जेन-जी प्रदर्शनका क्रममा हालसम्म विभिन्न स्थानमा गरी ७० जना भन्दा बढीको मृत्यु भएको छ । देशको प्रमुख सार्वजनिक सम्पत्तिहरूमाथि आगलागी भएका छन् । विभिन्न सरकारी कार्यालयहरू क्षतविक्षत भएका छन् । त्यही प्रदर्शनको भूमरीमा नेपालको सञ्चार क्षेत्र पनि निसानामा पर्यो ।
काठमाडौं — तनावग्रस्त बानेश्वर । प्रदर्शनकारीले संसद्को पर्खाल भत्काइरहेका थिए । त्यहीँ पर बसेर रिपोर्टिङ गरिरहेका थिए पत्रकार शम्भु दंगाल । अचानक एउटा गोली आएर उनको खुट्टामा ठोकियो । पत्रकार दंगाल भन्छन्-\'प्रदर्शनकारीले पर्खाल फुटाइरहेका रहेछन् । अलि परै बसेर जुम गरेर खिच्दै थिएँ । अचानक कहाँबाट मेटल गोली आएर खुट्टामा लाग्यो ।\'
संसद् भवनभित्रबाट प्रहरीले अन्धाधुन्ध प्रहरीले चलाएको गोलीले उनलाई लाग्यो । उनी सम्हालिन सकेनन् । नजिकैका केही प्रदर्शनकारीहरू उनलाई उठाउन आइपुगे । एम्बुलेन्सको खोजी भयो । तर भेटिएन । त्यही प्रदर्शनकारीहरूले उनलाई तुरुन्तै एभरेस्ट अस्पतालमा पुर्याए ।
'बिहानदेखि नै म त्यहाँ बसेर रिपोर्टिङ गरिरहेको थिए । पर्खाल फुटाइएको दृश्य किन छुटाउनु भनेर अलि पर बसेर खिच्दै थिएँ । त्यही बेला गोली लाग्यो,' दंगालले सुनाए, 'एम्बुलेन्स थिएन । अस्पतालमा बस्न मिल्ने ठाउँ थिएन । म भुइँमा सुतेँ । त्यहाँ प्लास्टर गरेपछि मेटल गोली लागेको रहेछ । ट्रमा लानुपर्छ भन्नुभयो । अहिले यही उपचार गराइरहेको छु ।'
भदौ २३ को आन्दोलनका क्रममा गोली खाने पत्रकार शम्भु मात्रै होइनन्, फोटो पत्रकार दीपेन्द्र ढुंगाना पनि घाइते भएका छन् । संसद् भवन अगाडि प्रहरीले प्रदर्शनकारीमाथि गरेको बर्बरता खिचिरहेका ढुंगानालाई गोलीको छर्रा लागेर घाइते भएका हुन् ।
पत्रकार ढुंगानाले भने-'म पोलको सेपमा बसेर फोटो खिच्दै थिएँ । अचानक गोली चल्न थाल्यो । त्यहाँ सुरक्षित नै थिएँ । नजिकै कानैबाट के गयो जस्तो भएको थियो । कानबाट रगत आउन थाल्यो । अनि पत्रकार साथीहरूले तुरुन्तै सिभिल अस्पताल लैजानुभयो ।'
सिभिलमा गएर एक्सरे गर्दा कान भन्दा मुनिपट्टिको भागमा छर्रा छिरेको देखियो । त्यसपछि ढुंगानालाई पाटन अस्पतालमा रिफर गरियो । 'सुरुमा त एकदमै दुखेको थियो । एकदम पोल्दो रहेछ । एक्सरेमा कानमुनि छर्रा छिरेको देखिएपछि डक्टरले अप्रेसन गर्नुपर्छ भन्नुभयो । अनि पाटन आएर उपचार गरिरहेको छु ।'
कान्तिपुरका भिडियोग्राफर श्याम श्रेष्ठ पनि घाइते भएका छन् । पत्रकार श्रेष्ठ घाइतेहरूको फुटेज खिच्दै थिए । अचानक प्रहरीले गोली चलायो । उनी सुरक्षित हुन त्यहाँबाट भागे । भाग्दाभाग्दै उनको बायाँ पाखुरालाई गोलीले छुन पुग्यो ।
'संसद् अगाडि नै बसेर भिडियो खिच्दै थिएँ । मेरो नजिकै एकजना भाइ ढल्यो । त्यो फुटेज खिच्दाखिच्दै तारन्तार गोली चल्न थाल्यो । म सुरक्षित हुनका लागि भागेँ । मेरो हात झड्किने गरी केही छोएर गएको जस्तो थियो,' पत्रकार श्रेष्ठले भने, 'सुरुमा खासै थाहा भएन । अलि पर पुगेपछि पोल्न थाल्यो । नजिकैका भाइहरूले तपाईंलाई गोली लागेछ भनेपछि उनीहरूले नै अस्पताल पुर्याए ।'
उनको हातबाट रगत बगिरहेको थियो । तर सिभिलमा उपचार गर्नका लागि ठाउँ थिएन । 'बाहिर बन्दुक बुरुरु चल्न थाल्यो । अस्पतालमा पनि त्यसैगरि भिड बढ्यो । हेर्दाहेर्दै अस्पतालमा भिड बढ्यो । रगत रोक्नका एउटा ब्यान्डेज लगाएँ । लामो समयसम्म त्यही बस्दा पनि डक्टरले नभ्याएपछि म अर्कै अस्पतालमा गएर उपचार गराएँ । अहिले पनि दुखिरहेको छ । झाट्टझुट्ट केही गर्न मिल्दैन ।'
कान्तिपुर टेलिभिजनका समाचार प्रमुख विजय पौडेल, नायब समाचार सम्पादक रुपेश श्रेष्ठ र संवाददाता नारायण किलम्बु घाइते भएका छन् । स्टुडियोमा बसेर समाचार प्रसारण गरिरहेका उनीहरूमाथि प्रदर्शनकारीले नियोजित रूपमा हमला गरेको हो ।
समाचार प्रमुख पौडेलको हातमा चोट लागेको छ । नायब समाचार सम्पादक श्रेष्ठको नाक भाँचिएको छ । अनुहार र जिउभरि चोट लागेको छ । त्यस्तै सम्वाददाता नारायण किलम्बुलाई प्रदर्शनकारीले हेल्मेटले टाउकोमा प्रहार गरेर सिकिस्त बनाएका छन् ।
'हामी आन्दोलनको घटनाक्रम, सरकारको अकर्मण्यता, देशभरको जनजीवनबारे प्रत्यक्ष प्रसारण गर्दै थियौं । लेख्दालेख्दैको समाचार, बोल्दाबोल्दैको अपडेट, देखाउँदा-देखाउँदैको दृश्य सबै छोडेर हामी कार्यस्थलबाट निस्कियौं,' नायब समाचार सम्पादक श्रेष्ठले भने, 'निस्किने बेला ज्यान जोगाउने कि काम जोगाउने कि कार्यालय प्रांगणमा रहेका अनेक सरसामान जोगाउने ? मैले देखेका ती आतंकीहरू केहीको कम्मरमा खुकुरी थियो, धेरैका हातमा लाठी, केहीका हातमा पेट्रोल अनि केहीका हातमा पेस्तोलसमेत । दुवै हात आकाशतिर फर्काएर हाम्रा साथीहरू त्यो भिडलाई अनुरोध गर्दै निस्किएँ । पुछारमा रहेको म गेटबाट निस्किनेबित्तिकै आतंकवादीहरूले ममाथि सांघातिक हमला गरे । अनुहारमा मुक्का बर्साए ।'
सोही आक्रमणमा रेडियो कान्तिपुरका पत्रकार अनिल बोगटीमाथि पनि भीडले प्रहार गरेको थियो । रिपोर्टिङको क्रममा क्यामरापर्सन मुरारी घिमिरे माथि हातपात र दुर्व्यवहार भएको थियो ।
अर्का फोटो पत्रकार उमेश कार्की पनि घाइते छन् । उनलाई पनि पाखुरामा गोलीको छर्रा लागेको हो । उनी पनि संसद् अगाडि बसेर फोटो खिच्दै थिए । त्यसै क्रममा उनी नजिकै आएर गोली लागेको थियो । त्यही गोलीको छर्राले उनको पाखुरामा छोयो ।
त्यही दिन फोटो पत्रकार वर्षा शाहलाई पनि चोट लागेको छ । बानेश्वरमा उनी प्रदर्शनका क्रममा फोटो खिचिरहेकी थिइन् । अचानक गोली चल्यो । भागाभागको स्थिति बन्यो । सुरक्षित हुन खोज्दाखोज्दै पनि ढुंगा लाग्यो । 'दीपेन्द्रलाई गोलीको छर्रा लागेपछि म पनि अलि सुरक्षित हुन पर्यो भनेर लाग्दै थिए । कताबाट ढुंगा आएर लाग्यो ।'
हेल्मेट लगाएका कारण उनको टाउकोमा लागेको ढुंगाले खासै असर गरेन तर पेटमा लागेको ढुंगाले भने उनलाई गाह्रो बनाइरह्यो । 'हेल्मेट लगाएको भएर टाउकोमा खासै असर गरेन तर पेटमा पनि ढुंगाले लाग्यो । अहिले पनि चसक चसक हुन्छ । गाह्रो हुन्छ ।'
सञ्चार गृहमा आगजनी र तोडफोड
जेन-जी प्रदर्शनका क्रममा हालसम्म विभिन्न स्थानमा गरी ७० जनाभन्दा बढीको मृत्यु भएको छ । देशको प्रमुख सार्वजनिक सम्पत्तिहरूमाथि आगजनी भएका छन् । विभिन्न सरकारी कार्यालयहरू क्षतविक्षत भएका छन् । त्यही प्रदर्शनको भुमरीमा नेपालको सञ्चार क्षेत्र पनि निसानामा पर्यो ।
संसद् भवन, सिंहदरबार, शीतल निवास, दर्जनौँ प्रहरी चौकी जलाइए जस्तै देशका विभिन्न सञ्चारमाध्यममा पनि आगजनी र तोडफोड भएका छन् ।
आन्दोलनको पहिलो दिन पाँच पत्रकार घाइते भए भने एउटा सञ्चारगृहमाथि तोडफोड भयो । बानेश्वरस्थित थाहा खबरको कार्यालयमा तोडफोड भएको थियो । नेपाल पत्रकार महासंघका अनुसार सो दिन प्रदर्शनका क्रममा एक मात्रै सञ्चार गृहमा तोडफोड भएको हो ।
तर आन्दोलनको दोस्रो दिन अर्थात् भदौ २४ गते सञ्चार गृहहरूले ठूलो क्षति बेहोर्नुपर्यो । पत्रकार महासंघका अनुसार राजधानीका प्रमुख सञ्चारमाध्यमसहित धेरै दर्जनौँ सञ्चारगृहमा आगलागी र तोडफोड भएको हो ।
सिंहदरबारमै रहेको सार्वजनिक प्रसारण सेवा (पीएसबी)को कार्यालयमा तोडफोड र आगजनी भएको छ । सार्वजनिक प्रसारण सेवाअन्तर्गत नेपाल टेलिभिजन र रेडियो नेपाल सञ्चालन हुँदै आएका छन् । कार्यालयमा तोडफोडकाबीच रेडियो नेपाल र नेपाल टेलिभिजनले प्रसारण गरेको छ ।
त्यस्तै, थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्समा आगजनी र तोडफोड भएको छ । तोडफोडका कारण कान्तिपुरको अनलाइन संस्करण (ईकान्तिपुर) केही दिन बन्द भएको थियो तर दैनिक पत्रिकाले प्रकाशन रोकेन ।
रेडियो कान्तिपुर र कान्तिपुर टेलिभिजनकै तीनकुनेस्थित कार्यालयमा पनि आगजनी भयो । आगजनीका कारण कान्तिपुर टेलिभिजन र रेडियो केही दिन प्रसारणमा अवरुद्ध भए पनि टेलिभिजनले शुक्रबारदेखि प्रसारण सुरु गरेको छ ।
तीनकुनेस्थित अन्नपूर्ण पोस्टको कार्यालयमा पनि तोडफोड र आगजनी भएको हो । महाराजगञ्जस्थित न्युज-२४ टेलिभिजनको सवारीमाथि आगजनी र लाइभ डिभाइसहरू तोडफोड भएको महासंघले जनाएको छ ।
महासंघका अनुसार राजधानी बाहिरका अन्य सञ्चार गृहमा पनि तोडफोड र आगजनी भएका छन् । इलामस्थित नेपालवाणी एफएम र इलाम एक्सप्रेस दैनिकको कार्यालयमा तोडफोड भएको हो । चितवनका तीन सञ्चारगृहमाथि तोडफोड र आगजनी भएका छन् । चितवनस्थित कालिका एफएम, सफल खबर डटकम र चुरे सन्देश गरी तीन सञ्चार गृहमा तोडफोड र आगजनी भएको हो ।
यीसँगै अन्य सामुदायिक रेडियोमा पनि देशका विभिन्न सामुदायिक रेडियोहरूमा पनि क्षति पुगेको सामुदायिक रेडियो प्रसारक संघ (एकोर्याब)ले जनाएको छ । एकोर्याबका अनुसार बुटवलको रेडियो जागरणको भवनमा तोडफोड भएको छ । त्यस्तै, दार्चुलास्थित लेकम गाउँपालिकामा सञ्चालित रेडियो लोकदर्पणको कार्यालयमा तोडफोड भएको छ ।
पत्रकारमाथि दुर्व्यवहार र हातपात
प्रदर्शनको फाइदा उठाउँदै अराजक भीडले सञ्चारकर्मीहरू माथि हातपात र दुर्व्यवहार गरेका घटना पनि भेटिएका छन् । पत्रकार महासंघका अनुसार रिपोर्टिङ गर्न पुगेका पत्रकारमाथि हातपात र आगजनीसँगै सामान तोडफोड गरेका हुन् ।
सर्लाही मंलगवामा रिपोर्टिङ गर्न पुगेका मेरो शान टिभीका पत्रकार राजिव साहलाई आन्दोलनकारीले हातपात गरेका थिए । पत्रकार साहले भने-'प्रहरी बिट जलाएको भिडियो खिच्दै थिएँ । आएर मलाई पिटे । र मेरो क्यामेरा खोसेर फोटो र भिडियोहरू डिलिट गरेँ ।'
भक्तपुर सूर्यविनायक चोकमा भादगाउँ टेलिभिजनका पत्रकार तुलसीकुमार त्वायनालाई आन्दोलनकारीले आक्रमण गरेको छ । भक्तपुरमै नागरिक दैनिकका पत्रकार कृष्ण केसीले खिचेको भिडियो र फोटो सुरक्षाकर्मीले डिलिट गर्न लगाएको महासंघले जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा रिपोर्टिङ गर्न पुगेका पत्रकार सुदर्शन आचार्यमाथि पनि आक्रमण भएको छ । भक्तपुरकै पत्रकार केशव तिमिल्सिनामाथि पनि दुर्व्यवहार भएको हो ।
रिपोर्टिङमा गएका कतिपय पत्रकारहरूको सवारी र क्यामेरामाथि आगजनी पनि भएका छन् । पत्रकार महासंघका अनुसार बाँके कोहलपुरमा रिपोर्टिङ गर्न पुगेका संवेगन्यूज डटकमका पत्रकार नीरज निश्चललाई आन्दोलनकारीले हातपात गरेर क्यामरा खोसेर जलाएका छन् ।
त्यस्तै कैलालीको धनगढीस्थित सीटीभीटी चोकमा आन्दोलनकारीले पत्रकार दीपेन्द्र भट्टलाई दुर्व्यवहार गर्नुका साथै मोटरसाइकलमाथि आगजनी गरेको महासंघले जनाएको छ ।
घाइते पत्रकारको सूची
१.श्याम श्रेष्ठ-कान्तिपुर
२. विजय पौडेल-कान्तिपुर
३.रुपेश श्रेष्ठ-कान्तिपुर
४.नारायण किलम्बु-कान्तिपुर
५.अनिल बोगटी-कान्तिपुर
६.दीपेन्द्र ढुंगाना-नयाँ पत्रिका
७.उमेश कार्की-नेपाल प्रेस
८.वर्षा शाह-देश सञ्चार
९.शम्भु दंगाल- नयाँ पोस्ट
आगजनी त तोडफोड भएका सञ्चारगृह
१.नेपालवाणी एफएम-इलाम
२.इलाम एक्सप्रेस दैनिक-इलाम
३.कान्तिपुर पब्लिकेसन्स- काठमाडौं
४.कान्तिपुर टिभी र रेडियो- काठमाडौं
५.अन्नपूर्ण पोस्ट- काठमाडौं
६.सार्वजनिक प्रसारण सेवा- काठमाडौं
७.न्युज २४- काठमाडौं
८.थाहा खबर- काठमाडौं
९.कालिका एफएम- चितवन
१०. सफल खबर डटकम- चितवन
११. चुरे सन्देश डटकम- चितवन
१२. रेडियो जागरण- बुटवल
१३.रेडियो लोकदर्पण-दार्चुला
हातपात र दुर्व्यवहारमा परेका पत्रकार
१.राजिव साह-सर्लाही
२. तुलसी कुमार त्वायना-भक्तपुर
३. कृष्ण केसी- भक्तपुर
४. केशव तिमल्सिना-भक्तपुर
५. सुदर्शन आचार्य-भक्तपुर
६. नीरज निश्चल-बाँके
७. दीपेन्द्र भट्ट-कैलाली
