गृहमन्त्री ओमप्रकाश अर्यालले यसपालिको विपद्मा मानवीय क्षति शून्य हुने गरी काम गर्न निर्देशन दिएका छन् ।
काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले यसपालिको विपद्मा मानवीय क्षति शून्य हुने गरी काम गर्न निर्देशन दिएका छन् । भौतिक क्षतिका विवरण आइरहेको भन्दै उनले मानवीय क्षति शून्य होस् भन्ने उद्देश्यले आफूहरूले काम गरिरहेको बताएका छन् ।
‘मानवीय क्षति शून्य होस् र त्यसमा कुनै पनि हालतमा कमी, कमजोरी नहोस् भनेर निर्देशन गरिएको छ,’ शनिबार बेलुकी उनले पत्रकारहरूसँग भने ।
कहिलेकाहीँ विपद्का बेला फाइदा उठाउने तत्व पनि हुने भन्दै उनले यो समयमा स्वयंसेवी भएर काम गर्न अनुरोध गरे । ‘एउटा स्वयंसेवी भएर काम गर्ने, अरुबेला भन्दा बढी खटेर काम गर्ने र इज्जत प्रतिष्ठा बढाउने गरी काम गर्नुपर्छ,’ उनले भने, ‘यही बेलामा कोही आर्थिक आर्जनको लागि एउटा उपयुक्त मौका हो, फाइदा लिन्छु भनेर कसैको दिमागमा आएको छ भने त्यो चाहिँ निगरानी र नियन्त्रण गर्नुपर्छ भन्ने मेरो स्पष्ट निर्देशन छ ।’
मौसम पूर्वानुमान विभागले तीन दिन भारी वर्षा हुने र बाढी, पहिरो जानसक्ने प्रक्षेपण गरेको छ । यस्तोमा देशैभरि विपद् प्रतिकार्यका काम भइरहेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली परिचालित छन् ।
