ललितपुरमा बसेर मूर्ति बनाउने काम गर्दै आएका रसाइली अहिले आफ्नो छोरा खोज्न अस्पताल, प्रहरी चौकी र प्रदर्शन भएका स्थानहरूमा भौंतारिरहेका छन् ।
काठमाडौं — nरामेछापका पूर्णबहादुर रसाइलीका छोरा विकास रसाइली गत मंगलबार राति ८ बजेदेखि हराइरहेका छन् । ललितपुरमा बसेर मूर्ति बनाउने काम गर्दै आएका रसाइली अहिले आफ्नो छोरा खोज्न अस्पताल, प्रहरी चौकी र प्रदर्शन भएका स्थानहरूमा भौंतारिरहेका छन् ।
आइतबार दिउँसो उनी कोटेश्वरको भाटभटेनीमा भेटिए । ‘मेरो छोरालाई चिन्नेहरूले यहीँ भाटभटेनीमा देखेको छु भनेको भएर हेर्न आएको हुँ । भित्र पनि सबै हेरेँ तर केही भेटिएन,’ उनले भने,‘मेरो साथी बिरामी छ भेटेर १० बजेसम्म आउछु भनेर ८ बजे घरबाट मोटरसाइकलसहित निस्किएको छोरा कता हरायो ?’
प्रर्दशनका क्रममा मंगलबार कोटेश्वरको भाटभटेनी जलेर खरानी भएको छ । पूर्णबहादुर प्रहरी कार्यालयहरू पनि पुगे तर प्रहरी कार्यालय नै प्रर्दशनको क्रममा ध्वस्त भएपछि प्रहरीले पनि उनको खोजी गर्न सकेको छैन । २२ वर्षका विकास रसाइली उनको एक मात्र छोरा हुन । उनले आफ्नो छोरा देख्नेहरूले सम्पर्क गर्दिनसमेत अनुरोध गरेका छन् ।
