खोलाले बगाएर १० वर्षीय अरबाज मियाँको मृत्यु
रौतहट — रौतहटको राजपुर नगरपालिका-८ मा खोलाले बगाएर सोमबार एक बालकको मृत्यु भएको छ । त्यस्तै खोलाले बगाएर दुई बालिका बेपत्ता छन् ।
राजपुरको बलुवा गोठटोलका गोनवर मियाको १० वर्षीय छोरा अरबाज मियाँको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी राजु कार्कीले जानकारी दिए ।
नजिकै बकैया खोलामा दिउँसो नुहाउन गएका अरबाजलाई खोलाले बगाएको थियो । उनलाई तत्कालै उपचारका लागि राजपुर प्राथमिक उपचार केन्द्र राजपुर फरदहवामा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।
त्यस्तै देवाही गुनाही नगरपालिका–६ कर्कचटोलमा खेताको पानी बग्ने स्थानमा नुहाउन गएका १२ वर्षीया आरती कुमारी र ११ वर्षीया अन्तिमा कुमारी दिउँसो बेपत्ता भएको डीएसपी कार्कीले जानकारी दिए ।
खेतनजिकको भगालोमा नुहाउन गएको बेला दुवै बेपत्ता भएका हुन् । दुवैको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
