बीपी राजमार्ग अपडेट : विभिन्न ठाउँमा रोशी खोलाको बाढीले सडक कटान

रोशी खोलाले बीपी राजमार्गको विभिन्न स्थानमा सडक कटान गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

आश्विन १८, २०८२

ज्योती श्रेष्ठ

BP Highway Update: Road erosion in various places due to Roshi Khola flood

काभ्रे — निरन्तर वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढ्दै गएको छ । खोलाले बीपी राजमार्गको विभिन्न स्थानमा सडक कटान गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार, भकुण्डे–नेपालथोक सडक खण्ड अर्न्तगत रोशी गाउँपालिकाको वडा नं ९ स्थित बोक्सिकुनामा रोशी खोलाले अन्दाजी १५०/२०० मिटर सडक कटान गरेको, वडा नं ७ स्थित घुमाउनेमा रोशी खोलाले अन्दाजी १५ मिटर सडक कटान गरेको, वडा नं ११ स्थित बुलढङ्गा र डालावेशीमा अन्दाजी १००/१०० मिटर सडक कटान गरेको , वडा नं ११कै  पिप्लेमा अन्दाजी ५० मिटर बाटो कटान गरेको र नमोबुद्ध नगरपालिका वडा नं स्थित ६ चौकीडाँडामा रोशी खोलाले अन्दाजी २० मिटर सडक कटान गरेको छ । 

रोशी खोलामा पानीको बहाव तीव्र रूपमा बढिरहेकाले सतर्कर्ता अपनाउन अनुरोध गरिएको छ । अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully