एक साताका लागि मदिरा बिक्रीमा पनि रोक लगाइने
What you should know
काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टा सिल गर्न सरकारसमक्ष सिफारिस गरेको छ । आयोगका सदस्य सगुन शमशेर जबरा नेतृत्वको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले फागुन २१ का लागि तय भएको निर्वाचनअन्तर्गत नेपाल-भारत र नेपाल-चीन सीमा नाका सिल गर्न सिफारिस गरिएको हो ।
भारतसँग नेपालको खुला सीमा छ । करिब १ हजार ८ सय ८० किलोमिटर लम्बाइमा नेपाल-भारत सीमा कायम छ । त्यसैगरी नेपाल-चीन सीमा नियन्त्रित अवधारणाअन्तर्गत छ । दुवै देशका नागरिक भिसा र सीमावर्ती जिल्लाका हकमा स्थानीय प्रशासनले जारी गरेको अस्थायी पासका आधारमा आवागमन गर्न पाइन्छ । आयोगले निर्वाचनका बेला अत्यावश्यक वस्तु तथा सेवाको हकमा जाँच गराएर र बाँकीको हकमा आवागमन पूर्ण रूपमा बन्द गराउन सिफारिस गरिएको हो ।
यसैगरी मतदान र अघि गरी एक साताका लागि देशभर मदिरा बिक्रीलाई समेत रोक लगाउन सिफारिस गरेको छ । मदिरा सेवन गरेर शान्ति सुरक्षामा खलल पुर्याउने, सामाजिक सद्भाव बिथोल्नेलगायत गतिविधि नियन्त्रणका लागि १ सातालाई बिक्री वितरण रोक लगाउन सिफारिस गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
सुरक्षा समितिमा निर्वाचन तयारी र व्यवस्थापनका क्रममा गरिएका प्रयास र रणनीतिबारे समीक्षा भएको भट्टराईको भनाइ छ । उनका अनुसार निर्वाचनका दिन गाडी चल्न नदिने, अत्यावश्यक पासवाहकबाहेकलाई आवागमनमा रोक लगाइने, मौन अवधिमा हुन सक्ने प्रचारप्रसार निगरानी र नियन्त्रण गर्ने,सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिताविपरीतका गतिविधि नियन्त्रण गर्नेलगायतका विषयमा छलफल भएको थियो ।
निर्वाचन सुरक्षा तयारीअन्तर्गत नै माघमै सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बलका वाहिनीपति(डीआईजी) स्तरीय बैठकले नेपालको निर्वाचनलाई ध्यानमा राखेर सीमानाका ७२ घण्टा सिल गर्ने सहमति गरिसकेका छन् ।
मंगलबार दिउँसो बसेको बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारी, नेपाली सेनाका रथी प्रदीपजंग केसी, गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीलगायत गृह र रक्षा मन्त्रालय तथा मातहतका अन्य सुरक्षा अधिकारीहरू सहभागी थिए ।
गृहका प्रवक्ता आनन्द काफ्लेले निर्वाचन सुरक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार दृढ रहेको र त्यहीअनुसार जनशक्ति परिचालन गरिएको बताए ।
