कान्ति लोकपथको पहिरो हटाएरसँगै हेटौंडाबाट काठमाडौं जाने सबै सडक सञ्चालनमा

मकवानपुरको बकैया गाउँपालिका-११ स्थित घट्टेपाखामा आएको ठूलो पहिरो हटाएपछि कान्ति लोकपथ पुनः सञ्चालनमा आएको हो । 

आश्विन २०, २०८२

प्रताप विष्ट

All the roads from Hetaunda to Kathmandu are operational after the landslides of Kanti Lokpath have been removed

हेटौंडा — पहिरोले तीन दिनदेखि अवरुद्ध बनेको कान्ति लोकपथ सोमबार बेलुकादेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।  मकवानपुरको बकैया गाउँपालिका-११ स्थित घट्टेपाखामा आएको ठूलो पहिरो हटाएपछि कान्ति लोकपथ पुनः सञ्चालनमा आएको हो । 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार, पहिरोका कारण बाटोमै अलपत्र परेका यात्रुहरूलाई गन्तव्यतर्फ पठाइएको छ । करिब चार घण्टा लगाएर ठूलो पहिरो हटाएपछि बाटो खुलाइएको हो । 

सडकको अवरोध हटेसँगै करिब ४ सय सवारी साधन गन्तव्यतर्फ लागेका छन् । सडक सञ्चालनमा आए पनि उक्त क्षेत्रमा अझै पहिरोको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।

सडक सञ्चालनमा ल्याउन प्रमुख जिल्ला अधिकारी श्रेष्ठसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र सिभिल सेवालगायत चारवटै सुरक्षा निकायका प्रमुखहरू तथा कान्ति लोकपथ आयोजनाका साजन न्यौपाने दिनभर घट्टेपाखामा खटिएका थिए ।

कान्ति लोकपथअन्तर्गत पर्ने ठिंगनदेखि बगुवासम्मको सडकमा खसेको तीन वटा ठूला पहिरो पन्छाउने कार्य सोमबार विहानै  गरिएको थियो ।

कान्ति लोकपथ शनिबार बिहानदेखि वन्द भएको थियो ।  उक्त लोकपथ सञ्चालनमा आएपछि हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने चार वटै सडक सञ्चालनमा आएका छन् । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully