२० दिनअघि मात्रै बीएण्डबी अस्पतालाबाट डिस्चार्ज भएका सिन्धुलीका २९ वर्षीय रवि भण्डारी भन्छन्, ‘डाइटहरूमा खर्च धेरै हुँदो रहेछ । अनि ड्रेसिङ गर्नका लागि घरमै स्वास्थ्यकर्मी बोलाउँदा पनि खर्च भइरहेको छ । अहिले ऋण सापटी गरेर काम चलाइरहेको छु ।’
What you should know
काठमाडौँ — बाजुराका २० वर्षीय साजन रोकाया नियमित फलोअपका लागि वीर अस्पताल धाइरहेका थिए । उनको अहिले छातीको अप्रेसन चलिरहेको छ । उनी आईसीयूमा छन् । साजनका नातेदार दाइ दीपकका अनुसार अहिले साजनको स्वास्थ्य अवस्थाझैं आर्थिक अवस्था पनि निकै कमजोर छ ।
घाइते भएको निकै दिनसम्म छोरा देख्न नपाएकी आमालाई दीपकहरूले आफ्नै पहलमा खर्च जुटाएर बाजुराबाट जहाजमार्फत काठमाडौं ल्याए । ‘तर छोराको अवस्था देखेर उहाँलाई नै गाह्रो भयो,’ दीपक भन्छन् । फलोअपका बेला वा उपचारका बेला बाहिरबाट औषधि बढी ल्याउनुपर्दा खर्च धेरै भइरहेको छ । ‘त्यही व्यवस्थापन गर्न हामीलाई गाह्रो परिरहेको छ,’ दीपक भन्छन् । साजनको भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा गोलीले छाती छेडेर फोक्सोसम्म छोयो । साजन ह्वाइट हाउस कलेजमा प्लस टू सकेर बाहिर जाने तरखरमा थिए । उनी कपडा पसलमा काम गर्थे । खर्च आफैं जुटाएर पढेका थिए ।
वीर अस्पतालबाट दसैंको छेकोमा डिस्चार्ज भएका युवराज उपाध्याय पनि अहिले बेलाबखल फलोअपका लागि धाइरहनुपर्छ । ‘पहिले त जागिर थियो । समस्या थिएन । अहिले त केही डाइट खान खोज्दा पनि खल्ती छाम्नुपर्छ,’ युवराज भन्छन् । युवराज डिस्चार्जपछि कैलालीस्थित घर गए । जेनजी आन्दोलनको पहिलो दिन युवराजलाई हात र पेटमा गोली लागेको थियो । हातको घाउ त छिट्टै निको हुँदै गयो । तर घरमा हुँदा पनि पेटको दुखाइ भने बेलाबेला बढिरह्यो । ‘फेरि गाउँको टीकापुर सरकारी अस्पतालमा चेकअपमा गएँ । त्यहाँबाट पनि औषधि लिएँ । घरमा १ महिना ११ दिन बेड रेस्टमा बसेर काठमाडौँ फर्कें,’ युवराज भन्छन् ।
युवराज उपाध्याय
घाइते हुँदा युवराजकी आमा काठमाडौं आउन पाएकी थिइनन् । युवराज घर पुगेपछि घाइते छोराको अवस्था देखेर गाउँमै उनी धेरै दु:खी भइन् । ‘किन गइस् केही भएको भए हाम्रो के हुन्थ्यो भनेर गाली गर्नुभयो । अनि घरमा भइन्जेल केयर गर्नुभयो,’ युवराज सुनाउँछन् ।
देश बनाउन आफू आन्दोलनमा गए पनि पछिल्लो परिस्थितिले युवराज चिन्तित छन् । ‘अहिले आफ्नो स्वास्थ्य अवस्थाले भन्दा देश कतातिर गइरहेको छ भन्ने कुराले बढी पिरोल्छ,’ उनी भन्छन् ।
काठमाडौं फर्केपछि पनि उनी निरन्तर डाक्टरको सम्पर्कमा छन् । उनी आफूलाई सामान्य छु भनेर मनोबल त बढाउँछन् । तर हिँड्न खोज्दा बेलाबेला शरीरलाई गाह्रो हुन्छ । तिहारपछि जागिरका लागि प्रस्ताव आए पनि युवराजले त्यो जागिर गर्न सकिरहेका छैनन् । ‘बेरोजगार मान्छे । आफैंले कमाउन छाडेपछि कसले हेर्छ र ! भएको पैसा सब सकियो, ’ युवराज भन्छन्, ‘हस्पिटल हुँदा सहयोग गर्ने आश्वासन दिनेहरू पनि आए । तर आश्वासन दिनेहरूले आखिरमा केही गरेनन् ।’ साजन रोकाया
साजन रोकाया
सिन्धुलीका २९ वर्षीय रवि भण्डारी २० दिनअघिमात्र काठमाडौंको बीएन्डबी अस्पतालबाट डिस्चार्ज भए । २४ भदौको जेनजी प्रदर्शनका क्रममा देव्रे खुट्टाको गोलीगाँठानिर गोली लागेका रविको अहिले घरमै ड्रेसिङ भइरहेको छ । उनलाई अस्पतालमा अब मंसिर ७ गते फलोअपका लागि बोलाइएको छ । घरमै बस्दा पनि खर्च भने धेरै भइरहेको रवि बताउँछन् । ‘डाइटहरूमा खर्च धेरै हुँदो रहेछ । अनि ड्रेसिङ गर्नका लागि घरमै स्वास्थ्यकर्मी बोलाउँदा त्यहाँ पनि खर्च भइरहेको छ । अहिले ऋण सापटी गरेर काम चलाइरहेको छु,’ रवि भन्छन् ।
रविको घाउको दुखाइ अहिले पनि भइरहन्छ । ‘एक जना मान्छे त बसिरहनु पर्छ । म त बेडबाट उठ्न सकेकै छैन,’ रवि भन्छन् । रवि ललितपुरको टीकाथली बस्थे। पाँच वर्षअघि कतारको वैदेशिक रोजगारबाट फर्केपछि पठाओ चलाउँदै आएका थिए। त्यही पैसाबाट घरको ऋण तिर्थे, भाइ पढाउँथे। तर जेन–जी आन्दोलनमा गोली लागेपछि परिवारले झन् झन् आर्थिक समस्या बेहोरिरहेको छ ।
सन्तोष वाइबा
लमजुङका २३ वर्षीय सन्तोष वाइबाको जेनजी आन्दोलनको पहिलो दिन देव्रे गोडामा गोली लागेको थियो । उनी असोजको अन्तिमतिर पाटन अस्पतालबाट डिस्चार्ज भए । उनको स्वास्थ्य अवस्था अहिले सामान्य हुँदै गइरहेको छ । सन्तोष अहिले बूढानीलकण्ठमा आफन्तसँग बस्छन् । हप्ताहप्तामा अस्पतालमा फलोअपमा गइरहनुपर्छ उनी । ‘अहिले वैशाखी टेकेर हिँडिरहेको छु, अब साढे दुई महिनापछि डाक्टले नटेकी हिँड्न प्रयास गर भन्नुभएको छ,’ उनी भन्छन् । सन्तोषको खुट्टाको सबै ड्रेसिङ फुकालिसकिएको छ । ‘अहिले थेरापी र औषधि खाने मात्र काम भइरहेको छ,’ उनी भन्छन् । सन्तोषलाई अहिले आफू छिटो निको भएर काममा फर्किने चाहना छ । ‘काम भएन भने गरिखान गाह्रो छ । त्यही समस्या अहिले देखिन थालेको छ । त्यही भएर छिटो निको हुन पर्खिरहेको छु,’ सन्तोष भन्छन् ।
जेनजी घाइते कार्ड छ, सुविधा छैन
अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइते हुन् वा फलोअपमा धाइरहेका बिरामी । उनीहरूलाई राज्यले जेनजी घाइते कार्ड उपलब्ध गराए पनि अहिले त्यसबाट सुविधा केही नपाएको बताउँछन् । केमसी अस्पतालमा उपचारत कमल घिमिरे र गीता साहका परिवारको पनि त्यही गुनासो छ । घाइते घिमिरेका काका प्राणना भन्छन्, ‘यो कार्ड बनेर केही भएको छैन । राज्यले २० हजार दियो । बाँकी त बाहिरी औषधि किन्न पनि आफ्नै खल्तीको पैसा जान्छ । यसले कुनै जादु गरेन ।’
गीता साहका छोरा राहुलको पनि उही तर्क छ । ‘यो कार्ड बनेर हामीलाई यो सहज भयो भन्ने किसिमको त्यस्तो केही छैन,’ राहुल भन्छन् । घाइते रवि भण्डारीको पनि उही गुनासो छ । ‘सरकारले नि:शुल्क उपचार बाहेक त्यही २० हजार दियो । त्यसबाहेक अरू केही भएन । पछि घाइतेको अवस्था हेरेर अर्को कार्ड बन्छ, त्यहीअनुसार हुन्छ भन्थे । त्यो के भयो अहिलेसम्म थाहा छैन,’ रवि भन्छन् ।
स्वास्थ्य मन्त्रालय भन्छ– वर्गीकरण हुँदैछ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी जेनजी घाइते कार्डको हकमा सरकारले वर्गीकरण गर्ने बताउँछन् ।‘चार किसिमको वर्गीकरण हुन्छ । त्यसमध्ये सबैभन्दा बढी क्षति भएकोलाई सरकारले दीर्घकालीन राहत दिन्छ । तर चौथो नम्बरकोलाई केही पनि गर्दैन होला,’ डा बुढाथोकी भन्छन् ।
अस्पतालमै भएका घाइते बिरामीहरूको उपचार र औषधि खर्चबाहेक पनि सरकारले अरू व्यहोरिरहेको छैन भन्ने गुनासो घाइते परिवारको छ । यसबारे प्रवक्ता बुढाथोकी भन्छन्, ‘स्वास्थ्यको हकमा यो मन्त्रालयले क्यान्टिनको खर्च तिर्दैन । स्वास्थ्य उपचारबाहिरको कुरा गृह मन्त्रालयमा भएको घाइतेहरूको उपचार तथा राहत समन्वय समितिमा कुरा गर्नुपर्छ । स्वास्थ्य मन्त्रालयको हकमा भोलि फेरि बेरुजुमा भात खाएको पैसा, क्यान्टिनको पैसा भनेर लेख्न मिल्दैन । गृहलाई पहिलेदेखि नै हामीले भनिरहेका छौं,’ उनी भन्छन् ।
मन्त्रालयको तथ्यङ्क अनुसार जेनजी आन्दोलनमा घाइते भएकाहरूमध्ये अहिले अस्पतालमा १० जना उपचाररत छन् । ‘अस्पतालमा घाइतेहरू थपिने घट्ने क्रम भइरहेको हुन्छ । कुनै कुनै चाहिँ फलोअपका लागि आएकाहरू पनि भर्ना गर्नुपर्ने हुन्छ । त्यही भएर फरक परिरहन्छ,’ प्रवक्ता बुढाथोकी भन्छन् ।
