शोकमा इलामका गाउँ–बस्ती, मृतकको सामूहिक अन्त्येष्टि

बाढीपहिरोका कारण इलाममा मात्र ३९ को ज्यान गएको छ भने ७० परिवार विस्थापित भएका छन् । 

आश्विन २१, २०८२

लक्ष्मी गौतम

Villages of Elam in mourning, mass burial of the dead

What you should know

इलाम — इलाम नगरपालिका–६ चुरेघाँटीनजिकै रहेको गुम्बाडाँडामा सामूहिक अन्त्येष्टिका लागि ३ जनाको शव पुर्‍याउनुअगावै रुवाबासी सुरु भइसकेको थियो ।

घोस गाउँका विराज पाख्रिनको घर पहिरोले पुरिँदा ज्यान गुमाएका तीन जनाको शव एकसाथ त्यहाँ पुर्‍याउँदा स्थानीयमा कोलाहल मच्चियो ।

लाठेहरूले चिता तयार गरेपछि शव राखियो । बौद्ध संस्कारअनुसार दागबत्ती दिएर आगो सल्काएपछि स्थानीयले मट्टी दिन थाले । मलामीको समूहमा ७६ वर्षीय मनबहादुर लिम्बू पनि थिए । भीड हटेपछि उनले पनि पाख्रिन परिवारका सदस्यलाई मट्टी दिए, आगो दनदनी बल्न थाल्यो ।

हेर्दाहेर्दै मनबहादुरका आँखा रसाए । ‘छिमेकीले छोडे, उनीहरू एकै ठाउँ सँगै गए, काल आएपछि कसको के नै पो लाग्दो रहेछ र ?’ उनी दुखेसो पोख्दै थिए । मनबहादुरले यसो भनिरहँदा उपस्थित मलामीजन झनै भावुक देखिए ।

इलामकै सूर्योदय–१ का राजु क्षेत्रीको घर माथिदेखि खसेको पहिरोले पुर्दा ज्यान गुमाएका ५ जनाको पनि सोमबार सामूहिक दाहसंस्कार गरियो । इलामको फिक्कल अस्पतालमा पोस्टमार्टम गरेर मानेभन्ज्याङ घाटमा पुर्‍याएर उनीहरूको अन्त्येष्टि गरिएको थियो । ‘थुप्रै आफन्तलाई दागबत्ती दिइयो, कालगतिले आफूभन्दा सानो उमेरकालाई पनि लग्यो, ठूलालाई पनि लग्यो । हाम्रो परिवारमा प्रकृतिको घटना पहिलोचोटि भएको हो । कति समाचारमा दुर्घटना परेकाहरूको सामूहिक अन्त्येष्टि गरेको सुनिन्थ्यो आज आफैं व्यहोर्नुपर्‍यो,’ मृतक मनमाया क्षेत्रीका भाइ देवी क्षेत्रीले भने ।

इलाम पहिरोमा ज्यान गुमाएका ३९ मध्ये अधिकांशको सोमबार अन्त्येष्टि गरिएको छ । मानेभन्ज्याङका ५ र घोषका ३ तथा देउमाईका ७ मध्ये ३ जनालाई एक ठाउँ र ४ जनालाई २ ठाउँ गरी ३ ठाउँमा अन्त्येष्टि गरिएको छ । यस्तै सन्दकपुर र माङसेबुङका अधिकांश मृतकको सामूहिक अन्त्येष्टि गरिएको थियो ।

पहिरोमा परेर ज्यान गुमाएका इलाम र सूर्योदय नगरपालिकाबाहेक अन्यत्रका मृतकको पोस्टमार्टम गरिएन । दुर्गम बस्तीहरूमा पहिरो गएको र पोस्टमार्टम गर्न अस्पतालसम्म लैजान बाटोको कठिनाइले गर्दा गृह मन्त्रालयसँगको समन्वयमा आवश्यक कागजात र मुचुल्का तयार पारेर घटना भएकै ठाउँमा अन्त्येष्टि गर्न भनिएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् ।

‘अस्पताल र प्रशासनलाई रेकर्डका लागि आवश्यक पर्ने कागजात घटनास्थलमै खडा गरेर पोस्टमार्टम नगरी अन्त्येष्टि गर्न अनुमति दिइएको हो,’ नेपालले भनिन् ।

सबैभन्दा धेरै मानवीय क्षति भएको इलाम, सूर्योदय र देउमाई नगरपालिकासँगै माङसेबुङ, माई र सन्दकपुर गाउँपालिकाका गाउँ–बस्ती यतिबेला शोक डुबेका छन् । ‘एकसाथ यत्तिका जनधनको क्षति हुने गरी विपद् आएको यो पहिलो पटक हो, पूरै जिल्ला शोकमा छ, सँगै पुनर्निर्माणको दायित्व पनि सिर्जना भएको छ,’ सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले बताए । बाढीपहिरोका कारण इलाममा मात्र ३७ को ज्यान जानुका साथै २ बेपत्ता र ७० परिवार विस्थापित भएको तथ्यांक इलाम प्रशासनले सार्वजनिक गरेको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully