कार्यक्रमबाट मतदाताले मतदान प्रक्रिया, मतपत्रको प्रयोग, गोप्य मतदानको महत्त्व, निर्वाचन आचारसंहिता तथा गलत एवं भ्रामक सूचनाबाट बच्ने उपायबारे जानकारी गराइने
काठमाडौँ — निर्वाचन आयोगले फागुन ३ गते देखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ। निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा स्वयंसेवकमार्फत सञ्चालन हुने जानकारी दिएको हो ।
मतदाता शिक्षाका लागि आमसञ्चार माध्यम, सामाजिक सञ्जाल र स्वयम् सेवक परिचालन गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
देशभरका नगरपालिका तथा गाउँपालिकाका जम्मा ६७४३ वडामा फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने उनले बताए । आमसञ्चार माध्यम तथा आम पहुँचका कार्यक्रमबाट पनि मतदाता शिक्षा र निर्वाचन प्रचार प्रसारलाई व्यापक र प्रभावकारी बनाउने तयारीमा आयोग रहेकोको उनले बताए ।
कार्यक्रमबाट मतदाताले मतदान प्रक्रिया, मतपत्रको प्रयोग, गोप्य मतदानको महत्त्व, निर्वाचन आचारसंहिता तथा गलत एवं भ्रामक सूचनाबाट बच्ने उपायबारे जानकारी गराइने उनले बताए । स्थानीय तहको सहभागिता र समुदायको प्रत्यक्ष संलग्नतामार्फत सञ्चालन हुने यो कार्यक्रमले समावेशी सिद्धान्तबमोजिम प्रभावकारी मतदाता शिक्षा प्रवर्द्धन गर्ने निर्वाचन आयोगको दाबी छ ।
मतदाता शिक्षालाई सुदृढ बनाई प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई सफल बनाउने उद्देश्यले यो मतदाता शिक्षा विशेष कार्यक्रम निर्वाचन आयोगबाट स्वीकृत गरी लागू गरिएको उनले बताए ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउन घरदैलो तथा विद्यालयस्तर मतदाता शिक्षा कार्यक्रमका लागि स्वयं सेवक परिचालन र आमसञ्चार एवं सामाजिक सञ्जालबाट सञ्चालन गरिने मतदाता शिक्षा कार्यक्रम निर्वाचन आयोगबाट सञ्चालन गरिने उनले बताए ।
