दुई दिनका अवधिमा देशभर भएका आगजनी, लुटपाट, सार्वजनिक सम्पत्तिको तोडफोड र सर्वसाधारणमा त्रास सिर्जना गर्ने विभिन्न घटनासँग सम्बन्धित दृश्य तथा लिंकहरू प्रहरीको इमेल र वेबसाइटमार्फत प्राप्त भएका हुन् ।
काठमाडौँ — भदौ २३ र २४ गते काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भएको आन्दोलन र प्रदर्शनका क्रममा ३७ हजारभन्दा बढी तस्बिर, भिडियो तथा सामाजिक सञ्जालका लिंक नेपाल प्रहरीले प्राप्त गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार ती दुई दिनका अवधिमा देशभर भएका आगजनी, लुटपाट, सार्वजनिक सम्पत्तिको तोडफोड र सर्वसाधारणमा त्रास सिर्जना गर्ने विभिन्न घटनासँग सम्बन्धित दृश्य तथा लिंकहरू प्रहरीको इमेल र वेबसाइटमार्फत प्राप्त भएका हुन् ।
प्रहरीले यसअघि विज्ञप्ति जारी गर्दै आम नागरिकलाई आन्दोलनका क्रममा देखिएका अवाञ्छित गतिविधि, हिंसात्मक घटना वा त्यससँग सम्बन्धित प्रमाण फोटो–भिडियो पठाउन अनुरोध गरेको थियो ।
