देशमा भदौ २४ पछि विधिको शासनको ठाउँमा अराजक शासन चल्यो : ज्ञवाली

प्रदीप ज्ञवालीले भने– 'भदौ २४ गते काठमाडौं लगायतका मुख्य सहरी केन्द्रको दृश्य नेपालमाथि कुनै शक्तिशाली देशले बम वर्षा गरिरहेको, विनाश गरेको जस्तो अकल्पनीय स्थिति सिर्जना भयो'

मंसिर २७, २०८२

कान्तिपुर संवाददाता

After Bhadra 24, the rule of law was replaced by anarchy in the country: Gyawali

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

एमालेको ११ औँ महाधिवेशनको उद्घाटनका क्रममा ज्ञवालीले जस्तोसुकै परिस्थितिमा पनि पार्टी निरन्तर अगाडि बढ्ने बताए । 

भदौ २४ गते नेपालमाथि शक्तिशाली राष्ट्रले हमला गरेको जस्तो अवस्थामा रहेको ज्ञवालीको भनाइ थियो । 'हामीले चुनौतीपूर्ण अवस्थामा महाधिवेशन आयोजना गर्दैछौं । आजभन्दा ३ महिना अगाडि देशले कल्पना नगरेको विनाशकारी स्थिति सामना गर्‍यो । सन् १८२६ को सुगौली सन्धिपछि देशले युद्ध लड्नुपरेन । तर भदौ २४ गते काठमाडौं लगायतका मुख्य सहरी केन्द्रको दृश्य नेपालमाथि कुनै शक्तिशाली देशले बम वर्षा गरिरहेको, विनाश गरेको जस्तो अकल्पनीय स्थिति सिर्जना भयो,' उनले भने ।

भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि जननिर्वाचित ढलेको र जनप्रतिनिधिको संस्था पनि विघटन गरिएको उनले बताए । 'जननिर्वाचित सरकार ढल्यो । जनताका प्रतिनिधिको थलो प्रतिनिधिसभा विघटन भयो । विधिको शासनको ठाउँमा अराजक शासन आयो,' उनले भने । 

अहिले शासनमा रहेकाहरूले अराजकताको शासन चलाइरहेको र उनीहरूका विरुद्धमा वा आलोचनामा बोल्दा पनि खबरदारी आइरहेको ज्ञवालीले बताए । पुराना पार्टी र नेता तथा एमाले समाप्त भयो भन्ने भाष्य बनाइएको भन्दै ज्ञवालीले असन्तुष्टि जनाए । उनले एमालेको महाधिवेशनले एमाले निरन्तर अगाडि बढिरहेको छ र बढिरहन्छ भन्ने सन्देश दिएको बताए । 

कान्तिपुर

Link copied successfully