बारबरा फाउन्डेसनले भन्यो : हामी नेपाल नेपालभरि छरिएका युवाहरू संगठन भएकोले कोभिड महामारीका बेलामा सहकार्य गरिएको हो । सो संस्था वा संस्थाका पदाधिकारीसँग हाम्रो कुनै पनि आर्थिक सम्बन्ध छैन ।
काठमाडौं — बारबरा फाउन्डेसनले हामी नेपाल संस्थासँग जोडेर भ्रामक प्रचार गरिएको भन्दै खण्डन गरेको छ । आइतबार संस्थाका अध्यक्ष वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले हामी नेपाल संस्थासँग आर्थिक सम्बन्ध नभएको र कोरोना महामारीका बेलामा सहकार्य गरेको प्रस्ट पारेका हुन् । आइतबारको पत्रकार सम्मेलनमा अध्यक्ष रुइतसहित, महासचिव मोहना अन्सारी, कोषाध्यक्ष सुदर्शनराज पाण्डेयलगायतका पदाधिकारी उपस्थित थिए ।
‘देशको पछिल्लो संवदेनशील र तरल अवस्थाको फाइदा उठाउँदै भ्रामक समाचार बनाई हाम्रो नामसमेत जोडी गरिएको अनर्गल प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ फाउन्डेसनले भनेको छ, ‘यस संस्था र यसका पदाधिकारीहरूको नाम जोडी हामी नेपाल नामक संस्थासँगको सम्बन्धबारे अनर्गल प्रचारसमेत भइरहेको छ । हामी नेपाल नेपालभरि छरिएका युवाहरू संगठन भएकोले कोभिड महामारीका बेलामा सहकार्य गरिएको हो । सो संस्था वा संस्थाका पदाधिकारीसँग हाम्रो कुनै पनि आर्थिक सम्बन्ध छैन ।’
डा. रुइतले मानिसहरूलाई मूल मुद्दाबाट भड्काउने मनशायले गरिएको चरित्रहत्या नगर्न आग्रह गरेका छन् । बारबरा फाउन्डेसन गैरनाफामूलक सामाजिक संस्था बारबरा एडम्सको नामबाट स्थापना भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘उहाँले नेपाललाई आफ्नो कर्मक्षेत्र बनाएर आफ्नो जीवनको ऊर्जावान समय नेपाललाई दिनुभयो र आफूले आर्जेको सम्पूर्ण श्री सम्पत्ति यस संस्थालाई नै दिनुभयो । नेपाली माटोमै सम्पूर्ण जीवन बाँच्नु भएकी बारबराले नेपाली नागरिककै रूपमा यहीँ देहत्याग गर्नु भएको थियो । स्वर्गीय बारबराको व्यक्तिगत सम्पत्तिको स्रोतबाट यो संस्थाको जन्म भएको हो । नेपाली नागरिकको सेवामा समर्पित होस् भन्ने उहाँकै चाहनाअनुरूप यो फाउन्डेसन स्थापित भएको हो ।’
फाउन्डेसनका कोषाध्यक्ष सुदर्शनराज पाण्डेयले संस्थाको आयव्ययबारे प्रस्ट पारेका थिए । ‘बारबरा एडम्सको नेपालप्रति रहेको प्रेमको कारण निजले मृत्युपश्चात आफ्नो सम्पत्ति बारबरा फाउन्डेसनले पाउने व्यवस्था गरेअनुरूप तहाँबाट हालसम्म करिब २ करोड ८८ लाख प्राप्त गरेको र सोको कानुनबमोजिम सम्बन्धित निकायबाट स्वीकृतिसमेत प्राप्त गरेको छ,’ थप भनिएको छ ।
फाउन्डेसनको अधिकतम कोष नेपालीहरूकै दानबाट चलिरहेको विज्ञप्तिमा उल्लेख छ । फाउन्डेसनले विगत ८ वर्षमा ब्याज आम्दानीलगायत कुल करिब ७ करोड ८२ लाख प्राप्त गरेको उल्लेख छ । ‘यसको वार्षिक बजेट करिब ५० लाख रुपैयाँ मात्र छ । यस अवधिमा आफ्नो कार्यक्रम एवं प्रशासनिक खर्चबापत करिब ३ करोड ६४ लाख खर्च गरेको छ । हाल फाउन्डेसनसाग करिब ३ करोड ९५ लाख बैंकमा मौज्दात रहेकोसमेत जानकारी गराउन चाहन्छौं । फाउन्डेसनको आय–व्ययको सारांश फाउन्डेसनकै वेबसाइटमा समेत उपलब्ध छ,’ विज्ञप्तिमा भनिएको छ ।
फाउन्डेसनले हामी नेपाल संस्थालाई लगानी गरेको, सम्बन्ध रहेको आरोप लगाउँदै आलोचना भएको थियो । साथै फाउन्डेसनले जेन-जी आन्दोलनका क्रममा भएको ठूलो जनधनको क्षतिप्रति दु:ख पनि व्यक्त गरेको छ ।
