एमाले महाधिवेशनको सुरक्षार्थ १५०० प्रहरी परिचालित, प्रहरी कुकुरको पनि प्रयोग

जेन–जी आन्दोलनपछि फरक परिस्थितिमा हुन लागेको महाधिवेशनमा कुनै अप्रिय गतिविधि नहोस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको उपत्यका प्रहरीले जनाएको छ ।

मंसिर २७, २०८२

कान्तिपुर संवाददाता

1,500 police deployed for security of UML general convention, police dogs also used

What you should know

काठमाडौँ — भक्तपुरको सल्लाघारीमा शनिबारदेखि सुरु नेकपा एमालेको ११औं महाधिवेशनलाई केन्द्रित गरेर प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

जेन–जी आन्दोलनपछि फरक परिस्थितिमा हुन लागेको महाधिवेशनमा कुनै अप्रिय गतिविधि नहोस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले बताए । ‘काठमाडौं र भक्तपुर जिल्लाका जिल्ला सुरक्षा समितिको निर्णय अनुसार वेग्लै योजना बनाएर प्रहरी टोली परिचालित छ,’ उनले कान्तिपुरसँग भने, ‘नेपाल प्रहरीबाट मात्र १५ सय बढी सुरक्षाकर्मी खटिएका छन् ।’

शनिबार मात्र उपत्यकामा एमाले महाधिवेशन, टुँडिखेलमा साकेला र कीर्तिपुरमा नेपाल प्रिमियर लिग (एनपीएल) को फाइल खेल गरी तीन वटा ‘मेगा इभेन्ट’ रहेको भन्दै उनले भने, ‘सबैलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारेका छौं ।’ एमाले महाधिवेशनमा प्रवेश गर्नेहरुको जाँचमा कडाइ गरिएको छ भने मेटल डिटेक्टरसमेत प्रयोग गरिएको छ ।

प्रहरीले जाँचका लागि नेपाल प्रहरीको कुकुर शाखाबाट तालिम प्राप्त कुकुरलाईसमेत महाधिवेशन स्थलमा खटाइएको छ । विस्फोटक पदार्थ खोजीमा विज्ञ कुकुरलाई परिचालन गरिएको प्रहरीको भनाइ छ । ‘सुरक्षामा कुनै चुक नहोस् भन्नेमा सचेत छौं,’ एआईजी कार्कीले भने ।

उनका अनुसार, ट्राफिक आवतजावतमासमेत असहज स्थिति नहोस् भनेर जुलुसका लागि एउटा सर्भिस लेन मात्र प्रयोग गर्न दिइएको छ भने पार्किङलाईसमेत व्यवस्थित गराउने प्रयास गरिएको छ । ‘भक्तपुरमा पूर्व, पश्चिम, उत्तर र दक्षिण सबैतिर गरेर ५ वटा स्थानमा सवारीसाधन पार्क गर्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘त्यसो हुँदा जाँचमासमेत सजिलो हुने भयो भने उहाँहरुलाईसमेत सहजता भएको छ ।’

महाधिवेशन सुरक्षाका लागि सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोलीसमेत आफ्नै किसिमले परिचालित छन् । 

एमालेले महाधिवेशन सुरक्षाका लागि १० हजार स्वयंसेजक परिचालन गरेको जानकारी दिएको छ । एमालेले अहिलेसम्मकै ठूलो सभा गर्ने गर्ने दाबी गरेको छ । उसले देशभरबाट गाडी रिजर्भगरी कार्यकर्तालाई काठमाडौंमा उतारेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको कार्यक्रम उद्घाटन गर्ने छन् ।

महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबहाक सभापति डीपी अर्याल, राप्रपा अध्यक्ष राजेनद्र लिङ्देन, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादबलगायत नेताहरुले शुभकामना दिने कार्यक्रम रहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully