भारतबाट ‘स्टेक डटकम’ र ‘बेटबुक डटकम’ नामका ‘बेटिङ साइट’ मार्फत प्रतिखेल २ करोडसम्मको सट्टेबाजी, सट्टेबाजले तोकेको ओभर र बलमा ‘रनआउट’ हुने खेलाडीलाई एक करोडसम्मको प्रस्ताव
What you should know
काठमाडौँ — त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडीलाई ‘स्पट फिक्सिङ’ गर्न प्रस्ताव गरिएको भेटिएको छ भने ‘बल बाई बल’ का आधारमा भारतमा ‘बेटिङ’ चलाइरहेको एक समूहलाई खेल मैदानकै प्यारापिटबाट प्रहरीले पक्राउ गरेको छ ।
‘स्पट फिक्सिङ’ का लागि खेलाडीलाई एक करोडसम्मको ‘बुकी’ प्रस्ताव गरिएको पाइएपछि भारतको हरियाणा, रानीमहलका दिलप्रित सिंह र नेपाली युवती रेविका सिंह ठकुरीलाई नियन्त्रणमा लिएर प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ । त्यसैगरी, ‘बेटिङ’ खेलाउने ७ जना भारतीय पनि शनिबार पक्राउ परेका छन् । काठमाडौं प्रहरीका एसपी पवन भट्टराईका अनुसार, उनीहरूले सट्टेबाजीका लागि ‘स्टेक डटकम’ र ‘बेटबुक डटकम’ जस्ता वेबसाइटसमेत प्रयोग गरेको पाइएको छ । सट्टेबाजीमा करिब २ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
गत शनिबार प्यारापिटको एउटा कुनामा केही शंकास्पद क्रियाकलाप देखिएपछि सादा पोसाकमा खटिएका प्रहरीको ध्यान तानेको थियो । भारतीयजस्ता देखिने केही युवा खेलमा भन्दा बढी मोबाइलमा ध्यान दिइरहेका थिए । एक/डेढ घण्टासम्म लगातार मोबाइलमै केन्द्रित भइरहेको पाएपछि प्रहरीले निगरानी थप बढायो । ‘खेल मैदानमै बसेर सट्टेबाजी हुन सक्छ भनेर सुरुदेखि सादा पोसाकमा प्रहरी परिचालित थिए,’ शनिबार त्रिवि मैदानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘अन्ततः त्यो समूह बेटिङमा संलग्न भएको लगभग निश्चित भएपछि १५ वटा मोबाइल फोनसहित उनीहरूलाई नियन्त्रणमा लियौं ।’
पक्राउ पर्नेमा भारतको आन्द्रा प्रदेश घर भएका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३२ वर्षीय महमद रफी शेख, १९ वर्षीय सोईकुमार तम्मिसेट्टी र २८ वर्षीय सेखचन्द बसल छन् । मोबाइलको प्राविधिक जाँचबाट उनीहरूले ‘बेटाकुलर डट लाइभ’ नामक ‘बेटिङ साइट’ बाट सट्टेबाजी गराउने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार, बयान दिने क्रममा पनि उनीहरूले सट्टेबाजीमा आफूहरूको संलग्नतालाई स्वीकार गरिसकेका छन् ।
‘नेपालमा भइरहेको खेलको टेलिभिजन वा अनलाइनमा लाइभ आउँदा केही सेकेन्ड ढिला हुने रहेछ,’ एक प्रहरी अधिकृतले भने, ‘त्यही केही सेकेन्डको ग्यापमा भारतमा बसेर बेटिङ चलाउने साइटले मैदानमा प्रत्यक्ष खेल हेरिरहेका उनीहरूबाट प्रत्येक बलको फोनमार्फत जानकारी लिएर टीभी वा अनलाइन लाइभ आउनुअगावै हरेक बलमा बाजी खेलाउने गरेका रहेछन् ।’ यही कामका लागि पक्राउ परेका सातै जना केही दिनअघि मात्र भारतबाट काठमाडौं आएको पाइएको छ । उनीहरू सामाखुसीमा एकै ठाउँ बसिरहेको समेत खुलेको छ ।
९ देखि २७ पुस २०७९ सम्म नेपालमा भएको टी–२० लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ भएको सार्वजनिक भएपछि प्रहरीले क्रिकेट प्रतियोगितामा अतिरिक्त निगरानी बढाउँदै आएको छ । नेपाल क्रिकेट संघ (क्यान) को ‘एन्टी करप्सन युनिट’ सँग समन्वय गर्दै खेलाडीका साथमा प्रहरी अधिकारीसमेत खटिने गरेका छन् । सोही क्रममा भारतीय दिलप्रित र नेपाली युवती रेविका पक्राउ परेका हुन् ।
प्रहरी स्रोतका अनुसार, दिलप्रितले एनपीएलका टिमको प्रयोजन गर्ने भन्दै रेविकाको इन्स्टाग्राम एकाउन्टमार्फत सुरुमा खेलाडीहरूसँग सम्पर्क बढाएका थिए । कतिपय खेलाडीले त्यस्तो सन्देशको जवाफ नै फर्काएनन् भने एक जना खेलाडी कुराकानीका लागि राजी भएका थिए । ‘उनले टिमलाई प्रायोजक मिल्ने भयो भनेर केही नसोची कुरा गरे तर भारतमा रहेका दिलप्रितले भेटेरै कुरा गर्ने प्रस्ताव राखेका रहेछन्,’ अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले भने, ‘त्यसअनुसार एनपीएल सुरु भएकै दिन १ मंसिरमा उनीहरूबीच काठमाडौंमा भेट भएको देखिन्छ ।’ भेटघाटको सहजीकरण रेविकामार्फत भएको प्रहरी बताउँछ ।
काठमाडौंको एक होटलमा भएको भेटमा दिलप्रितले राखेको प्रस्तावले ती खेलाडीलाई नै झस्काइदियो । ‘दिलप्रितले ती खेलाडीलाई आफूले भनेअनुसारको ओभरको बलमा रन आउट भए १ करोड रुपैयाँ दिने प्रस्ताव गरेलगत्तै प्रहरीसम्म उक्त सूचना पुगेको थियो,’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘बेटिङ साइटमा एकदमै अकल्पनीय खालको बाजी लगाउँदा तेब्बर, चौब्बर रकम आउँदो रहेछ, त्यही भएर त्यति ठूलो प्रस्ताव गरिएको रहेछ ।’ क्यानले भने ‘म्याच फिक्सिङ’ वा ‘स्पट फिक्सिङ’ का मामिलामा शून्य सहनशीलताको नीति अपनाउँदै खेलाडीलाई सजग पनि बनाउँदै आएको छ । प्रवक्ता एसपी आचार्यका अनुसार, फिक्सिङ गर्ने यो प्रयासमा मुख्य भूमिका भारतीय नागरिक सिंहकै देखिन्छ भने रेविकाको इन्स्टाग्राम एकाउन्ट प्रयोग भएको देखिएकाले दुवै जनालाई नियन्त्रणमा लिइएको हो ।
एनपीएल सुरु भएकै दिन खेलाडीलाई गरिएको यस्तो अवैध प्रस्तावपछि प्रहरीले मैदानमा समेत निगरानी बढाएको छ । प्रहरीका अनुसार, सादा पोसाकमा खेल अवधिभरि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंबाट टोली खटाइएका छन् । एक जना प्रहरी निरीक्षकको कमान्डमा खटिने प्रहरी टोलीले निरन्तर दर्शकदीर्घाको चारैतर्फ बसेर दर्शकको गतिविधिमाथि नजर राख्दै आएका छन् । ‘खेल कुनै समस्याबिना सञ्चालन होस् भनेर प्रहरीले हरसम्भव प्रयास गरिरहेको छ,’ आचार्य भन्छन्, ‘कुनै अप्रिय गतिविधि हुन नदिने गरी काम गरिरहेका छौं ।’
प्रहरीका अनुसार, एउटा टोलीले एनपीएलका लागि ठूलो संख्यामा दर्शकहरू जम्मा हुँदा हताहती नहोस्, त्यहीँ नाराबाजी र झैझगडा नहोस् भनेर काम गरिरहेको छ भने अर्को टोलीले सट्टेबाजी, फिक्सिङलगायतको निगरानीको काम गरिरहेको छ । एसपी भट्टराईका अनुसार, अहिले खेल मैदानमा १ हजार २ सय २३ सुरक्षाकर्मी परिचालित छन् भने खेलाडीहरूको बासस्थान र आवतजावतको सुरक्षामा २ देखि ४ सय प्रहरी परिचालित छन् ।
खेल मैदानमा ‘बेटिङ साइट’ को प्रचार भएको सन्दर्भमा समेत भट्टराईले गलत भएको पुष्टि भए कारबाही हुने बताएका छन् । ‘क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सँगको समन्वयमा सञ्चालित खेलमा अनुचित काम हुन्छ भन्नेबारेमा हामी कल्पना पनि गर्दैनौं,’ उनले भने, ‘यदि कुनै काम गलत हो भन्ने पुष्टि हुन्छ भने कारबाहीको दायरामा ल्याउँछौं ।’ क्यानका प्रवक्ता छुम्बी लामाचाहिँ आईसीसीसँग आफ्नो छुट्टै ‘एन्टी करप्सन युनिट’ समेत रहेको भन्दै त्यहीअन्तर्गत क्यानको पनि ‘इन्टिग्रिटी युनिट’ भएको बताउँछन् ।
‘टी–२० लिगमा पहिले पनि हाम्रा केही खेलाडीलाई स्पट फिक्सिङको आरोप लागेको थियो,’ प्रवक्ता लामाले थपे, ‘तर आरोप लागेका ती खेलाडीहरू फिक्सिङमा जोडिएको देखिएन, अदालतबाट समेत सफाइ पाइसकेका छन् ।’ उक्त प्रकरणमा महबुब आलम, आदिल आलम अन्सारीलगायतका खेलाडीविरुद्ध समेत मुद्दा चलेको थियो । पछि उनीहरूले अदालतबाट सफाइ पाए । त्यसबेला टी–२० लिग आयोजक कम्पनी सेभेन थ्री स्पोर्ट्सका मालिक जतिन अहुवालिया छानबिनमा तानिएका थिए । क्यानको व्यापारिक र रणनीतिक साझेदारका रूपमा यो कम्पनीले नेपालमा क्रिकेट प्रतियोगिता सञ्चालन गरेको थियो । पछि त्यो कम्पनीसँगको सम्झौता रद्दसमेत भएको थियो ।
२०७२ मा नेपालका फुटबल खेलाडीमाथि पनि म्याच फिक्सिङको आरोप लागेको थियो । २७ असोज २०७२ मा तत्कालीन महानगरीय अपराध महाशाखाले विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा फिक्सिङ गरेको आरोपमा राष्ट्रिय टिमका तत्कालीन कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्रीसहितका खेलाडीलाई पक्राउ गरेको थियो । नेपालले सन् २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर जानाजान हारेको भेटिएको प्रहरीको अभियोग थियो । प्रहरीसँग उनीहरूले कसुर स्विकारे पनि अदालतमा इन्कारी बयान दिएका थिए । पछि उनीहरूले पनि अदालतबाट सफाइ पाए ।
