सामान्य बन्दै सिमरा, पथलैया-वीरगन्ज खण्डमा गुड्न थाले गाडी

घटनामा संलग्नलाई पक्राउ नगरेको भन्दै प्रजिअले बोलाएको वार्तामा गएनन् जेन-जी प्रदर्शनकारी

मंसिर ४, २०८२

लक्ष्मी साह

Vehicles start plying on Simara, Pathlaiya-Birgunj section, returning to normal

बारा — बुधबारदेखि अशान्त बनेको बाराको सिमरा बिहीबार बेलुकादेखि सामान्य अवस्थामा फर्कन थालेको छ । एमाले कार्यकर्ताले आफूहरूमाथि कुटपिट गरेको भन्दै जेन-जी युवाहरूले बुधबारदेखि प्रदर्शन गरिरहेका थिए ।

बिहीबार कर्फ्युका बीच पनि युवाहरूले प्रदर्शन गरे । बिहीबार दिउँसो प्रहरी र जेन-जी प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । 

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार अहिले पथलैया-वीरगन्ज खण्डमा गाडीहरू गुडिरहेका छन् । जेन-जी प्रदर्शनकारीहरूले सडक खाली गरेपछि गाडीहरू गुड्न थालेका हुन् । जेन-जी जितपुरसिमरा नगर कमिटीका प्रवक्ता मनिष सापकोटाले पनि आफूहरूले ४ बजेदेखि प्रदर्शन रोकेको बताए । 

गएनन् प्रजिअले बोलाएको वार्तामा

प्रजिअ धर्मेन्द्रकुमार मिश्रले सिमरामा प्रदर्शनरत युवाहरूलाई वार्तामा बोलाए पनि गएनन् । आरोपितहरूलाई पक्राउ नगरेका कारण वार्तामा नजाने प्रदर्शनकारीहरूको अडान छ । जेन-जी जितपुरसिमरा नगर कमिटीका प्रवक्ता मनिष सापकोटाले एमाले निकट युवा संघका सिमराका अरबिन्द साह र आरिफ खानलाई पक्राउ नगरेसम्म वार्ता नजाने बताए ।

वार्ताका लागि आफूहरू सकारात्मक रहेको उनले बताए । 'हामीलाई कुटपिट गर्ने ती मुख्य व्यक्ति पक्राउ नपरेसम्म वार्तामा जाँदैनौँ,' उनले भने,  'पक्राउ परे सम्भवत: शुक्रबार १० बजेपछि वार्तामा जान्छौँ । हामीले साढे ४ बजेदेखि प्रदर्शन रोकेका छौँ ।´ 

लक्ष्मी साह साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully