दुई छोरीका बाउ सरदार एक्लैले ज्याला मजदुरी गरी कमाएको पैसाले परिवार चलाउन गाह्रो भएपछि श्रीमतीलाई वैदेशिक रोजगारीमा पठाएका थिए ।
What you should know
सुनसरी — इटहरी–१४ का मोहन सरदारको परिवारको पीडा अझै दुःखदायी छ । सरदारको ४ दिनपछि मात्र पहिचान खुलेको थियो । इटहरीको गैसारका ४० वर्षीय सरदार निर्माण मजदुर हुन् । मजदुरी गरी परिवार चलाउँछन् ।
दुई छोरीका बाउ सरदार एक्लैले ज्याला मजदुरी गरी कमाएको पैसाले परिवार चलाउन गाह्रो भएपछि श्रीमतीलाई वैदेशिक रोजगारीमा पठाएका थिए ।
सरदारकी श्रीमती वैदेशिक रोजगारीबाट फर्किएको केही महिना मात्रै भएको थियो । इटहरी आसपास घर तथा बाटो निर्माणको क्षेत्रमा काम गर्दै आएका सरदार आन्दोलनको दिन पनि मजदुरी गरेर फर्किएका थिए । इटहरी–४ स्थित भेटघाट चोक क्षेत्रमा मजदुरी गरी घर फर्कंदै गरेका सरदार घर पुग्न पाएनन्, बीचमै प्रहरीले चलाएको गोली लागेर ढले ।
इलाका प्रहरी कार्यालयमा आगो लगाउन उत्तेजित बनेको भीड भगाउन प्रहरीले गोली चलाएको थियो । घर फर्कंदै गरेका सरदार इटहरी उपमहानगरपालिका अगाडि मात्रै पुगेका थिए । उत्तेजित भीड उनी भएकै तिर मोडियो । प्रहरीले खेदाउँदै गोली चलाउँदा सरदारलाई गोली लागेको स्थानीय गोविन्द थापाले जानकारी दिए ।
उनको ढाडमा गोली लागेको छ । प्रहरी र स्थानीयको सहयोगमा उनलाई एम्बुलेन्समा हालेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो । तर चिकित्सकले मृत घोषणा गरे । सरदारको परिवार अहिले शोकमा डुबेको छ ।
अब घरपरिवार कसरी चलाउने अन्योल छाएको छ । श्रीमतीले वैदेशिक रोजगारीबाट कमाएको पैसा पनि सरदारले भर्खरै घर मर्मतमा खर्च गरेका थिए । परिवारमा अर्को कुनै आर्थिक स्रोत छैन ।
दुई छोरीको पढाइ खर्च कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताएको छ । कमाउने मूल मान्छे नै बितेपछि कसरी परिवार चलाउने कुनै उपाय नदेखेको सरदार परिवार बताउँछ ।
सम्बन्धित समाचार
