‘संसद् भवनभित्र ३२ जना बन्धक र मृत फेला’ भन्दै अपुष्ट समाचार फैलाउने यी अनुहार 

संसद्‍ भवनमा पनि ३२ जनाको शव भेटिएको भन्दै फैलाइएको सूचना भ्रामक भएको नेपाल प्रहरीले पुष्टि गरिसकेको छ ।

भाद्र २९, २०८२

दया दुदराज

काठमाडौं — गत २३ गतेदेखि जारी आन्दोलनका क्रमममा धेरै अपुष्ट, मिथ्या र गलत सूचनाहरू फैलिएका छन् । भ्रामक सूचना रोकिने क्रम अझै रोकिएको छैन । शनिबार (२८ भदौ) ३५ जना भन्दा बढी मानव कंकाल भेटियो भन्दै भ्रामक खालका अपुष्ट समाचार फैलियो । 

विनय लामा नामक फेसबुक प्रयोगकर्ताले एक भिडियो पोस्ट गरेका छन् । ती व्यक्तिले रिल देखाउँदै लेखेका छन्-'यसरी भेटियो भाटभटेनीमा मानव शरीरको हड्डी । जेन-जी आन्दोलनकारीले आगो लगाउँदा चुच्चेपाटी भाटभटेनीमा आज ३५ जना भन्दा बढी व्यक्तिहरूको यसरी कंकाल भेटिएको छ भने । को हो भनेर छुट्याउन सक्ने अवस्था छैन । र धेरैजना यसरी जलेको भन्ने स्थानीयको भनाइ छ ।'

६४ हजार फलोअर्स भएका ती व्यक्तिले शनिबार ६ बजेर २९ मिनेटमा पोस्ट गरिएको यो भिडियो यो सामग्री तयार पार्दै गर्दा ८ हजारले यो पोस्ट लाइक गरेका छन् । ८ सयभन्दा सेयर भएका छन् । तर यो दाबी गलत हो । चुच्चेपाटीस्थित भाटभटेनीमा ६ जनाको मात्रै शव भेटिएको हो । 

अपुष्ट समाचार फैल्याउने चर्चित अनुहार 

त्यसो त संसद्‍ भवनमा पनि ३२ जनाको शव भेटिएको भन्दै सोमबारबाटै भ्रामक सूचना फैलिएको थियो । आन्दोलनमा बेपत्ता भएका व्यक्ति संसद्‍मा मृत भेटिएको भन्दै मंगलबार सामाजिक सञ्जाल एकाएक हल्लियो । 

यद्यपि नेपाल प्रहरीले त्यो खबर अपुष्ट र हल्ला मात्रै रहेको पुष्टि गरिसकेको छ । तर समाजमा दंगा भड्काउने नियतले यो अपुष्ट खबरलाई सामाजिक सञ्जालमा फैल्याउने क-कसले भूमिका खेले त्यो हामी तपाईंहरूलाई देखाउँदै छौँ । 

यो खबर सोमबार साँझ बाट नै फैलिन थालेको पाइन्छ । सामजिक सञ्जालमार्फत यो फैलिएको देखिन्छ । आफूलाई पत्रकार बताउने युट्युबर टंक दहालले सोमबार राति ८ बजेर ५१ मिनेटमा एउटा पोस्ट राखे । 

उनको सो फेसबुक पोस्टमा लेखिएको छ-'संसद् भवनभित्र ३२ जना जति बच्चाहरूलाई नियन्त्रण गरेर राखिएको छ भन्ने सुन्नमा आयो । तिनको स्थति पत्ता लगाएर तिनको सुरक्षाको व्यवस्था गरिदिनु हुन अनुरोध छ। ती बच्चा गायब नहुन भन्ने कामना, श्रोत : त्यही भित्रका प्रतक्षदर्शी' त्यसको केही समयपछि अर्थता सोमबार राति ९ बजेर ३४ मिनेटमा ट्विटर (हाल एक्स)मा विष्णु पोखरेल नाम गरेका एक प्रयोगकर्ताले केपी ओलीको फोटोमाथि क्याप्सन लेख्दै संसद् भवनमा ३२ जना बन्दक बनाएको लेख्यो । ती प्रयोगकर्ताले लेखेका छन्, 'यसले ३२ जना युवा साथीहरूलाई संसद् भवनभित्र बन्धक बनाएर राखेको छ रे २० जनाको रगत खाँदा पनि पुगेन?? खबरदार ३२ जना गायब बनाउलास्!' 

बन्धक भएका ती ३२ व्यक्ति मृत भेटिए भन्दै मंगलबार धुवाँसरि गलत सूचना फैलियो । यसलाई फैल्याउनेमा विभिन्न प्रभावशाली व्यक्तिहरु पनि देखिन्छ । कलाकारदेखि विभिन्न सामाजिक सञ्जालमा आफूलाई पत्रकार बताउनेहरुले यो झुटो समाचार फैल्याए ।  गायक शिव परियारले पनि यो अपुष्ट समाचार फैल्याएका छन् । उनले फेसबुकमा लेखेका छन्-'हिजो बेपत्ता पारिएका ३२ जना संसद् भवनभित्र मृत फेला भन्ने खबर छ, के यो सत्य हो ?' कमेडियन हिमेश पन्तले पनि सामजिक सञ्जाल फेसबुकमा लेखेका छन्-' यो सत्य नहोस् भगवान्! हिजो बेपत्ता पारिएका ३२ जना संसद् भवनभित्र मृत फेला भन्ने खबर आएको छ।के हो कुरा?'

त्यस्तै रास्वपाका नेता खिमानन्द कँडेलले पनि फेसबुकमा 'अत्यन्तै दु:खद खबर,  हिजो बेपत्ता भएका ३२ जना संसद् भवनभित्र मृत फेला ।' भन्दै भ्रम फैल्याएका छन् । 

सुजन ढकाल भन्ने एक व्यक्तिले भिडियोमार्फत संसद् भवनमा ३२ जना मृत भेटिए भनेर गलत समाचार फैल्याए । ढकालले भिडियोमा भनेका छन्, 'एकदमै दु:खद् खबर आएको छ । ३२ जना जो संसद् भवनभित्र थुनामा राखेको भनेर भनेको थियो । आज आगो लाउने क्रममा ३२ जानै संसद् भवनभित्र मृत अवस्थामा फेला भनेर न्युज आएको छ । आम्मामा ३२ जना डाकाँहरूले गर्न त, हिजो पनि त्यत्रो जना मारे । आज पनि ३२ जना मृत्यु भन्ने कुरा आएको छ एकदमै दु:खद् ।'

ढकालले झुटो खबर मात्रै फैल्याएनन् । प्रदर्शनकारीलाई थप भड्काउने काम पनि गरे । उनले सोही भिडियोमा भनेका छन्-'जे गरिरहेको छ जेन-जीले एकदमै ठिक गरिरहेको छ । के भन्नुहुन्छ तपाईंहरू ? लाइक र सेयर गर्नुहोला सबैजनाले हर्नुहोस् है ।'

आफूलाई पत्रकार बताउने युट्युबर भाग्य न्यौपानेले मंगलबार एउटा भिडियो पोस्ट गर्दै भनेका छन्-'हिजो बेपत्ता भएका ३२ जनाको संसद् भवनभित्र मृत अवस्थामा फेला परेको कुरा आएको छ । यो कोले मार्‍यो र कसले मारेर त्याहाँ लुकायो । यो भन्दा दु:खद् कुरा केही पनि छैन ।'

त्यसो त भाग्य न्यौपानेले आन्दोलनकै दौरानमा अरु पनि अपुष्ट खालका समाचार फैल्याएका छन् । उनले झापाको मेयरको घरबाट दुई बोरा सुन भेट्टिएको भन्दै अपुष्ट खालका सूचना फैलाएका थिए । उनले रवि लामिछानेलाई जेलबाट निकाल भनेर उक्साएको भिडियो पनि भाइरल छ । 

दया दुदराज दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully