जेन-जी आन्दोलनका घाइते २५ सय २३ मध्ये ४६० जनाको मात्र वर्गीकरण सुरु

देशभरका ७४ स्वास्थ्य संस्थामा उपचार गरेका घाइतेहरूको वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयले २५ कार्तिकमा गृह मन्त्रालयमा फाइल पठाएको थियो ।

मंसिर १८, २०८२

कृपाल गौतम

Classification of only 460 out of 2,523 injured in Gen-G protests begins

What you should know

काठमाडौँ — स्वास्थ्य मन्त्रालयले  कात्तिक २४ मा जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरणका लागि मापदण्ड स्वीकृत गरे पनि सरकारले त्यसयताको झन्डै एक महिना हुन लाग्दा समेत घाइतेहरुको वर्गीकरणको काम टुंग्याउन सकेको छैन् ।

 स्वास्थ्य मन्त्रालयका अनुसार गृह मन्त्रालयले वितरण गरेको घाइते परिचय पत्र लिएपछि मात्र वर्गीकरणको काम टुंगिन्छ । तर अहिलेसम्म जेन-जी आन्दोलनमा घाइते भएका २५ सय २३ मध्ये ४ सय ६० जना घाइतेको मात्र वर्गीकरणको प्रक्रिया अघि बढेको छ । 

भदौ २३ र २४ गते अस्पताल पुगेकाहरूलाई मात्र घाइते मान्ने भएकाले त्यही नामको आधारमा घाइते परिचय पत्र दिने निर्णय सरकारले गरेको थियो। परिचय पत्र नलिएकाहरूलाई परिचय पत्र लिनसमेत स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । परिचय पत्र पाएका ४ सय ६० जनामध्ये अहिलेसम्म काठमाडौंमा १ सय ६९ जना, कास्कीमा १३ जना, ललितपुरमा १ जना, झापामा १७ जना, धनगढिमा १ जना, धनुषामा १, पर्सामा १ र रूपन्देहीमा १ जना गरी २ सय ४ जनाको वर्गीकरण भएर स्वास्थ्य मन्त्रालयमा तथ्याकं आइसकेको छ । यसबाहेक मन्त्रालयमा आउने अन्य विवरण मन्त्रालयको प्राविधिक कमिटिले फेरि रूजु तथा विश्लेषण गरेर बाँकी प्रक्रियाका लागि गृह मन्त्रालय पठाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभरका ७४ स्वास्थ्य संस्थामा उपचार गरेका घाइतेहरूको वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयले २५ कार्तिकमा गृह मन्त्रालयमा फाइल पठाएको थियो । जसमा अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरेर घाइतेहरुको ४ भागमा वर्गीकरण गरिएको छ ।

गृहले सोही वर्गीकरण अनुसार नाम उल्लेख गरेर पठाउन २५ कार्तिकमै जिल्ला प्रशासन कार्यालयहरूमा पत्राचार गरेको थियो । उक्त पत्रमा गृहले सात दिनको सूचना निकालेर घाइतेहरुको वर्गीकरणको काम यथाशीघ्र सम्पन्न गरेर स्वास्थ्य मन्त्रालयको जेन-जी प्रदर्शन घाइतेहरूको प्राविधिक समितिमा पठाएर त्यसबारे गृहलाई जानकारी दिन भनेको थियो । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले घाइतेहरुले जिल्ला प्रशासनमा गएर घाइतेको परिचयपत्र लिन अनुरोध गर्दै वर्गीकरण नभएसम्म राहत र क्षतिपुर्तीका प्रक्रियाहरु रोकिने बताए । 

जेन-जी आन्दोलनका घाइतेबारे थप जानकारी

कृपाल गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Link copied successfully