले भने यसअघि नै मतदान केन्द्रको अनुगमन गरिसकेका छन् ।

कुल ७ हजार मतदाता रहेको मनाङमा महिला ३ हजार ६ सय २३ र पुरुष ३ हजार ३ सय ७७ छन् । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६ हजार ७ सय ७९ मतदाता थिए । यसअघिको तुलनामा यसपटक २ सय २१ मतदाता थपिएका छन् ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully