जेन-जी आन्दोलनका घाइते पत्रकारको गुनासो- 'राज्यले हामीलाई देखेन'

'पत्रकारिता गर्ने मान्छे नै सञ्चारमन्त्री हुनुभएको छ । तर, उहाँलाई पत्रकाले पनि फिल्डमा गोली खाएका छन् भन्ने थाहा छैन होला, पत्रकारलाई सञ्चारमन्त्रीले त चिन्दैनन् । राज्यको के कुरा भो र !'

कार्तिक १३, २०८२

दया दुदराज

Injured journalist of Gen-G movement complains - 'The state did not see us'

What you should know

काठमाडौँ — भदौ २३ सोमबार । दिउँसो २ बजे । सिभिल अस्पतालको इमर्जेन्सी वार्ड । पीडाको चिच्याहाट, बिरामीले भरिएका शय्या, रगताम्य फ्लोरमा जीवनको भिख मागिरहेका घाइते । त्यही फ्लोरमा रगताम्य थिए- पत्रकार दीपेन्द्र ढुंगाना ।

जो गर्धनबाट बगिरेहको रगत हातले रोक्दै 'एक्सरे कतिब‍ेला गर्ने हो डाक्टरसाब' भन्दै झिझ्झिरहेका थिए । त्यसको केही समयपछि भएको एक्सरेमा देखियो- कानको ठिक मुनिपट्टि गोली । दीपेन्द्र हतास्सिए । मन भित्रभित्रै त्रासको आगो झोसियो- 'अब त म मर्छु होला ।'

000

आइतबार बेलुकादेखि नै कुन समयमा आन्दोलन हुने भन्ने निश्चित थिएन । कसैले ९ बजे भनेका थिए त कसैले ११ बजे । तर पनि दीपेन्द्र बिहान साढे ८ बजे माइतीघर पुगे । 'बिस्तारै मान्छे भेला हुँदै थिए । आन्दोलन हुने ठाउँको ठिक पारिपट्टिको वर्कसपमा बाइक बनाउन छाडेँ,' दीपेन्द्र सम्झिन्छन्, 'जेन-जी को आन्दोलन रचनात्मक नै हुन्छ । त्यति डरलाग्दो नहोला भनेर ह्यालमेट पनि त्यही वर्कसपमा राखेँ ।'

आन्दोलनमा गुञ्जिएको राष्ट्रियगान र नेपथ्यको 'गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ' जस्ता राष्ट्रावादी गीतले आन्दोलन शान्तिपूर्ण हुन्छ भन्ने दीपेन्द्रको मनसायलाई बल पुग्यो । ठूलो संख्यामा भेला भएका युवाहरू ११ बज्दा नबज्दै बानेश्वरतर्फ लम्किए । दीपेन्द्र उनीहरूको गतिविधि कैद गर्दै अघि बढे । 'एकदमै शान्तिपूर्ण ढंगबाट अगाडि बढ्दै गयो । सोचेभन्दा धेरै भेला भए,' निषेधित क्षेत्र पुगेर केही व्यक्तिले देखाएको व्यवहार सम्झँदै दीपेन्द्रले सुनाए, 'त्यसपछि ह्यालमेट त ल्याउनुपर्थ्यो कि जस्तो लाग्न थाल्यो ।' 

तर जब उनी बानेश्वर पुगे, दृश्य फेरियो । 'आन्दोलनमा पार्टीका कार्यकर्ताहरू पनि देखिन्थे,' उनले सम्झिए, 'जेन-जी भनेर आएका अराजक युवाहरूले जानीजानी भीडलाई भड्काउँदै थिए ।' दीपेन्द्रलाई प्रहरीको गतिविधि पनि शंकास्पद लाग्यो । 'सामान्य ठेलमठेलमै पुलिसले लाठीचार्ज गर्थ्यो, तर त्यो दिन गरेन । सिधै पानीको फोहोरा हान्यो । त्यो पनि ढिला । ब्यारिकेड एक लाइन मात्र थियो । ठूलो आन्दोलन हुने थाहा हुँदाहुँदै किन यति कमजोर तयारी ?,' उनको मनमा प्रश्न गुञ्जिरहन्छ, 'पुलिसले नियतवश छोडेको हो कि नैतिक समर्थन गरेको ?'

संख्या बढ्दै गए पनि स्कुले विद्यार्थीमाथि राज्यले संयमता अपनाउला भन्ने दीपेन्द्रलाई लागेको थियो । तर त्यस्तो भएन । साढे ११ बजेतिर निषेधित क्षेत्र तोडियो । प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गर्न थाल्यो । स्थिति तनावग्रस्त बन्यो । सयौं घाइते भए । दीपेन्द्रकै आँखाअगाडि कलिलो बच्चाको छातीमा गोली लाग्यो । दीपेन्द्रले भने, 'एमसीसीको बेलामा यो भन्दा धेरै भीड थियो । आन्दोलनकारी पनि उत्तिकै आक्रामक थिए तर यसपालि त स्कुले विद्यार्थीमाथि यस्तो तरिकाले गोली चलायो कि यस्तो होला भने सोचेकै थिइनँ ।'

निर्ममता कैद गर्दा लाग्यो गोली 

दीपेन्द्र आफ्नो समूहका चार/पाँच जना फोटो पत्रकारसँगै पोलको पछाडि लुकेर राज्यको क्रूरता क्यामेरामा कैद गर्दै थिए । 'उमेश भाइले सोधेका थिए, 'दाइ, हेल्मेट किन नलाएको ?' गफ गर्दै थियौं, केही आएर लागेजस्तो भयो । भतभत पोल्यो । साथीहरूले 'ओइ दीपेन्द्रलाई गोली लाग्यो' भनेपछि झन् झसंग भएँ । रगत ह्वालल बग्न थाल्यो,' उनले सुनाए, 'यसो छाम्न खोजेको पूरै अम्लै गड्ने गरी चोट लागेको रहेछ । साथीहरूले काधँमा हालेर सिभिल अस्पताल पुर्‍याए ।'

दीपेन्द्र पुग्नुअगावै गोली खाएका घाइतेहरूले अस्पतालका बेड भरिएका थिए । रगताम्य फ्लोरको एउटा कुनामा दीपेन्द्रले पनि शरीर अड्याए । रगत बगिरहेको थियो । नर्सले आएर ब्याण्डिज लगाइदिइन् तर रगत बग्न रोकिएन । समयसँगै दीपेन्द्रको घाउँ दुख्दै जान थाल्यो । 'चोट लागेको ठाममा दुखाइ बढ्न थाल्यो । मेरो एक्सरे गर्नुपर्छ भनेका थिए तर लामो समयसम्म एक्सरे नभएपछि नजिकै डाक्टरलाई बोलाएर कराएपछि मात्रै एक्सरे भयो । डक्टरले तुरुन्तै अप्रेसन गर्नुपर्छ भनेपछि त भित्रभित्रै आत्तिन थालेँ,' अस्पतालको भयभीत माहोल, रुवाबासी र चिच्याहट सम्झँदै दीपेन्द्रले भने, 'अस्पतालको माहोल हेर्दा त मनमनै यसै हरेस खाइसकेको थिएँ । मलाई जसरी हुन्छ, यो अस्पतालबाट निस्किनु छ भन्ने भयो । केही समयपछि पाटन गएँ ।'

दीपेन्द्रलाई गर्धनमा दुइटा रबरका गोली लागेको थियो । ललितपुरस्थित पाटन अस्पताल पुगेर उनले अप्रेसन गरे । दुई दिनसम्म होस खुलेन । 'कानको ठिक तलपट्टि दुईवटा गोली लागेको रहेछ । थोरै मात्र तलमाथि भएको भए जे पनि हुन सक्थ्यो,' डाक्टरलाई धन्यवाद दिँदै उनले भने, 'उहाँहरूले मलाई दोस्रो जीवन दिनुभयो । अब दुई वटा बर्थडे मनाउनु भनेका छन् ।'

'राज्यले पत्रकार देख्दैन ?' 

दीपेन्द्र झण्डै एक महिना अस्पतालमा बसे । उनको उपचार खर्च कार्यरत संस्थाले बेहोर्‍यो । अस्पताल बसेको छैटौं दिनमा पत्रकार महासंघका केही पदाधिकारी उनलाई भेट्न पुगेका थिए । तर उनलाई गोली लागेको कुरा राज्यलाई अझै थाहा छैन । 

'पत्रकारिता गर्ने मान्छे नै सञ्चारमन्त्री हुनुभएको छ । तर, उहाँलाई पत्रकाले पनि फिल्डमा गोली खाएका छन् भन्ने थाहा छैन होला,' आक्रोशित भावमा उनले भने, 'पत्रकारलाई सञ्चारमन्त्रीले त चिन्दैनन् । राज्यको त के कुरा भो र !'

भर्ना भएको छैटौं दिनमा पत्रकार महासंघ पुगेर दीपेन्द्रलाई सहयोगको नाममा १५ हजार थमायो । तर राज्यले उनलाई घाइते कार्डसमेत दिन सकेको छैन । 'घाइतेहरूलाई नि:शुल्क उपचार । कुनि के-के कार्ड बाँड्दै थिए । त्यो पत्रकारको लागि हैन ?' उनी प्रश्न गर्छन् । 

छैनन् जिम्मेवार निकाय

२०७२ सालको भूकम्पदेखि फिल्डमा खटिएर तस्बिर कैद गर्दै हिँडेका दीपेन्द्रका लागि पत्रकारिता अब केवल पेसा होइन, संघर्ष बनेको छ । 'प्रत्येक पटक हामी मैदानमा निस्कँदा कति सुरक्षित फर्कन्छौं भन्ने ग्यारेन्टी हुँदैन,' उनले भने, 'मुडभेडको बीचमा हामी हुन्छौं । कसले के गर्ने हो कुनै भर छैन । न त गतिलो ज्याकेट छ, न ह्यालमेट नै ।'

दीपेन्द्रले आफ्नो सुरक्षाप्रति मिडिया हाउसहरूको उदासिनता देखेका छन् । 'इन्टरनेसनल एजेन्सीहरू तालिम दिन्छन्, उपकरण चेन्ज गर्छन् । तर, नेपालका मिडिया हाउसहरूले कोभिडमा पनि पीपीई र सेनिटाइजरधरि दिन सकेनन् । चैत १५ आन्दोलनमा पत्रकारहरू कुटिए, जलेर मरे । जेन-जी आन्दोलनमा पनि उही ताल ?' उनले प्रश्न गरे । मिडिया हाउसहरूले काउन्सिलिङ, ट्रेनिङ र सुरक्षा उपकरणमा लगानी गर्नु दीपेन्द्रको मत छ ।

पत्रकारको सुरक्षामा मिडिया हाउससँगै महासंघ पनि जिम्मेवार हुनुपर्ने दीपेन्द्रलाई लाग्छ । 'चैत १५ को घटनाबाट हामीले सिक्नुपर्दैन ? साँचो सहयोग त दीर्घकालीन सुरक्षा नीतिले मात्र हुन्छ । १५ हजार सहयोग त प्रतिकात्मक जस्तै भयो,' उनी भन्छन् ।

मानसिक स्वास्थ्यको विषयमा दीपेन्द्रको अनुभव झन् पीडादायी छ । 'कोभिडमा लास जलेका फोटो खिच्दा 'ट्रमाइज' भएँ । म सुत्न सकिनँ, अस्पताल र जलिरहेका शवहरू मात्र देख्थेँ,' तीतो भावमा उनले भने, 'यो आन्दोलनले पनि धेरै पत्रकारलाई डिप्रेस्ड बनाएको छ, भन्न मात्रै नसकेका हुन् ।'

000

सोही दिन गोली लाग्ने अर्का पत्रकार हुन्, श्याम श्रेष्ठ । कान्तिपुरमा कार्यरत श्रेष्ठ सोमबार दिउँसो १२ बजेतिर एक जना सहयोगी लिएर रिपोर्टिङका लागि संसद् भवनतर्फ निस्किए । गाडीलाई तीनकुने पुलबाट अगाडि बढ्न रोक लगाइएको थियो । तर भित्रभित्रै बाटो हुँदै उनीहरू सहकारी भवन हुँदै यातायात विभागतिर निस्किए । बानेश्वर क्षेत्रमा स्कुले ड्रेस लगाएका विद्यार्थी नारा लगाउँदै थिए । उनलाई लाग्यो, 'यी स्कुले केटाकेटी आन्दोलनमा किन आएका होलन् ?'

 Injured journalist of Gen-G movement complains - 'The state did not see us'

निषेधित क्षेत्रमा विद्यार्थीहरू नाराबाजी गरिरहेको देखेपछि श्रेष्ठले प्रहरीलाई सोधे, 'निषेधाज्ञा क्षेत्रमा मान्छे किन छोड्नुभएको ?' सुरक्षाकर्मीको जवाफ थियो, 'सर !, माथिबाट रोक्ने आदेश छैन ।' केही बेरमै संसद् भवनको दक्षिण गेटनजिक पुग्दा त्यहाँ फरक दृश्य देखे । कोही सीसीटीभी क्यामेरा फुटाउँदै थिए, कोही पर्खालमा भएका जाली र तारबार भत्काउँदै थिए । साढे २२ वर्षभन्दा बढी रिपोर्टिङको अनुभव बोकेका श्रेष्ठले यस्तो कलिलो मास (भीड) कहिल्यै देखेका थिएनन् । 

श्रेष्ठ सुनाउँछन्, 'प्रदर्शनकारीहरू वाल भत्काउँदै, राष्ट्रपति र प्रधानमन्त्री छिर्ने मुख्य प्रवेशद्वारतर्फ अगाडि बढ्दै थिए । त्यसपछि लाठी चार्ज र अश्रुग्यास प्रहार गरे पनि प्रहरी पछि हटिरहेका थिए । आन्दोलनकारीहरू जाली नाघेर भित्र पस्न थाले । भित्र मुस्किलले १५–२० जना प्रहरी थिए, तर प्रदर्शनकारीको संख्या सयभन्दा बढी पुगिसकेको थियो ।'

पत्रकार श्रेष्ठले यी सबै क्यामेरामा कैद गरिरहेका थिए । उनलाई कुन फुटेज खिच्ने भन्ने द्विविधा भयो । त्यही नै बेला संसदभित्रबाट एक प्रहरी राइफल लिएर निस्किए । ती प्रहरीले पहिले हवाई फायर गरे । त्यसपछि भीडभित्रको एक युवालाई गोली लाग्यो । युवा रन्थनिँदै ढले । श्याम हतार हतार गोली लागेका ती युवकको फुटेज लिन दौडिए । 'मलाई त्यो फुटेज कस्तो भने त्यो केटा को पर्यो ? कत्रो घाउ भयो भनेर क्यामेरामा देखाउनका लागि म जोखिम लिएर पारि गएँ,' उनी भन्छन् ।

गोली लागेका युवाको रगत बगिरहेको थियो । केही प्रदर्शनकारीले सर्ट फुकालेर घाउ छोपिरहेका थिए । पत्रकार श्रेष्ठले यी सबै क्यामेरामा कैद गरे । त्यसलगत्तै, फायरिङ सुरु भयो । उनी आफ्नो पुरानो सुरक्षित स्थानमा फर्कन खोज्दै थिए । उनी सम्झन्छन्, 'त्यही बेलामा स्वाट्ट गरेर केही मेरो छेउबाट गएको जस्तो महसुस भयो । देब्रे पाखुरामा हातले अलिकति झट्का दियो, ज्यान पनि घुमायो ।'

केही पर आएपछि उनलाई पोल्न थाल्यो । यसो हेर्दा रगत बगिरहेको थियो । वरिपरिका युवा कराए, 'अङ्कललाई गोली लाग्यो ।' त्यसपछि श्रेष्ठले थाहा पाए आफूलाई गोली लागेको रहेछ । वरपरका युवाहरूले उनलाई हतार-हतार उचालेर सिभिल अस्पताल पुर्‍याए ।

सिभिल अस्पताल पुग्दा भित्रको दृश्य युद्ध मैदानको जस्तो थियो । कोलाहल, डाक्टर र नर्सहरूको कमी अनि दुई/तीन सय जना घाइतेको भीड । सबैतिर रगत नै रगत । गाली गर्दै, आक्रोश पोख्दै गरेका युवालाई नर्सहरूले मुस्किलले ट्रिटमेन्ट गरिरहेका थिए । उनको पाखुरामा ड्रेसिङ गरियो, सुई लगाइयो र टिटनेसको सुई दिएर घर पठाइयो ।

घाउको पीडाभन्दा ठूलो कर्मभूमिको जलन 

डाक्टर र अफिसले उनलाई पूर्ण रूपमा आराम गर्न भनेका थिए । त्यो दिन घर गएर उनले आराम पनि गरे । तर भदौ २४ को प्रदर्शनमा उनी चैनसँग बस्न सकेनन् । उनी सम्झन्छन्, 'अचानक 'ड्याङ ड्याङ' पड्केको आवाज आयो । कसैले सिलिन्डर पड्केको भन्यो । तर जब उनले उत्तरतिर ठूलो धूवाँको मुस्लो देखे, दिमागले काम गर्न छोड्यो । 'कान्तिपुर जलायो ! ओ माई गड !' मलाई मेरो गोलीको घाउले भन्दा धेरै त्यो धूवाँले पोल्यो ।'

उनी हतार-हतार एउटा गञ्जी र हाफ प्यान्ट लगाएर तीनकुनेस्थित कान्तिपुर कार्यालयमा पुगे । उनी त्यहाँ पुग्दा करिब करिब सबै जलिसकेको थियो । सबै तितरबितर भइसकेका थिए । केही साथीहरूसँग मिलेर उनी आगो निभाउनतर्फ लागे । 

उनले भने, 'म जसरी हुन्छ आगो निभाउनुपर्छ भन्नेतर्फ लागेँ । तर गेटबाहिर केही युवा फेरि जलाउन भनेर कुरेर बसिरहेका थिए । निभिसकेको आगोलाई पनि प्रदर्शनकारीले बारम्बार भित्र छिरेर जलाए । उनीहरूले स्टुडियो र इन्जिनतिर आगो लगाउने प्रयास गरे । तर भाइ, यो नजलाऊ । यो घर जल्छ, मेरो पनि निजी साधन जलिसक्यो । यो हाम्रो निजी सम्पत्ति हो भनेर माथि जलाउनबाट जोगाइयो ।'

रिपोर्टिङमा सधैंको अभाव 

भदौ २३ को आन्दोलन र २४ को प्रदर्शनले पत्रकारको शरीरमा घाउ मात्र दिएन, उनको व्यावसायिक जीवनमा गहिरो तीतो यथार्थ पनि छाडेको छ । उनलाई पत्रकार महासंघ, प्रेस काउन्सिलजस्ता संस्थाले भेटेर केही सहयोग (आर्थिक सहायता) गरे । संस्थाले पनि उपचार खर्च बेहोर्‍यो । तर, रिपोर्टिङमा पत्रकारहरूको सुरक्षामाथिको अवहेलनाले उनलाई पिरोलेको छ । 

गाजा युद्धको रिपोर्टिङको अनुभव सुनाउँदै उनी भन्छन्, 'विदेशी मिडियाको टोलीमा बुम समाउने, सामान बोक्ने गरी चार/पाँच जनाको टोली हुन्थ्यो । उनीहरूको बुलेट प्रुफ ज्याकेट, फलामका टोपी लाखौँका हुन्थे । तर हाम्रो अवस्था यस्तो छ । सामान्य रबर बुलेटसँग जोगिने साधन पनि छैन ।'

पछिल्लो समय मिडियाप्रतिको आक्रोशले गर्दा पनि फिल्डमा खटिन गाह्रो भएको उनी बताउँछन् । 'हामीले अहिले प्रेसको ज्याकेट लगाउन सक्ने अवस्था पनि छैन । '१२ भाइ' भनेर लखेट्छन् । यस्तो अवस्थामा हामीलाई हाम्रै पहिचान खुलाउन पनि डरको स्थिति बनेको छ ।'

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully