जेन जी आन्दोलन : के गर्दैछन् देउवा, ओली र दाहाल ?

देउवा र दाहाल परिवर्तन स्विकार गर्न तयार, ओली देख्दैछन् षड्यन्त्र

आश्विन २७, २०८२

कुलचन्द न्यौपाने, गंगा बीसी

Gen G Movement: What are Deuba, Oli and Dahal doing?

What you should know

काठमाडौँ — विघटित प्रतिनिधीभाका प्रमुख कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्दका संयोजक पुष्पकमल दाहाल निवासमा आगजनी भएपछि विस्थापित भएका छन । जेन जी आन्दोलनपछि देउवा सार्वजनिक भएका छैनन भने ओली नयाँ निवास भक्तपुरको गुन्डुमा बसेर राजनीतिक गतिविधि सुरु गरेका छन । दाहाल केन्दीय कार्यालय पेरिसडाँडामा नियमित आउन थालेका छन । उनको राजनीतिक भेटघाट पेरिसडाँडाबाट केन्दित गरेका छन ।

कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा जेन जी आन्दोलनको हिंसात्मक आक्रमणमा घाइते भएपछि सार्वजनिक भएका छैनन् ।

भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले बुढानीलकण्ठस्थित निवासमा आक्रमण गरी देउवा र उनकी पत्नी आरजु राणा देउवालाई लागेको चोट त निको हुने क्रममा छ तर उनको राजनीतिक सक्रियताको टुंगो छैन । स्वास्थ्य उपचारपछि उनी काठमाडौंको चुनदेवी क्षेत्रमा घर भाडा लिएर स्वास्थ्य लाभ गरिरहेका छन् । हाल उनीहरुको स्वास्थ्यको फलोअप समेत घरबाटै भइरहेको छ ।

देउवाले दशैमा शुभकामना दिने बाहेक सार्वजनिक मञ्चमा कतै पनि देखिएका छैनन् । विहीबारको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकमा समेत देउवा उपस्थित भएनन । उनी उपस्थिति हुने आधारमा कुपोन्डलको हिमालयन होटलमा बैठक बस्ने भनिएको थियो । तर,उनको अनुपस्थित हुने भएपछि सानेपाको केन्द्रीय कार्यालयमा नै बैठक बसेको थियो । जेनजी आनदोलनलगतै बसेको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल वैठकमा समेत देउवा उपस्थित भएका थिएनन ।

उनी निकट नेताहरुका अनुसार आफ्ना केही विश्वासपत्रा बाहेक देउवाले भौतिक रुपमा पार्टीका अन्य नेता तथा कार्यकर्तासंग समेत भेटघाट गरेका छैनन । उनी बस्ने स्थानका बारेमा समेत पार्टी पंक्तिलाई समेत जानकारी दिईएको छैन । जेनजी आन्दोलनको परिवर्तनपछि कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विभिन्न माध्यमबाट देउवालाई नेतृत्व छाडेर उपसभापति पुर्णबहादुर खडकालाई कार्यबाहक दिन आग्रह गरेका थिए ।

देउवा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालसँग भने टेलिफोन संवादमा छन् । पार्टीका बैठक र गतिविधि संचालनका लागि अधिकार दिएपनि देउवाले कार्यबाहक दिएनन । त्यसपछि महामन्त्रीद्वय थापा र शर्माको पहलकदमीमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान थालेपछि देउवाले आफू निकटस्थहरुसंग केही समय टोलीफोन र पछिल्लोपटक विश्वासपात्र नेतालाई मात्रै भौतिक रुपमा राजनीतिक भेटघाट गरेका हुन । उनले उपसभापति पुर्णबहादुर खडका प्रवक्ता प्रकाशशरण महत, नेता कृष्णप्रसाद सिटौलासहित केही नेताहरुसँग मात्रै भौतिक रुपमा भेटेका छन् । अन्य नेताहरुसँग भने फोनबाटै संवाद गरीरहेको उनी निकट एक नेताले बताए ।

उमेरले असी कटेका देउवा शारीरिक रुपमा पनि अझै पनि तन्दुरुस्त भइसकेका छैनन । चिकित्सकहरुले उनको स्वास्थ्य सुधारको प्रक्रिया ढिला भइरहेको बताएका छन । भदौ २४ को घटनाले देउवा दम्पतिले अझैपनि सुरक्षित महशुस गरेका छैनन । त्यसैले पनि सार्वजनिक हुन नचाहिरहेको उनी निकट नेताहरुको भनाई छ । दशैंको शुभकामना सन्देश जारी गर्दा पनि उनले जेनजी आन्दोलनलाई ’इतिहासकै अकल्पनीय र दुःखद’ भनेका थिए ।

घरमा आक्रमण गर्दैछन भन्ने कुरा देउवा दम्पतिलाई जानकारीमा नभएको होइन । विहानै पार्टीका नेता र सुरक्षाकर्मीले समेत घरमा नबस्नका लागि खवर पठाएका थिए । तर, देउवा निकट नेताहरु सशस्त्र र जनपदका सुरक्षाकर्मी थपिएपछि सुरक्षीत हुनेमा ढुक्क जस्तै देखिएर घरमै बसेको बताउँछन ।

आक्रमणबाट देउवा रगताम्य भएका थिए । उनको गर्धन र घाँटीमा गहिरो चोट लागेको थियो । हेलीकप्टर अवतरण गर्न नसकेपछि करिव आठ घण्टासम्म उनीहरुलाई घरछेउको चउरमा सेना, सशस्त्र र जनपथका सुरक्षाकर्मीले पहरा दिएर राखेका थिए । प्रदर्शनकारी फर्किएपछि मात्रै उनलाई सेनाको गाडीबाट उद्धार गरेर छाउनीस्थित सैनिक अस्पताल लगिएको थियो । उपत्यका उपचार भएपछि देउवा दम्पतिलाई शिवपुरिस्थित व्यारकेमा राखिएको थियो । थप उपचार र फलोअप त्यहिबाट भएको थियो । दशैं अघि उनीहरु केही दिन आफन्तकोमा र पछि चुनदेवी क्षेत्रमा डेरामा बस्न थालेको नेताहरुले बताएका छन् । तर, औपचारिक रुपमा अझैपनि देउवा कहाँ बसेका छन भन्नेबारे उनी निकटस्थहरुसमेत बताउन चाहदैनन् ।

कांग्रेसका दुई महामन्त्रीले जेनजी आन्दोलनपछि पार्टी पुर्नगठन अत्यावश्यक रहेको बताउँदै आएका छन । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले देउवाको स्वास्थ्य पुर्ण रुपमा ठिक हुन बाँकी रहेको बताए । उनका अनुसार २६ गतेबाट सुरु हुने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा भने उनी आफैले अध्यक्षता गर्नेछन । ‘आजै (सोमबार) मैले भेटेको थिएँ । सभापतिले पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा सबै सिनियर साथीहरु हुनुहुनेछ । यसले एउटा एजेण्डा तय गर्ने हो । केन्द्रीय कार्यसमितिको बैठकमा म आउँछु यसमा तपाई सिनियर बसेर छलफल गर्नुहोस भनेर भन्नुभएको हो’ महतले भने ।

पछिल्लो राजनीतिक अवस्थाका बारेमा पदाधिकारी र पूर्व पदाधिकारीसहित धेरैसँग छुट्टाछुट्टै भेटघाट भएको महतले बताए । ‘सामूहिक रुपमा अलि बाक्लो भेटघाट भएको छैन, पदाधिकारीसहित धेरै सिनियर साथीहरुसंग भेटेर कुराकानी गरीरहनु भएकै छ’ उनले भने ।

कांग्रेसका दुई महामन्त्रीले जेनजी आन्दोलनपछि पार्टी पुर्नगठन अत्यावश्यक रहेको बताउँदै आएका छन । त्यसका लागि नेतृत्व परिवर्तनलाई उनीहरुले पहिलो प्राथमिकता बनाइरहेका छन । देउवा आगामी महाधिवेशबाट थप नेतृत्वमा विधान नै छेक्ने भएकाले प्रतिकुल अवस्था रहुञ्जेल केही समय उनकै नेतृत्व लम्ब्याउन सकिन्छ कि भन्ने चाहना उनकै वरीपरी रहेका नेताहरुको देखिएको छ । तर, देउवा आफ्नो सम्मानजनक बहिगर्मन चाहेका छन । त्यसकालागि विशेष महाधिवेशनबाहेकका विकल्पबारे उनले परामर्श गरीरहेको कतिपय नेताहरुको बुझाई छ । त्यसकालागि तत्काल कार्यबाहक सभापति दिने वा केन्द्रीय कार्यसमिति विघटन गरेर कुनै नेताको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठनगर्ने भन्ने बिषय अहिले बहसमा छ । ‘यसबारेमा विभिन्न कोणबाट दृष्टिकोण आएका हुन, अहिल्यै यसो गर्ने भन्ने कुनै कुरा भएको छैन’ महतले थपे, ‘आउने केन्द्रीय कार्यसमितिको बैठकपछि कसरी अघि बढ्ने भन्नेबारेमा उहाले केही बताउनुहोला ।’

०००

भदौ २३ मा जेन जी आन्दोलनमा १९ जनाको मृत्यु भएपछि तत्कालीन प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ मा अकल्पनिय घटना हुने अनुमान गरेका थिएनन् । त्यही दिन गृहमन्त्री रमेश लेखकले राजीनामा दिए पनि उनी स्थिति सामान्य हुनेमा ढुक्क जस्तै देखिएका थिए ।

Gen G Movement: What are Deuba, Oli and Dahal doing?

बरु उनलाई जेन जी आन्दोलनमा घुसपैठका कारण युवाको मृत्यु भएको दाबी गरिरहेका थिए । उनले त्यो दाबी अहिले पनि छाडेका छैनन् । भदौ २४ मा थप विध्वंसात्म्क प्रदर्शन हुन थालेपछि राजीनामा दिन ओलीमाथि दवाव परिरहेको थियो । राजधानी काठमाडौंलगायत दशैभरि प्रदर्शन हुन थालेपछि सेना, नेपाल, प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुखहरुले राजीनामा दिन सुझाव दिइरहेका बेला ओलीले स्थिति सम्हाल्न निर्देशन दिइरहेका थिए । भदौ २४ दिउँसो दुई बजेसम्म संसद भवन, सिंहदबार, त्यहाँ रहेका बिभिन्न मन्त्रालय, सर्वोच्च अदालतलगायत आगजनी, तोडफोड भइसकेपछि ओली राजीनामा दिन तयार भए । त्यतिबेलासम्म प्रदर्शनकारी प्रधानमन्त्री निवास बालुवाटार छिरिसकेका थिए ।

सेना, प्रहरीको घेरामा रहेका उनले ‘मुलुकमा उत्पन्न असमान्य परिस्थिति परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकास’ का लागि राजीनामा दिएको बताएका थिए । लगत्तै उनलाई सेनाको हेलिकप्टरले रेस्क्यु गरी मकवानपुरको चिल्लाङ ब्यारेकमा पुर्‍याएको थियो । प्रदर्शनकारीको आगजनी, तोडफोड र लुटपाटबाट उनको भक्तपुरको बालकोटस्थित घर ध्वस्त भइसकेको थियो । सेनाको ब्यारेकमा १० दिन बसेपछि उनी असोज २ मा भाडाको घर गुन्डुमा सरेका थिए । एमाले नेता महेश बस्नेतले व्यवस्थापन गरेको घरमा उनी बस्दै आएका छन् ।

पूर्व न्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न ओलीले सहमति दिएका थिएअसोज २ मा गुन्डुमा सरेपछि उनी अति निकट नेताहरुसँग भेटघाट सुरु गरेका थिए । सेनाको ब्यारेकमा बस्दाखेरि नै उनले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीसँग टेलिफोन संवाद गरेका थिए । असोज ४, ५ मा उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीलाई बोलाएर छलफल गरे । त्यसबेलासम्म उनी सार्वजनिक भइसकेका थिएनन् । एमालेले असोज ३ मा आगजनीबाट ध्वस्त भएको केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवसमा ओली सार्वजनिक चर्चा भए पनि त्यो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे‍, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेता उपस्थित भएका थिए । गुन्डु सरेपछि उनले स्वास्थ्य उपचार गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद गरेका थिए ।

असोज ७ मा उनी पहेलो कुर्ता, कालोटोपी, सेतो सुरुवाल लगाएको पहिरनमा सार्वजनिक भए । कार्यकर्ता र समर्थकसँग खिचेका तस्विर सार्वजनिक भए । असोज ११ मा युवा संघले गुन्डुमा आयोजना गरेको कार्यक्रमलाई जेन जी आन्दोलनपछि पहिलो पटक सम्बोधन गरे । उनले पूर्व प्रधानन्यायाधीशको सरकार ‘हा हूँ’ बाट बनेको भन्दै देशलाई संवैधानिक, लोकतान्त्रिक मूलधारमा ल्याउने बताए । जेन जी आन्दालनबाट वहिर्गमन भएको एक महिनापछि ओलीले बिहीबार गुन्डुमै अर्को सार्वजनिक सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गैरसंवैधानिक भएको, सरकार संविधान विपरित गठन भएको दाबी गरे । उनले संसद पुनर्स्थापनका लागि आन्दोलनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

तर पूर्व न्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न ओलीले सहमति दिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलको संयोजनमा भएको संवादमा ओलीलगायत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको सहमति भएको थियो । जेन जी आन्दोलनपछि असोज १२ मा एमाले केन्द्रीय सचिवालय बैठकले सरकारले ओलीलगायतको पासपोर्ट रोक्का गरी राजनीतिक प्रतिशोध लिन खोजेको निस्कर्ष निकाल्यो ।

अध्यक्ष ओलीले शुक्रबार र आइतबार पनि पदाधिकारी बैठक गुन्डमै गरेका छन । तर सचिवालय बैठक उनल सोचेजस्तो भएन । सचिवालयका १८ नेतामध्ये १० नेताले नेतृत्व हस्तान्तरण गर्ने मत राखे ।

पार्टीभित्र नेतृत्व र संगठनको पुनर्गठनको माग भए पनि ओलीले बेवास्ता गर्दै आएका छन् । जबकि कांग्रेस र माओवादी अध्यक्षले नेतृत्व छाड्ने बताइसकेका छन् ।

ओलीले यो एक महिनाको अवधिमा जेन जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिलाई षडयन्त्रको रुपमा हेर्दै आएका छन् । उनले आफ्नो नेतृत्वको सरकारका कारण जेन जी आन्दोलन नभई राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, सावैभौमिकताका पक्षमा आफ्नो अडानका कारण षडयन्त्र भएको दाबी गर्छन् । उनले विगतको आत्मालोचना गर्ने पक्षमा छैनन् बरु आफ्नो नेतृत्वको सरकारले सुशासनलगायतका क्षेत्रमा राम्रो काम गरेको दाबी गर्दै आएका छन् । ‘केपी ओली सच्चिने बाटोमा हुनुहुन्न । उहाँले जेन जी आन्दोलन, मानवीय र भौतिक क्षति हुनुमा विदेशी शक्तिको षड्यन्त्र ठान्नुहुन्छ’ उनलाई भेटेका एक नेताले भने, ‘ओली नेतृत्व हस्तान्तरण गर्ने मनस्थितिमा पनि हुनुहुन्न । यसले एमालेलाई झन् ठूलो क्षति पुर्‍याउने देखिन्छ ।’

एमाले प्रवक्ता राजेन्द्र गौतमले ओली गुन्डु निवासमै रहेर राजनीतिक सक्रियता बढाइरहेको बताए । ‘भौतिक रुपमा राजनीतिक सक्रियता कमी आएको होला तर राजनीतिक सक्रियतामा कमी छैन’ उनले भने ।

यो बीचमा उनले पूर्व राष्ट्रपति विद्या भण्डारीसँग कुराकानी गरेका छैनन् । भदौ तेस्रो साता विधान महाधिवेशनमा उनले भण्डारीलाई सहभागी हुन रोकेका थिए । तर उनी पक्षका नेताहरु वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरु ज्ञवाली र पाण्डेसँग भने कुराकानी गरेका छन् ।

ओलीको स्वकीय सचिव राजेश बज्राचार्यले गुन्डुको बसाई अलि साँघुरो भएको बताए । ‘अध्यक्षले बिहानैदेखि बेलुकासम्म राजनीतिक भेटघाट गरिरहनु भएको छ’ उनले भने, ‘मुख्य गरी राजनीतिक भेटघाटमै व्यस्त हुनुहुन्छ ।’

ओली सार्वजनिक भएदेखिनै गुन्डुबाट निस्केका छैनन् । भदौ २९ देखि हुने केन्द्रीय कमिटी बैठकका लागि उनी निस्कने तयारी गरेका छन् ।

००००

भदौ २३ मा काठमाडौंमा जेन जी आन्दोलन भइरहेका बेला माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल पार्टीको मध्यपहाडी राजमार्ग अभियान अन्तर्गत गोरखामा थिए । उनले त्यहीबाट उनले जेन जीले उठाएका भ्रष्टाचार बिरोधी आन्दोलनलाई समर्थन गरेका थिए । त्यही दिन काठमाडौंमा जेन जी आन्दोलनमा १९ युवाको मृत्यु भएपछि माओवादीले अभियान स्थगित गरी दाहाललगायत नेता काठमाडौं फर्किएका थिए । उपमहासचिब जनार्दन शर्माले जेन जी आन्दोलनमा धेरै मानवीय क्षति भएकाले काठमाडौं फर्कन दाहाललाई आग्रह गरेका थिए ।

Gen G Movement: What are Deuba, Oli and Dahal doing?

काठमाडौं फर्केलगत्तै दाहाल निवास खुमलटार (जुन पछि प्रदर्शनकारीको आगजनीबाट ध्वस्त भइसकेको छ ) मा राति ९ बेज भएको केन्द्रीय पदाधिकारी बैठकमा उनले ‘ओलीले राजीनामा दिएपछि अरु कुनै दलको हातमा सरकार आउने’ बताएका थिए । ‘अध्यक्ष एक प्रकारले आफ्नो हातमा सत्ता आउने संकेत गर्नुभएको थियो’ एक पदाधिकारीले भने । त्यो बैठकले ठूलो मानवीय क्षति भएको भन्दै ओलीले राजीनामा दिनुपर्ने निस्कर्ष निकालेको थियो ।

भदौ २४ मा बिहान आठ बजे तत्कालीन प्रमुख प्रतिपक्ष दलको नेताका हैसियतले दाहालले विपक्षी दलको बैठक सिंहदबारमा बोलाएर ओलीले राजीनामा दिन दबाब दिने निर्णय गरे । उनी सिंहदबारमै रहेका बेला उनको खुमलटारस्थित निवासमा तोडफोड र आगजनी सुरु भइसकेको थियो । प्रर्दशनकारीले सिंहदबार घेरा हालिसकेका थिए । उनीसँगै एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल पनि थिए । प्रदर्शनकारीले सिंहदबारको गेट फोडेर भित्र छिरेर भौतिक संरचनामा आगजनी सुरु गरेपछि सुरक्षाकर्मीले दुबै नेतालाई सिंहदरबारमै रहेको सेनाको ब्यारेकमा लगेर राखेको थियो । 

भदौ २८ मा सेनाको ब्यारेकबाट निस्किएका उनी भदौ ३१ मा आगजनीबाट क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरे । जेन जी आन्दोलनपछि एक सातापछि सार्वजनिक भएका उनले सबैको सहयोगमा केन्द्रीय कार्यालय बनाउने प्रतिक्रिया दिए । दुई दिन काठमाडौंको उत्तरीक्षेत्रका एक कार्यकर्ताको घरमा बसेका उनी हाल ललितपुरको हात्तीवन क्षेत्रमा बस्दै आएका छन् ।

जेन जी आन्दोलनपछि देउवा र ओलीको तुलनामा राजनीतिक सक्रियता बढाएका उनले यो बीचमा पदाधिकारी, केन्द्रीय समिति बैठक गरी विशेष महाधिवेशनमा जाने निर्णय गराइसकेका छन् । असोज १० मा प्रज्ञा प्रतिष्ठानमा भएको दुई दिने बैठकले केन्द्रीय समिति भंग गरी फागुन साता विशेष महाधिवेशन गर्ने, फागुन २१ मा घोषणा भएको निर्वाचनमा भाग लिने निर्णय गरिसेको छ ।

दाहालले जेन आन्दोलनले उठाएका प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख, भ्रष्टाचार बिरोधी अभियानलाई समर्थन गर्दै युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएका छन् । देउवा र ओलीभन्दा फरक धारणा राख्दै आएका उनले आगामी निर्वाचनमा भाग लिने निर्णय गर्दै तयारीमा लाग्न तल्ला समितिलाई लिखित निर्देशन दिइसकेका छन् ।

‘तोकिएकै समयमा निर्वाचन गराए राजनीतिलाई सही दिशामा लैजान अध्यक्ष सक्रिय हुनुहुन्छ’- माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाअसोज ३ मा भएको संविधान दिवसमा राष्ट्रपति निवासमा भएको कार्यक्रममा उनी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेट भएको थियो । यो बीचमा उनले कांग्रेस सभपाति शेरबहादुर देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग कुराकानी गरिहेका छन् । पछिल्लो केन्द्रीय सचिवालय बैठकमा उनले संसद पुनःस्थापनाको पक्षमा जान नसकिने भन्दै निर्वाचनमा गएर मात्र संविधान, गणतन्त्र, संघीयता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सकिने बताएका थिए । जेन जी आन्दोलनपछि १४ असोजमा दाहाल उपत्यका छाडेर सिन्धुपाल्चोक पुगे । उनी दसैंको छुट्टीमा त्यहाँ पुगेका थिए ।

माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले दाहाल गतिशील नेता भएकाले निर्वाचनको पक्षमा राजनीतिक सक्रियता बढाएको बताए । ‘तोकिएकै समयमा निर्वाचन गराए राजनीतिलाई सही दिशामा लैजान अध्यक्ष सक्रिय हुनुहुन्छ’ उनले भने, ‘उहाँ सँधै गतिशील हुने नेतामा पर्नुहुन्छ । संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने परिवर्तनको संवाहक भएको हुनाले जिम्मेवारी वोधका साथ सक्रिय हुनुहुन्छ ।’ दाहालका प्रमुख स्वकीय सचिब गोविन्द आचार्यले निवासको टुंगो नलागेको हुनाले दिनहुँ केन्द्रीय कार्यालय पेरिसडाँडामा आएर भेटघाट गरिरहेको बताए । ‘आन्तरिक पार्टी र बाहृय भेटघाटहरु केन्द्रीय कार्यालयबाट हुने गरेको छ’ उनले भने, ‘अध्यक्ष तोकिएको समयमा निर्वाचन सम्पन्न गरी चुनौतीलाई अवसरमा बदल्न लाग्नु भएको छ । निर्वाचनबाट मात्र संविधानको रक्षा गर्न सकिनेमा अध्यक्षको स्पष्ट बुझाइ छ ।’

माओवादीले अधिवेशन वा एकता महाधिवेशन गर्ने पार्टीको कार्यक्रमसँगै निर्वाचनमा होमिने निर्णय गरिसकेको छ ।

कुलचन्द

गंगा

Link copied successfully