सडक भासिएसँगै रातिको समयमा अत्यावश्यकबाहेक सम्पूर्ण सवारी साधन बन्द गरिएको छ ।
तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-आँबुखैरेनी सडकखण्ड भासिएको छ । उक्त सडक भासिएसँगै रातिको समयमा अत्यावश्यकबाहेक सम्पूर्ण सवारी साधन बन्द गरिएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका-४ मर्स्याङ्दी पावरहाउसनजिकै डम्पिङसाइडमा सडक भासिएपछि सडक एकतर्फी सञ्चालन गरिएको थियो ।
पानी परिराखेको र थप सडक भासिन जोखिम रहेका कारण रातिको समयमा अत्यावश्यकबाहेक सम्पूर्ण सवारी साधन आवागमनमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर चन्दले बताए ।
उक्त स्थानमा २०७९ जेठ महिनामा सडक भासिएपछि रेट्रोफिटिङ गरी सडक निर्माणपश्चात दुईतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । रेट्रोफिटिङ गरी सडक निर्माण सम्पन्न गरेलगत्तै चर्किन पुगेको थियो । शुक्रबार रातिदेखि परेको झरीका कारण उक्त सडक शनिबार साँझ भासिएको प्रहरी निरीक्षक चन्दले बताए ।
