प्रहरीद्वारा ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर, कर्फ्युको समेत अवज्ञा गर्दै प्रदर्शन,
What you should know
काठमाडौँ — एमालेको जागरणसभामा आउन लागेका नेताहरूको विरोधमा उत्रिएका प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच बुधबार भएको झडपपछि उत्पन्न तनावपूर्ण स्थितिले दुई दिनदेखि सिमरा अशान्त छ । दोस्रो दिन बिहीबार प्रदर्शनकारीलाई नियन्त्रणमा लिन हम्मे परेपछि प्रहरीले ६ सेल अश्रुग्यास र दुई राउन्ड हवाई फायरसमेत गर्यो ।
कुटपिटमा संलग्न भएको आरोप लागेका एमालेका दुई वडाध्यक्षलाई प्रहरीले पक्राउ गरे पनि प्रदर्शन थामिएन । स्थिति तनावपूर्ण भएपछि प्रशासनले अपराह्न पौने १ बजेदेखि बेलुकी ८ बजेसम्म कर्फ्यु लगायो । तर कर्फ्युको समेत अवज्ञा गर्दै उग्र प्रदर्शन भएको छ ।
परवानीपुरमा बुधबार एमालेको युवा जागरण अभियान सभालाई सम्बोधन गर्न महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत जहाजमा सिमरा विमानस्थल हुँदै आउने थाहा पाएपछि त्यसको विरोधमा जेन–जीलगायतले प्रदर्शन गरेपछि एमाले कार्यकर्तासँग झडप भएको थियो । त्यसक्रममा ६ जना प्रदर्शनकारी घाइते भएका थिए ।
कुटपिट गर्ने एमाले कार्यकर्ता पक्राउको माग गर्दै बिहीबार साढे १० बजेदेखि सिमरा चोकमा भेला भएका जेन–जीलगायतले आक्रामक प्रदर्शन थालेका थिए । इलाका प्रहरी कार्यालय सिमरामा प्रहरी भेट्न आएका जितपुर–सिमरा उपमहानगरमा एमालेबाट निर्वाचित वडा २ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा ६ का अध्यक्ष कैमुदिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको थियो । जेन–जीका बारा संयोजक सम्राट उपाध्यायले कुटपिटको आरोपमा उनीहरू दुईसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
त्यसैले प्रहरीले उनीहरू दुवैलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले दुई वडाध्यक्ष पक्राउ गरेको सूचना दिए पनि प्रदर्शन रोकिएन । बाँसको लाठी र भाटासहित उत्रिएका प्रदर्शनकारीले सडकमा टायर बाल्दै आन्दोलन चर्काउँदै लगे । अरबिन्द साह र आरिफ खानसहितका ४ जनालाई पनि पक्राउ गर्नुपर्ने भन्दै सडकमा प्रदर्शन भइरह्यो ।
प्रदर्शन उग्र भएपछि नियन्त्रणमा खटिएका प्रहरी नै पछि हट्न बाध्य भए । आफूहरूमाथि समेत आक्रमण हुन थालेपछि प्रहरीले ६ सेल अश्रुग्यास र दुई राउन्ड हवाई फायर गरेको थियो । प्रदर्शनस्थलमा प्रहरी बस्न नसक्ने स्थिति आएपछि बारा जिल्ला प्रशासनले पौने १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गर्यो । तर पनि कर्फ्युलाई अवज्ञा गरेर प्रदर्शनकारीले वीरगन्ज–पथलैया राजमार्ग अवरोध गरिरहे । उता विमानस्थलमा ठूलो संख्यामा तैनाथ सुरक्षाकर्मी र प्रदर्शनकारीबीच पनि झडप भएको थियो ।
प्रदर्शन रोक्न र संवादमा आउन भन्दै जिल्ला प्रशासनका अधिकारीले जेन–जीका बारा संयोजक उपाध्यायसँग पटक–पटक फोन संवाद गरेका थिए । आरोपित थप व्यक्तिलाई पनि पक्राउ गर्ने प्रतिबद्धता जनाउँदै संवादका लागि छलफलमा आउन प्रशासनका अधिकारीहरूले आग्रह गरेका थिए । प्रशासनको प्रस्ताव सकारात्मक लागेपछि प्रदर्शनकारीले साढे ४ बजेबाट राजमार्गमा भएको प्रदर्शन रोकेका थिए । प्रशासनको प्रस्तावलाई लिएर जेन–जीलगायत प्रदर्शनकारीबीच सडकमै छलफल चल्यो । अरबिन्द साह र आरिफ खान पनि पक्राउ परेमा शुक्रबार वार्ताका लागि प्रशासनसँग छलफलमा उपस्थित हुन जाने निष्कर्षमा उनीहरू पुगेका छन् ।
‘क्षति नहोस्, सहमति बनोस् भनेर हामी जेन–जीका जिल्ला संयोजक सम्राट उपाध्यायसित समन्वयमा छौं, साँझसम्म पर्खे पनि उहाँहरू आउनुभएन,’ प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भने । ‘जिल्ला सुरक्षा समितिकै बैठक बसेर उनीहरूलाई संवाद गर्न बोलाएका थियौं,’ सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई भन्छन्, ‘सायद शुक्रबार आउनुहुन्छ होला ।’
जेन–जी जिल्ला संयोजक उपाध्याय भने किटानी जाहेरीअनुसार ६ जनालाई पक्राउ नगरेसम्म विरोध जारी रहने बताउँछन् । एमालेनिकट युवा संघका सिमराका अरबिन्द साह र आरिफ खान भन्ने भक्कुलाई पक्राउ नगरेसम्म वार्ता नगर्ने जेन–जी जितपुर–सिमरा नगर कमिटीका प्रवक्ता मनीष सापकोटाको भनाइ छ । ‘हामीलाई कुटपिट गर्ने मुख्य व्यक्ति पक्राउ नपरेसम्म वार्तामा जाँदैनौं,’ उनले भने, ‘पक्राउ परे सम्भवतः शुक्रबार १० बजेपछि वार्तामा जान्छौं । हामीले बिहीबार साढे ४ बजेदेखि प्रदर्शन रोकेका छौं ।’
यसैबीच युवा संघका अरबिन्द साहलाई काठमाडौंबाट बिहीबार साँझ पक्राउ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताएका छन् ।
