गत १८ गतेदेखि परेको वर्षाका कारण खुम्बु क्षेत्रको ३ वटा वडाका ६ वटा पदमार्ग भत्किएको गाउँपालिकाले जनाएको छ ।
सोलुखुम्बु — लगातारको वर्षा र हिमपातका कारण विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रका ६ स्थानका पदमार्ग भत्किएको छ । सगरमाथा अवस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकाभित्रका विभिन्न ६ वटा पदमार्ग भत्किएका हुन् ।
गत १८ गतेदेखि परेको वर्षाका कारण खुम्बु क्षेत्रको ३ वटा वडाका ६ वटा पदमार्ग भत्किएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले एक सूचना जारी गर्दै वडा नम्बर ३, ३ र ५ का पदमार्ग भत्किएकाले पर्यटकलाई पूर्ण सूचना लिएर मात्र भ्रमण गर्न आग्रह गरेका छन् ।
वडा नम्बर ३ मा रहेको जोरसल्लेबाट हिलारी ब्रिज जाने पदमार्ग पहिरोले भत्किएको छ भने वडा नम्बर ४ का मोङजाँडाबाट गोक्यो जाने बाटो, पोर्चे थेङादेखि फोर्चे जाने बाटो र फोर्चेबाट गोक्यो जाने बाटो पनि भत्किएको छ ।
यस्तै वडा नम्बर ५ को नाम्चेदेखि फुर्ते जाने बाटोमा क्षति पुगेको छ भने थामे पुलदेखि थामे जाने बाटोसमेत पहिरोको कारण भत्किएको अध्यक्ष शेर्पाको भनाइ छ । पदमार्ग भत्किएकाले घुम्न जाने पर्यटक, गाइड तथा स्थानीयहरूलाई पुर्ण सूचना लिएर मात्र हिँड्न गाउँपालिकाले आग्रह गरेको छ ।
क्षतिग्रस्त पदमार्गको पुनर्निर्माणको काम गाउँपालिकाले थालेको छ । अहिले मान्छे हिँड्ने बाटो बिग्रिएपछि पर्यटकहरू खच्चड तथा जोक्पे हिँड्ने बाटो प्रयोग गरिरहेका छन् ।
