कांग्रेसले कति बजे बुझाउँछ समानुपातिक उम्मेदवारको बन्दसूची ?

बिहान साढे सात बजेदेखि नै सानेपास्थित कार्यालयमा नेताहरू नाम टुंग्याउन खटिएका थिए । तर अहिलेसम्म टुंगोमा पुगेका छैनन् ।

पुस १४, २०८२

कुलचन्द्र न्यौपाने

What time does the Congress submit the closed list of proportional representation candidates?

What you should know

काठमाडौँ — नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख समानुपातिक उम्मेदवारको सूची बुझाउन निर्वाचन आयोगमा टोकन लिएर बसेका छन् ।

तर केन्द्रीय कार्यालय सानेपामा भने उम्मेदवार छनोटको अन्तिम रस्साकस्सी जारी छ । पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरू र सातै प्रदेशका सभापतिहरूको उपस्थितिमा नाम टुंग्याउने प्रयास भइरहेको छ ।

बुझाउनुपर्ने ११० नामका लागि ८ सयभन्दा बढी नामको सूची केन्द्रमा आएको थियो । संस्थापन पक्ष र इतर पक्षबीच ६०/४० को भागबण्डा गर्ने निर्णय भए पनि त्यसभित्रका उपगुटबीच आफ्ना मान्छे समेट्ने रस्साकस्सी चलिरहेको छ । अर्कोतर्फ दुई समूहबीच नामको क्रमसूचीको प्राथमिकताबारे पनि विवाद देखिएको छ ।

केन्द्रीय सदस्य बलबहादुर केसीले अहिलेसम्म छलफल भइरहेको तर सूचीको टुंगो लागिनसकेको बताए । उनले भने, ‘निर्वाचन आयोगमा पार्टी प्रचार विभाग प्रमुख टोकन लिएर बस्नुभएको छ । यता नाम टुंगिनासाथ बुझाउन जानेछौं ।’

अनौपचारिक रूपमा नाम टुंगो लागेपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर त्यसलाई अनुमोदन गरी आयोगमा पठाउने तयारी छ । तर नाम टुंग्याउने प्रक्रिया जटिल बन्दै जाँदा बस्ने भनिएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हालसम्म बस्न सकेको छैन । बिहान साढे सात बजेदेखि नै सानेपास्थित कार्यालयमा नेताहरू नाम टुंग्याउन खटिएका थिए ।केन्द्रीय सदस्य दीपक गिरीले नाम टुंग्याउन अझै समय लाग्ने भन्दै यति बजे नै सकिन्छ भनेर भन्न नसकिने बताए ।

कांग्रेसले २०६४ सालदेखि समानुपातिकमार्फत अवसर पाइसकेकालाई यसपटक नदोहोर्‍याउने मापदण्ड बनाएको छ । कांग्रेसले बनाएको मापदण्डअनुसार प्रदेशसभा सदस्य, स्थानीय तहका पदाधिकारी तथा प्रदेशसभामा समानुपातिक प्रतिनिधित्व पाएका व्यक्तिहरू यसपटकको सूचीमा समावेश हुने छैनन् ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully