बाढीपहिरोपीडितलाई अस्थायी आवास बनाउन ५० हजार दिने सरकारको निर्णय

मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने

आश्विन २१, २०८२

कान्तिपुर संवाददाता

Government's decision to give 50,000 to make temporary housing for flood victims

काठमाडौँ — सरकारले बाढीपहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को मंगलबारको बैठकले मापदण्डअनुसार नै राहत वितरण गर्ने निर्णय गरेको हो ।

मापदण्डअनुसार मृतकका परिवारले दुई लाख रुपैयाँ राहत पाउनेछन् । बाढीपहिरोबाट विस्थापित भएकाहरुलाई अस्थायी आवास निर्माणको लागि ५० हजार रुपैयाँ दिने निर्णय पनि भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार अस्थायी आवास निर्माणका लागि तत्काल २५ हजार रुपैयाँ र आवासको संरचना निर्माण गरेपछि २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको बताए । उनले स्थायी आवास निर्माणका लागि भने हिमालमा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ उपलब्ध गराइने जानकारी दिए । 

बैठकले सडक तथा अत्यावश्यक सेवा सुरु गर्न तीन वटै तहका सरकारबीच समन्वय गर्ने निर्णय पनि गरेको छ । सडकहरू संघीय, प्रदेश र स्थानीय सरकारको भएको हुनाले तद् निकायले आफ्नो सडक सेवा, खानेपानी विद्युत, सञ्चार लगायतका अत्यावश्यक सेवाहरु तत्काल सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

उक्त कार्यका लागि प्रदेश र स्थातीय सरकारलाई केन्द्र सरकारले सहयोग गर्ने निर्णय भएको छ । विपद्पछि महामारीको संभावना देखिएकोले स्वास्थ्य मन्त्रालयसँगै प्रदेश र स्थानिय सरकारका स्वासथ्य संस्थाले संयुक्त रुपमा पहल गरेर शतर्कता अपनाउने निर्णय गरिएको उनले जानकारी दिए । 

कान्तिपुर

Link copied successfully