भोलिदेखि खाद्यको सहुलियत पसल, खसीबोकाको बिक्री भने अनिश्चित

सबै किसिमका चामल, चिनी, गेडागुडीमा प्रतिकिलोमा ५ रुपैयाँ छुट र खाने तेल, चिउरा, आटा, मैदामा प्रतिकिलो/लिटरमा ७ रुपैयाँ छुट तथा चिउरा, जिरा/धनियाँमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ।

भाद्र २९, २०८२

काठमाडौं —
चाडपर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ। जेन-जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिले सहुलियत पसल सञ्चालनमा अन्योल बने पनि सेनाको निषेधाज्ञा र कर्फ्यु् हटेसँगै खाद्यले सञ्चालन गर्ने निर्णय गरेको हो।

सहुलियत पसल सोमबारदेखि ४५ जिल्लाका १११ स्थानबाट सञ्चालन हुन्छ। सर्वसाधारणले खाद्यका आउटलेट र बिक्री केन्द्रबाट छुटका सामान किन्न सक्छन्,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले भने, ‘साथै अनलाइनबाट पनि बिक्री गर्छौं।’

खाद्यका अनुसार सबै किसिमका चामल, चिनी, गेडागुडीमा प्रतिकिलोमा ५ रुपैयाँ छुट पाइने छ। खाने तेल, चिउरा, आटा, मैदामा प्रतिकिलो/लिटरमा ७ रुपैयाँ छुट र चिउरा, जिरा/धनियामा प्रतिकिलो १० रुपैयाँ छुट पाइने जनाएको छ।

यस वर्ष सहुलियत खसीबोका र च्याङ्ग्राको बिक्री भने अनिश्चित बनेको आचार्यले बताए। ‘खसीबोका, च्याङ्ग्रा खरिद गर्न स्थानीय तहको समन्वय चाहिन्छ। पछिल्लो घटनाक्रममा एक-दुई दिन पर्खेर हेर्ने अवस्थामा छौं,’ उनले भने, ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय पनि आउँछ, त्यसपछि प्रक्रिया थाल्छौं।’

खसीबोका र च्याङ्ग्रा बिक्री गर्न खाद्यले अग्रिम अनलाइन बुकिङ गरेको थियो। तर सामाजिक सञ्जाल बन्द भएपछि प्रक्रिया रोकिएको हो। त्यसपछि जेन-जीको आन्दोलनले स्थानीय तहसँगको सम्पर्क टुटेको थियो। अब मन्त्रालयको निर्णय र निर्देशन अनुसार खसीबोका र च्याङ्ग्रा खरिद–बिक्री हुने खाद्यले जनाएको छ।

Link copied successfully