प्रदर्शनको दोस्रो दिन बुढानीलकण्ठस्थित निवासमै रहेका देउवा दम्पत्तीमाथी घरभीत्रै कुटपिट र आक्रमण भयो । त्यस दिन के-के भएको थियो अनि उनीहरुको अहिलेको अवस्था के छ ?
काठमाडौँ — गत भदौ २४ गते प्रदर्शनकारीको कुटपिट र लछारपछारमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपराष्ट्रमन्त्री आरजु राणा देउवा यतिबेला शिवपुरीस्थित सैनिक तालिम केन्द्रमै छन् ।
देउवाको गर्धन र ढाडमा गहिरो चोट रहेकाले अझै केही दिन उपचारमै रहनुपर्ने कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताए । ‘म नियमित सम्पर्कमा छु । उहाँहरुको अवस्थामा सुधार हुँदै छ । सभापतिमा गहिरो चोट छ । त्यसको सुधारका लागि केही दिन अझै उपचारमै राख्नुपर्ने अवस्था छ । भाउजूको अवस्थामा सुधार भएको छ,’ खड्काले भने, ‘उहाँको सुरक्षित रुपमा उपचार भइरहेको छ ।’
देउवालाई धेरै बोल्न मन नलाग्ने र बेलाबेलामा उभिदा रिँगटा लाग्ने गरेको उनका सहयोगीहरुले बताए । ‘बाहिर गएपछि फेरि राजनीतिक तनाव हुन्छ । केही दिन शान्त वातावरणमा राख्नुपर्छ भनेकाले उहाँलाई अझै केही दिन राख्नपर्ने अवस्था आउन सक्छ,’ उनका एक सहयोगीले भने, ‘भाउजूको स्वास्थ्यमा सुधार भए पनि उहाँ ट्रमामा नै हुनुहुन्छ ।’
भदौ २४ गते प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित निवासमै रहेका देउवा दम्पतीमाथि कुटपिट र लछारपछार गरेका थिए । अन्य राजनीतिक दलका नेता समयमै सुरक्षित स्थानमा गए पनि देउवा दम्पतीले नेपाली सेना र आफ्नै पार्टीका नेताहरूको आग्रहलाई बेवास्ता गरी घरमै बस्ने निर्णय लिएका थिए । निवास र आफ्नो सुरक्षाका लागि सेना, सशस्त्र प्रहरी र प्रहरीका सुरक्षाकर्मी समेत भएपछि उनी सुरक्षित हुने आसमा थिए । ‘यत्रो सुरक्षाकर्मीले पनि बचाउन सक्दैनन् भने कहाँ भएर सुरक्षित भइन्छ त ?' घरबाहिर निस्कन नेताहरुले आग्रह गर्दा उनको भनाइ थियो ।
२४ गतेको आक्रमणमा कति बेला के भयो ?
देउवा चोकमा बिहान ९ बजेदेखि नै प्रदर्शनकारीहरू जुलुससहित ठूलो संख्यामा भेला भए । उनीहरु जिन्दावाद र मुर्दावादका नारा लगाइरहेका थिए । एकजना प्रहरी निरीक्षक (पीएसओ) अवलोकनका लागि त्यहाँ पुगे । प्रदर्शनकारीको संख्या बढ्दै गएपछि प्रहरीले थप सुरक्षाकर्मी मगाउन रिपोर्ट गर्यो । देउवा निवासको गेट र वरपर सुरक्षाकर्मी तैनाथ गरियो ।
देउवा चोकमा बढ्दै गएको भिड अगाडि बढ्न थाल्यो । प्रदर्शनकारीहरूले निवासको गेटमा पुगेर नाराबाजी र जुलुस तीव्र पारे । उनीहरू भित्र प्रवेश गर्न खोजे । सुरक्षाकर्मीले केही समय रोक्ने प्रयास गरे तर ठेलमठेल र भनाभन भयो । प्रदर्शनकारीहरूले पछाडिपट्टिको पर्खाल हल्लाउन र भत्काउन थाले । सुरक्षाकर्मी स्थिति नियन्त्रण गर्न असफल भए ।
प्रदर्शनकारीहरू पर्खाल र गेट भत्काएर देउवा निवासभित्र प्रवेश गरे । यतिबेला करिब साढे १२ बजेको थियो । भित्र प्रवेश गरेपछि धक्कामुक्की र कुटपिट सुरु भयो । एक प्रहरी निरीक्षक र देउवाका सहयोगी भानु देउवाले सम्झाइबुझाइ गर्न खोजे । तर, प्रदर्शनकारीले देउवाकै एक अंगरक्षकलाई अर्धनग्न बनाएर लखेट्ने प्रयास गरे ।
प्रदर्शनकारीहरूले देउवा दम्पतीलाई कब्जामा लिए । देउवालाई फलामको रडले गर्धनमा प्रहार गरियो, उनी रगताम्मे भए । पत्नी आरजुलाई पटक–पटक मुक्का प्रहार गरी भुइँमा लडाइयो र लछारपछार गरियो । घरको ढोका तोड्ने र आगजनी गर्ने प्रयास भयो । देउवा दम्पतीले घरभित्र बस्न नसक्ने अवस्था देखेपछि अर्को ढोकाबाट निस्कने प्रयास गरे, तर उनीहरूलाई समातेर कुटपिट गरे ।
नेपाली सेनाको हेलिकोप्टर उद्धारका लागि पुग्यो, तर प्रदर्शनकारीले ढुंगा र पानीका बोतल प्रहार गरेपछि अवतरण गर्न सकेन । अर्को प्रयासमा पनि अवतरण भएन । सेनाले देउवा दम्पतीलाई कम्पाउन्डबाट भर्याङ र काँडेतार पार गरी खाली चौरमा पुर्यायो । प्रदर्शनकारीले ढुंगामुढा गरेपछि जस्तापाताले छेकेर उनीहरूलाई सुरक्षित राखियो । मेडिकल टोलीले चौरमै प्रारम्भिक उपचार समेत गरेको थियो ।
प्रदर्शनकारीहरूले निवासभित्र लुटपाट सुरु गरे । सुनचाँदी, भाडाकुँडा, पैसा लगायतका सामान लुटियो । लुटपाटपछि घरमा आगो लगाइयो, जसले निवास पूर्ण रूपमा ध्वस्त भयो । प्रदर्शनमा गएका केही व्यक्तिले नै थप आक्रमणबाट बचाएकाले देउवा दम्पतीको ज्यान जोगिएको थियो ।
पटकपटक हेलिकोप्टरबाट उद्धार गर्न खोज्दा प्रदर्शनकारीहरुले अवरोध गरे । अन्तत: सेनाको गाडीमार्फत नै देउवा दम्पतीलाई उद्धार गरियो । उनीहरुलाई सैनिक अस्पतालमा प्रारम्भिक उपचारपछि शिवपुरीस्थित तालिम केन्द्रमा सेनाको गाडीबाटै पुर्याइएको थियो । अहिले उनीहरुको शिवपुरीमा नै चिकित्सक टोलीले उपचार गरिरहेको छ । देउवाको गर्धनमा गहिरो चोटका कारण उनलाई बोल्न र उठ्न कठिन भइरहेको छ ।
